साथीबाटै लुटिएपछि ......

पर्वत पोर्तेल

काँकडभिट्टा — भारतमा २ लाख रुपैयाँ लुटिएपछि दोलखा ठूलो पाटनका २८ वर्षीय दिपेन्द्र तामाङ बेखर्ची भएका छन् । 

साथीबाटै लुटिएपछि ......

सिक्किमको गान्तोकमा ४ वर्षदेखि भरिया काम गर्दै आएका तामाङले सोमबार दिउँसो मात्रै आफू लुटिएको थाहा पाए । नेपाल प्रवेश गर्ने क्रममा पानीटंकी नजिकै नाकाका सुरक्षाकर्मीले चेकजाँच गर्ने क्रममा पो उनले आफू लुटिएको थाहा पाए ।


एसएसबीले चेक गर्न खोज्दैथ्यो । उनले आफूसँग २ लाख भारु रहेको जानकारी गराएका थिए । एसएसबीले त्यत्रो पैसा लैजान नमिल्ने बताउदैथ्यो । उनले ‘चिया खर्च’ दिने शर्तमा पैसा लैजाने वातावरण बनाउँदै थिए । एसएसबी जवानले उनको झोलाबाट पैसा जस्तै बनाएर राखेको कागजको बन्डल झिकेपछि उनी बेहोस भए । ‘भाइ पैसा यही हो भन्दा म त बेहोस भएछु’, दिपेन्द्रले विलौना सुनाए,‘अग्लो छाँगाबाट खसेझै भयो ।’


इलाका प्रहरी कार्यालय काँकडभिट्टाको सम्पर्कमा पुगेका उनले घटनाको वृत्तान्त सुनाए । सँगै काम गर्ने भरिया साथीहरु रामकाजी राई र लुंगा राईबाट आफू लुटिएको दिपेन्द्रले दाबी गरे । ‘नेपाल फर्किने राति तीनै जना बसेर पैसा गनेका थियौ ।’ , उनले भने,‘तिनीहरुले नै मलाई लुटेका हुन् ।’


विहान गान्तोकवाट गाडी चढाउन पनि आएका थिए उनीहरु । हिड्ने बेलामा झोकाभित्र हात हालेर छाम्दा पैसा छ भन्ने लाग्यो उनलाई । तर, जब सुरक्षाकर्मीले जाँच गर्दा कागजको बन्डल फेला पऱ्यो त्यसपछि दिपेन्द्रको होस हवास नै उडेको छ ।


भुकम्पले घर भत्काएपछि उनी भरिया काम गर्न सिक्किम गएका थिए । सिक्किम, दार्जिलिङमा सयौँ नेपाली भरियाहरु छन् । अधिकांश दोलखा, रामेछापका छन् । खासमा भुकम्पले भत्किएको घर बनाउनका लागि उनले दिनरात पसिना बगाएर खाइनखाइ २ लाख भारु जम्मा गरेका थिए ।


इलाका प्रहरी कार्यालयका डीएसपी टंक भट्टराईले लुटिएर बेखर्ची बनेका तामाङलाई प्रहरीहरुबाटै ३ हजार रुपैयाँ संकलन गरी बाटो खर्च दिएर घर पठाइएको जानकारी दिए । भट्टराईले भने,‘ लुटिएको पैसा खोजतलास गरिदिन सिक्किम प्रहरीलाई समन्वयका लागि अनुरोध पनि गरेका छौँ ।’

प्रकाशित : चैत्र १९, २०७४ १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?