कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

पहिलोचोटि प्रशासक सीमावर्ती गाउँ पुगे

आनन्द गौतम

कालिखोला (ताप्लेजुङ) — शनिबार साँझ साढे ८ बजे सिदिङवा गाउँपालिका ७ कालीखोलामा पुग्दा वडाध्यक्ष विजय चापागाईं अगेनाको डिलमा आगो तापेर बसेका थिए । प्रमुख जिल्ला अधिकारी मोहन जिसी, स्थानीय समन्वय अधिकारीलगायतका कार्यालय प्रमुख देख्नासाथ भने, ‘अरे साँच्चै पो सबैजना आउनु भएछ ।’

पहिलोचोटि प्रशासक सीमावर्ती गाउँ पुगे

पाहुनालाई घरभित्रको कौसीमा राखेपछि सिडियोलाई सम्बोधन गर्दै वडाध्यक्षले थपे, ‘भोलि बिहान सिडियो साबहरू आउने अरे, भेला हौं है भनेको गाउँलेले पत्याएनन्,’ चापागाईंले जोडे, ‘किन आउँछन् र भनेर पो सोधे ।’

शिक्षक पेसाबाट पेन्सन पकाएर वडाको नेतृत्व पाएका चापागाईं भारतसँगको सीमावर्ती वडाका निर्वाचित जनप्रतिनिधि हुन् । यो वडाको सिमाना भारत सिक्किमको फालेक र तिम्वुङ पोखरीमा जोडिन्छ । यहाँ ताप्लेजुङ, पाँचथर र भारतको सिमाना जोडिएको छ ।

ताप्लेजुङ भारत र चीन दुवै देशसँग सिमाना जोडिएको जिल्ला हो । तर सीमावर्ती गाउँमा भने यसअघि सुरक्षा अधिकारी पुगेकै रहेनछन् । चापागाईंकै भनाइमा यो गाउँमा सिडियोसहितको जिल्लाका उच्च सुरक्षा अधिकारीको टोली पहिलोपटक आएको हो ।

यो वर्ष ‘वन सरोकारवाला र सुरक्षा निकाय सम्मिलित संयुक्त अनुगमन तथा निरीक्षण टोली’ कालीखोला पुगेको हो । भारतसँग सिमाना जोडिएको ताप्लेजुङको याम्फुदिनदेखि कालीखोलासम्मको अनुगमनको व्यवस्था जिल्ला वन कार्यालयले मिलाएको थियो । टोलीमा जिल्ला समन्वय अधिकारी, कृषि, वन, दुवै प्रहरी प्रमुख, सीमा प्रशासन प्रमुखको उपस्थिति थियो ।

पुगेकै साँझ वडाध्यक्षको मात्रै कुरा सुनेका प्रमुख जिल्ला अधिकारी जिसीले अबका कर्मचारीले जनताका घरघरमा पुगेर सेवा प्रवाह गर्ने र यो त्यसको सुरुवात भएको दाबी गरे । निर्वाचनसँगै कर्मचारीको कार्यशैलीमा परिवर्तन आएको पनि उनले संकेत गरे ।

उनले भने, ‘अहिलको समयमा शासन र प्रशासन चलाउने शैलीमा व्यापक परिवर्तन आएको छ । अबको सरकार गाउँठाउँमा जनताको घरदैलोमा पुग्नुपर्छ भन्ने मान्यता हो, त्यही मान्यताअनुसार हामी टोली बनाएर आएका हौं ।’ यहाँका समस्याका विषयमा गम्भीर हुने जिसीले बताए ।

अनुगमन टोलीलाई स्थानीयले वन्यजन्तुले हैरानी दिएको, वन्यजन्तुका कारण बसाइँ सर्नुपरेको, शिक्षास्वास्थ्य जस्ता आधारभूत आवश्यकता नपाएको गुनासो सुनाए । सीमावर्ती क्षेत्र भएर पनि प्रहरी चौकी पुग्न एक दिनको पैदल धाउनुपर्ने बाध्यता रहेको सुनाएका निर्वाचित जनप्रतिनिधिले दलीय द्वन्द्वका कारण काम गर्न नसकेको गुनासो पनि सुनाए ।

यो गाउँपालिकाको केन्द्र साब्लाखु भञ्ज्याङमा मात्रै प्रहरी चौकी छ । अन्तक्र्रिया कार्यक्रममा गत निर्वाचनताका गाउँपालिकाको अध्यक्षका प्रत्यासी रहेका मानबहादुर राईले नेपाली सिमाना मिचिएको बताए । ‘भारतले चिवाभञ्ज्याङमा बनाएको भ्युटावर नेपाली भू–भागमा हो कि जस्तो लाग्छ तर नक्सांकन नभएकाले बोल्न सकेका छैनौं’, उनले भने । स्थानीय टइन्द्र चापागाईंले ४१ नम्बरको पिल्लर बाहेक अरू नदेखेको बताए ।

उनले पशुपालकदेखि कञ्चनजंघाको ट्रेकिङमा जानेहरूले नेपाली भूभाग प्रयोग गरेको तर नेपाललाई सिक्किम सरकारलाई राजस्व तिरेको बताए । उनले मध्यपहाडी लोकमार्ग दुई देशको सिमानासम्मै पुगे पनि भारतले सिमाना सम्म सडक नल्याएकाले नेपालले कूटनीतिक ढंगबाट कुरागर्नुपर्ने बताए ।स्थानीय नन्दबहादुर बानियाले आफू ४० वर्षको उमेरको भएको यो उमेरमा गाउँमा ३५ परिवार बसाइँ गएको गुनासो गरे । ‘अब बसाइँ जाने पालो हाम्रो आइहालेको छ,’ उनले थपे, ‘गाउँमा बस्ने मन भएकाहरू कोही पनि छैन, सबै बसैंजाने मनस्थितिमा मात्रै छन् ।’ यो वडामा पाँच कक्षासम्मको मात्रै पढाइ हुने भएकाले शिक्षाको खोजीमा भौतारिनुपरेको गुनासो स्थानीयको छ ।

तीनवटा विद्यालय रहेको यहाँ एउटामा मात्रै पाँच कक्षासम्मको पढाइ हुने गरेको छ । प्रमुख जिल्ला अधिकारी जिसीले आगामी आर्थिक वर्षमा नेपालभारत सिमाना प्रस्ट हुने बताए । ‘नेपाल र भारत सरकारबीच आगामी आर्थिक वर्षमा ताप्लेजुङ, पाँचथर र इलाम तीन जिल्लाको सिमाना प्रस्ट हुन्छ,’ उनले भने, ‘दुई देशबीच सिमानामा प्रस्ट पार्ने निर्णय भइसकेको छ र त्यो ताप्लेजुङबाटै सुरु हुन्छ ।

प्रकाशित : चैत्र २८, २०७४ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?