बलात्कार घटना बढ्दै

‘शिक्षा र चेतनाको विस्तारसँगै यस्ता आपराधिक घटना लुक्न छाडेको छ’
जितेन्द्र साह

विराटनगर — प्रदेश १ मा बलात्कारको घटनामा कमी नआएको प्रहरी तथ्यांकले देखाएको छ । विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयले पछिल्ला तीन वर्ष अवधिको तथ्यांकले जबरजस्ती करणी घटना बढेको देखाएको हो । यो अवधिमा ७ सय ४२ मुद्दा दर्ता भएको र ८ सय १ जनालाई पक्राउ गरिएको उक्त कार्यालयले जनाएको छ ।

बलात्कार घटना बढ्दै

आव २०७२/७३ मा २ सय ४९, २०७३/७४ मा २ सय ९३ र २०७४/७५ को हालसम्ममा २ सय मुद्दा दर्ता भएका छन् । यो प्रदेशमा झापा, इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बु गरी १४ जिल्लाहरू पर्छ ।

उक्त अवधिमा प्रदेश १ को झापामा सबैभन्दा बढी १ सय ६१, मोरङमा १ सय ५९ र सुनसरीमा १ सय ३० वटा बलात्कारका मुद्दा दर्ता भएको उक्त कार्यालयको अपराध अभियोजन शाखाका प्रमुख प्रहरी निरीक्षक गंगा पौडेलले कान्तिपुरलाई बताए । तथ्यांकअनुसार पूर्वको मधेसी भेगमा बढी र पहाडी जिल्लाहरूमा तुलनात्मक रूपमा कम यस्ता अपराध भएका छन् । यस प्रदेशको सुनसरी, मोरङ र झापामा बलात्कारका ४ सय ५० मुद्दा दर्ता भएको देखिन्छ जबकि बाँकीका ११ पहाडी जिल्लाहरूमा निकै कम मात्र २ सय ९२ यस्ता मुद्दा प्रहरीसम्म पुगेको देखिन्छ ।

‘शिक्षा र चेतनाको विस्तारसँगै यस्ता आपराधिक घटना लुक्न छाडेको छ,’ उनले भने, ‘सचेत नागरिक समाज भएको ठाउँमा ढाकछोप नगरिने हुनाले बढी मुद्दा दर्ता हुनु स्वाभाविक हो ।’ कानुनी प्रावधानअनुसार बलात्कार भएको ६ महिनाभित्र ऊजुरी परेमा समेत कारबाही हुन्छ । ‘जो सुकै व्यक्ति वा संस्थाले घटनाबारे प्रहरीलाई सूचना दिन सक्छन्,’ निरीक्षक पौडेलले भने, ‘अहिले त नागरिक समाज र प्रहरीले मिलेर काम गर्ने हुनाले अपराधी उम्कने सम्भावना निकै कम हुँदै गएको छ, फटाहा जोसुकै भए पनि कारबाहीमा परेकै छन् ।’

तीन वर्षको अवधिमा ८ सय १ जना बलात्कारका आरोपीलाई प्रहरीले पक्राउ गरी कारबाही चलाएको छ । ‘यो काम नागरिक समाजकै सहयोगमा भएको हो,’ पौडेलले भने । आव २०७२/७३ मा २ सय ६६, २०७३/७४ मा ३ सय २५ र २०७४/७५ मा २ सय १० बलात्कारका आरोपीलाई कानुनी कारबाहीको दायरामा ल्याइएको उक्त शाखाको तथ्यांकबाट देखिन्छ ।

तीन वर्षको अवधिमा बलात्कारको प्रयास गरेको सम्बन्धी ३ सय २९ मुद्दा दर्ता भएका छन् । आव २०७२/७३ मा १ सय ११, २०७३/७४ मा १ सय १४ र २०७४/७५ मा १ सय ४ जबरजस्ती करणी उद्योगको मुद्दा दर्ता भएको उक्त शाखाले बताएको छ । शाखाका अनुसार उक्त अवधिमा बलात्कार प्रयासको आरोपमा ३ सय ६४ जना पक्राउ परेका छन् । आव २०७२/७३ मा १ सय १५, २०७३/७४ मा १ सय २३ र २०७४/७५ को हालसम्म १ सय २६ जनालाई पक्राउ गरिएको उक्त शाखाले जनाएको छ ।

कानुनी कारबाहीसँगै पीडितको मानसिक उपचार, वातावरणीय र सामाजिक पुन:स्थापन निकै चुनौतीपूर्ण हुने गरेको विज्ञ चिकित्सकहरूले बताएका छन् । शारीरिक घाउ त चाँडै निको होला तर मानसिक रोगको उपचारमा धेरै समय लाग्छ,’ विराटनगरका बरिष्ठ मनोरोग चिकित्सक डा. रोशन पोखरेलले भने । उनी कोसी अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) पनि हुन् ।

‘ल्याइँदा मानसिक रूपले आघात हुन्छन्, त्रास एवं लोकलाजले पीडकको नाम समेत भन्न मान्दैनन्,’ उनले भने, ‘मनोचिकित्सकले निकै संवेदना र सावधानीकासाथ पीडितलाई मनोपरामर्श दिनुपर्छ ।’ पीडितलाई विश्वासमा लिएर अपराधीको नाम खुलाउनेदेखि पूर्णरूपले स्वस्थ पार्ने जिम्मेवारी मनोचिकित्सककै हुने गरेको उनले बताए ।

यी पीडितको उपचारका लागि कोसी अञ्चल अस्पतालमा स्त्री तथा प्रसूति रोग विभाग र मनोरोग एकाइका चिकित्सकहरू सम्मिलित टोली छ । उक्त विभागका प्रमुख एवं बरिष्ठ स्त्री तथा प्रसूति रोग विज्ञ डा. संगीता मिश्राले निको भएपछि पनि पीडितका लागि वातावरणीय एवं सामाजिक पुन:स्थापन निकै चुनौतीपूर्ण हुने गरेको बताइन् ।

प्रकाशित : चैत्र ३०, २०७४ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?