कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

३ करोडमा कृषिउपज भण्डार बन्दै

मासुबाहेकका सम्पूर्ण कृषिजन्य वस्तुसमेत वेयर हाउसमा समावेश गर्न सकिने

धनकुटा — सदरमुकाम धनकुटा नगरपालिका १ हिलेको टिमुरेमा ३ करोड २५ लाखको लागतमा अलैंची लगायत कृषिजन्य वस्तु भण्डारण गर्ने उच्च क्षमताको स्तरीय वेयर हाउस निर्माण थालिएको छ ।

३ करोडमा कृषिउपज भण्डार बन्दै

डेनमार्क सरकारको सहयोगमा सञ्चालित उन्नति नेपाल कार्यक्रम र उद्योग वाणिज्य संघ तथा नेपाल अलैंची व्यवसायी महासंघ धनकुटाको संयुक्त पहलमा उक्त वेयर हाउस निर्माण थालिएको हो । अलैंची भण्डारणलाई पहिलो प्राथमिकतामा राखिने भए पनि मासु बाहेकका सम्पूर्ण कृषिजन्य वस्तु समेत वेयर हाउसमा समावेश गर्न सकिने निर्माण समितिका संयोजक तथा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरेले बताए ।

‘अलैंची लगायतका कृषिजन्य वस्तु सुरक्षित रूपमा भण्डारण गर्न सहज हुने भएको छ’, उनले भने, ‘कृषकलाई अब आफ्ना वस्तुको उचित मूल्य पाउन र बजारमा ढुवानी गर्न सजिलो हुने छ ।’ यसै सातादेखि निर्माण कार्य थालिएको वेयर हाउस स्थलमा चार लेनको सडक समेत निर्माण गरिने भएको छ । हिले उत्तरपानी सडकमा पर्ने उक्त स्थानमा वस्तु ढुवानी गर्न सहज हुने भएको छ ।

वेयर हाउस निर्माणको लागि उन्नति नेपाल कार्यक्रम र वाणिज्य संघ तथा अलैंची व्यवसायी महासंघको ५०/५० प्रतिशतको लगानी रहेको छ । निजी क्षेत्रसँग पनि सहकार्य गर्न सेयरमार्फत बाटो खुला गरिने लक्ष्य रहेको जनाइएको छ । नगदे बाली तथा फलफूल उत्पादनको उर्वर भूमि भए पनि भण्डारण गर्ने उपयुक्त स्थानको अभाव रहेकाले त्यसको अभाव टर्ने निर्माण समितिका सदस्य गौरब कार्कीले बताए । धनकुटा लगायत पूर्वी पहाडी जिल्लामा उत्पादित वस्तु भणरण स्थलको अभाव भएकाले निर्माण गरिएको वेयर हाउसले त्यसको खाँचो पूर्ति गर्ने कार्कीको ठम्याइ छ ।

अलैंची व्यवसायी महासंघका अध्यक्ष इन्द्र तितुङले उच्च परिमाणमा कारोवार हुने अलैंचीको व्यापार वेयर हाउस निर्माणपछि अझ फस्टाउने दाबी गरे । आगामी असार दोस्रो साताभित्र निर्माण सम्पन्न गरिने भएकाले निर्माण कार्य दु्रत गतिमा भइरहेको छ । निर्माण भइरहेको वेयर हाउस मुलुकै ठूलोमध्येको एक हुने जनाइएको छ ।

वेयर हाउसमा भण्डारण गरिएको वस्तु बैंकमा धितो राखेर व्यवसायीले ऋण समेत लिन सक्ने छन् । एकातर्फ भण्डारण गरेर वस्तु सुरक्षित गर्न सकिने छ भने अर्कोतर्फ सोहि वस्तुलाई धितोमार्फत ऋण लिएर व्यवसायमा लगानी गर्न सकिने भएकाले व्यवसायी उत्साहित छन् । ‘वेयर हाउस निर्माण कार्यबाट हामी निकै हौसिएका छौं’, अलैंची व्यवसायी महासंघ अध्यक्ष तितुङले भने, ‘यो कार्य पहिलै हुनुपथ्र्यो, ढिलै भए पनि उत्साहित छौं ।’

वेयर हाउस व्यवस्थापकले वार्षिक रूपमा कम्तीमा ४८ लाख मुनाफा गर्न सक्ने अनुमान गरेको दाबी गरेको छ । कृषि क्षेत्रको लागि ठूलो लगानीमा थालिएको कार्य सकारात्मक रहेकोले स्थानीय स्तरबाट समेत आवश्यक सहयोग गरिने धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए । सुरक्षा आवास, कार्यालयलगायत वेयर हाउसका लागि कम्तीमा पाँच रोपनी क्षेत्रफलमा निर्माण कार्य भइरहेको छ ।

प्रकाशित : चैत्र १८, २०७४ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?