कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

धमाधम बन्दै दमक औद्योगिक क्षेत्र

अर्जुन राजवंशी

दमक — दमक औद्योगिक क्षेत्र निर्माणको प्रारम्भिक चरणको काम भइरहेको छ । यसका लागि मुआब्जा वितरण गर्न जग्गाधनीबाट निवेदन संकलन गरिएको छ ।

धमाधम बन्दै दमक औद्योगिक क्षेत्र

नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले पहिलो चरणको मुआब्जा वितरणका लागि निवेदन संकलन गरेको हो ।

लिमिटेडले दमकमा जग्गा प्राप्ति सम्पर्क कार्यालय स्थापना गरेको छ । जिल्ला प्रशासन कार्यालय झापाले मुआब्जाका लागि चार सय ३० वटा कित्ता नम्बर उल्लेख गरी गत फागुन १४ गते ३५ दिने सूचना जारी गरेको थियो । उक्त सूचनाको म्यादभित्र १ सय ६५ परिवारबाट मुआब्जा दाबीको निवेदन संकलन गरेको सम्पर्क कार्यालयका प्रमुख सन्जय थापाले जानकारी दिए । चीन सरकारले ‘वान बेल्ट वान रोड’ (ओबिओआर) अन्तर्गत दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकामा गरी दुई हजार दुई सय बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र बनाइदिने सम्झौता भएको छ । सम्झौताअनुसार चीन सरकारले ३ खर्ब ३३ अर्बको लगानीमा औद्योगिक क्षेत्र बनाउन लागेको हो । त्यसका लागि अहिले प्रस्तावित जग्गामध्ये पहिलो चरणको मुआब्जा वितरणको काम भइरहेको थापाले बताए । औद्योगिक क्षेत्रका लागि ९ सय ४२ बिघा जग्गा भने नि:शुल्क प्राप्त भइसकेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सूचना अधिकृत दीलिपकुमार श्रेष्ठले जानकारी दिए ।

पहिलो चरणमा अधिग्रहण गरिएको तीन सय ७९ बिघा जमिनको मुआब्जा वितरण गर्ने तयारी छ । पहिलो चरणमा वितरणका लागि नेपाल सरकारबाट ३२ करोड रुपैयाँ निकासा भइसकेको दमक औद्योगिक क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गोविन्द थापाले जनाए । जग्गा प्राप्ति सम्पर्क कार्यालयका कर्मचारी रसिलाल राउतका अनुसार अहिले मुआब्जाका लागि संकलन भएका निवेदन मिलाउने तथा आवश्यक प्रक्रिया पुर्‍याउने कार्य भइरहेको छ ।

जग्गा दिन चाहनेको भीड
मुआब्जा दाबी गर्दै निवेदन दिन पाउने ३५ दिने सूचनाको म्याद गत सोमबार नै सकिएको थियो । तर, मुआब्जा दाबी गर्दै प्रस्तावित क्षेत्रका जग्गाधनीहरूबाट निवेदन आउने क्रम अझै नरोकिएको राउतले बताए । उनले औद्योगिक क्षेत्रलाई जग्गा दिन आसपासका स्थानीय उत्साही देखिएका छन् ।

कमल ७ का पदम सेढाईंले लिमिटेडको सूचनामा एक बिघा जमिनको विवरण उल्लेख भए पनि आफूले आफ्नो सबै ६ बिघा जग्गा औद्योगिक क्षेत्रलाई दिन चाहेको बताए । उनले भने, ‘सूचनामा एक बिघा जमिनको कित्ता नम्बर मात्रै उल्लेख थियो । तर, हामीले घरसल्लाह गरेर सबै ६ बिघा जमिन नै औद्योगिक क्षेत्रलाई दिन इच्छुक भएका छौं ।’

गौरादह ५ का पदमप्रसाद निरौलाले पनि आफ्नो ठाउँको विकासमा सहयोग पुर्‍याउन जग्गा दिन चाहेको बताए । ‘मेरो जग्गा पनि सूचनामा परेनछ । तर, मलाई औद्योगिक क्षेत्रलाई जग्गा दिन ठूलो इच्छा छ । त्यसैले मेरो जग्गा पनि लिनुपर्‍यो भनेर निवेदन दिएको छु,’ निरौलाले भने । कमल ७ का गोपाल चौहानले आफ्नो एक बिघा जमिन पनि औद्योगिक क्षेत्रले लिनुपर्ने भन्दै निवेदन दिएको बताए ।

प्रकाशित : चैत्र २४, २०७४ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?