कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

कृषि कर्ममा युवा जाँगर

अलैंचीका बिरुवा बेचेर उल्लेख्य कमाइ
चन्द्र कार्की

सोल्मा (तेह्रथुम) — लालीगुराँस नगरपालिका ९ सोल्माका ३८ वर्षीय टेकबहादुर केप्छाकी मगरलाई कहिल्यै विदेशको मोहले छोएन ।

कृषि कर्ममा युवा जाँगर

टोल छिमेकका दौंतरी पैसा कमाउनकै लागि साहुसँग ऋण खोजेर भए पनि खाडी मुलुकतर्फ लागे । केही वर्षमा थोर बहुत पैसा कमाएर पनि ल्याउँथे ।

उनीहरूले गाउँ फर्किएर देखाएको रबाफ र खर्च गरेको देख्दा उनलाई पनि पैसा कमाउने रहर त जाग्यो तर विदेशको मोहले भने कहिले पनि छोएन । गाउँघरका दौंतरी साथीहरू खाडी मुलुकमा पैसा कमाउन लाग्दै गर्दा मगरले पुख्र्यौली जमिनमा अलैंची र चिया खेती सुरु गरे ।

यो खेतीले तत्कालै आम्दानी नदिए पनि केही वर्षपछि आमदानीको राम्रो स्रोत वन्यो । अलंैची खेतीसँगै मगरले अहिले अलैंचीका बिरुवा नर्सरी गरेर जिल्लाभरका किसानलाई उपलब्ध गराइरहेका छन् । गत वर्ष १ लाख ५० हजार अलैंचीका बिरुवा बिक्री गरेर ७ लाख ५० हजार आम्दानी गरे । उनको नर्सरीमा अहिले २० लाख बिरुवा हुर्किएर रोप्ने अवस्थामा पुगेका छन् । यी बिरुवा बिक्री गरेर यो सिजनमा १ करोड आमदानी गर्ने उनको योजना छ ।

जिल्लामा अलैंचीका बिरुवा प्रगिगोटा ५ देखि ७ रुपैयाँमा बिक्री भइरहेका छन् । नर्सरीमा हुर्किएका सबै बिरुवा एकैपटक बिक्री गर्न पाए १ करोड आम्दानी हुन सक्ने उनको दाबी छ । केप्छाकी बहुउद्देशीय नर्सरी फार्म दर्ता गरेर अलैंचीका बिरुवा उत्पादनमा लागेका मगरलाई छोटै समयमा सफलता हात लागेको छ । उनले १ सय २५ रोपनी क्षेत्रफल जमिनमा अलैंचीको नर्सरी राखेका छन् । आफ्नो जमिन थोरै भएपछि मगरले छिमेकी र आफन्तसँग ८० रोपनी जमिन वार्षिक २ लाख बुझाउने गरी लिजमा लिएका छन् ।

फार्ममा थोरै लगानी गरेर भए पनि छिमेकी अर्का युवा त्रिलोचन पोखरेलले पनि सघाएका छन् । नर्सरी बाहेक मगरले ५५ रोपनी क्षेत्रफलमा जमिनमा आफंैले अलैंची रापेका छन् । यी बिरुवा यही वर्षबाट फल्ने अवस्थामा छन् । ०६९ सालदेखि अलैंची खेतीसँगै नर्सरीमा लागेका मगरको मेहनत र लगनशिलता देखेर डेनिस सरकारको उन्नति समावेशी वृद्धि कार्यक्रमले उनको फार्मलाई १७ लाख रुपैयाँ दिएर सहयोग गरेको छ ।

सोही रकममा मगरले १३ लाख थपेर ३० लाख पुर्‍याएका छन् । मगरले अहिले जिल्लामै सबैभन्दा धेरै अलैंचीका बिरुवा उत्पादन गर्ने युवा किसानको पहिचान बनाएका छन् । कृषि प्राविधिकको प्रत्यक्ष रेखदेखमा तयार पारिएका बिरुवाको माग प्रदेश १ का सबैजसो पहाडी जिल्लाबाट आइरहेको उनले बताए । ‘पछिल्लो समय लमजुङ, गोर्खा, बागलुङ लगायतका जिल्लाबाट समेत अलैंचीका बिरुवाको माग आइरहेको छ,’ मगरले भने ।

मगरले आफ्नै फार्ममा २ सय अलैंची किसानलाई बोलाएर एक वर्षको अवधिमा बगान व्यवस्थापन, अलैंची खेती, रोग किरा व्यवस्थापन, गुणस्तरीय बिरुवा र फल उत्पादन, सिँचाइ, बजार मूल्य लगायतका विषयमा तालिम दिएको बताए । स्थानीय हावापानीमा राम्ररी फस्टाउने रामसाई र गोल्साई जातका अलैंचीका बिरुवा नर्सरीमा हुर्किरहेका छन् ।

कृषि प्राविधिकको प्रत्यक्ष रेखदेखमा अलैंचीका बिरुवा हुर्काउन कार्यक्रममार्फत किसान मगरलाई आर्थिक तथा प्राविधिक सहयोग गरिएको कृषि व्यवसाय विज्ञ रमेश भण्डारीले वताए । पहिले खेतीमा लागेका मगर अलैंची बगान रोगले मासिएपछि स्वस्थ बिरुवा उत्पादनमा लागेका छन् ।

जिल्लाको प्रमुख नगदे बाली अलैंची खेतीमा पछिल्लो समय रोग फैलिएर किसानले नोक्सान व्यहोर्न थालेपछि आफू स्वस्थ बिरुवा उत्पानदनमा लागेको मगरको भनाइ छ । उन्नति समावेशी वृद्धि कार्यक्रमबाट प्राप्त सहयोगबाट मगरले बिरुवाका लागि एग्रोनेट, हिलट्याङक लगायतका सामान खरिद गरेका छन् । सोही रकमबाट किसानलाई तालिम समेत दिएको उनले बताए ।

कृषि विकास कार्यालयले मगरको गाउँ सोल्मालाई अलैंची पकेट क्षेत्र घोषणा गरेर विगत केही वर्षदेखि विविध कार्यक्रम सञ्चालन गरिरहेको थियो । तर गत वर्षदेखि लालीगुराँस नगरपालिकाले पकेट क्षेत्र घोषणा खारेज गरिदिएको किसान मगरले बताए । आफ्नै मेहनतमा स्वस्थ बिरुवा उत्पादनमा लागे पनि नगरपालिकाले भने केही पनि सहयोग नगरेको भन्दै युवा किसान मगरले गुनासो पोखे ।

मगरको नर्सरी फार्मलाई कृषि विकास कार्यालयले समेत प्राविधिक सहयोग दिएर सघाएको वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेको भनाइ छ । जिल्लामा ७ सय ७० हेक्टर क्षेत्रफल जमिनमा अलैंची खेती हुने गरेको छ । दुई वर्षअघि अलैंची बिक्रीबाट जिल्लामा ५२ करोड भित्रिएको कृषि विकास कार्यालयको तथ्यांक छ ।

प्रकाशित : चैत्र १८, २०७४ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?