२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

पहुँचका आधारमा ठेकेदारहरुलाई 'क्वाटर' सुविधा

प्रदीप मेन्याङ्बो

धरान — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहुँचका आधारमा बाहिरका मानिसलाई आवास सुविधा दिएको खुलासा भएको छ ।

प्रतिष्ठानमा कार्यरत चिकित्सक, नर्स र कर्मचारीहरुले आवास (क्वाटर) नपाइरहेका बेला प्रतिष्ठानमा आबद्ध नरहेका सुशील झा, सुमित साहलगायत सात जनाभन्दा बढी व्यक्तिले लामो समयदेखि क्वाटर ओगटेर बसेको विषय सार्वजनिक भएको हो ।

पहुँचका आधारमा ठेकेदारहरुलाई 'क्वाटर' सुविधा

यसैगरी शर्मा एण्ड रसुवा जेभीको केज कन्सल्टेन्सी र औषधि उपकरण उपलब्ध गराउने कम्पनीका प्रतिनिधिले पनि प्रतिष्ठानमा क्वाटर सुविधा पाएका छन् । प्रतिष्ठान आवासीय स्वास्थ्य शैक्षिक संस्था भएकाले त्यहाँ कार्यरत चिकित्सक र नर्सहरुले क्वाटरको सुविधा पाउने गरेका छन् । तर, कर्मचारीको संख्याअनुसार कतिपय अवस्थामा भएका भौतिक संरचना कम हुन पुग्ने भएकाले क्वाटर नपाएर कोही होटलमा त कोही प्रतिष्ठानकै गेस्ट हाउसमा बस्न बाध्य छन् ।


खानेपानी, विद्युत्, टेलिफोन, इन्टर्नेट र सुरक्षा गार्डसहितको सुविधायुक्त प्रतिष्ठानको क्वाटरमा बस्न पाउने भाग्यमानी दरिएका झा श्याम सुन्दर कन्सल्टेन्सीका प्रतिनिधि हुन् । साह प्रतिष्ठान हाताभित्र नाफा कमाउने उद्देश्यले हालै स्थापित किड जी स्कुलका सञ्चालकमध्ये एक हुन् । किड जी भारतको जी ग्रुपको मानिन्छ ।

प्रतिष्ठानभित्रको आवासीय क्षेत्रमा प्रतिष्ठानमा कार्यरत प्रोफेसर, एडिशनल प्रोफेशर, एसोसिएट प्रोफेसर, एसिस्टेन्ट प्रोफेसर, नर्सिङ स्टाफ, प्रसासनका कर्मचारीहरुका लागि फ्ल्याट सिस्टमका घर तथा भवनहरु निर्माण गरिएका छन् । ती घर तथा भवनमा आवासीय चिकित्सक र नर्स तथा कर्मचारीहरुमात्र बस्न पाउने प्रावधान भए पनि झा र साहले नि:शुल्क बस्न पाएका छन् । प्रतिष्ठानमा हाउस अफिसरसहित करिब ३ सय ५० चिकित्सक, ५ सय ५० जना नर्स, ७ सय ५० जनाको हाराहारीमा सामान्य प्रशासनका कर्मचारी र ५० बढी प्राविधिकहरु कार्यरत छन् । प्रतिष्ठानले उनीहरुलाई आवासीय सुविधा दिएको छ ।


प्रतिष्ठानका अस्पताल निर्देशक प्रा डा गौरिशंकर साहले प्रतिष्ठानको कर्मचारी नै नभए पनि झा र साहले क्वाटरको सुविधा पाएको विषयमा भने, ‘कसरी उनीहरुले क्वाटर सुविधा पाए म पनि छक्कै परेको छु । यहाँ कार्डियो थोरासिक सर्जन, पेडियाट्रिक सर्जन, न्यूरो सर्जनदेखि सिनियर रेजिडेन्ट चिकित्सकहरु, नर्सहरुले क्वाटर नपाएर विजोग छ ।’


कर्मचारीले क्वाटर नपाएको अवस्थामा बाहिरका व्यक्तिले क्वाटरको सुविधा पाएको बारेमा प्रतिष्ठानका सामान्य प्रशासन विभागका प्रमुख दीपक शाक्यले प्रतिष्ठानको भौतिक संरचना निर्माण गर्ने विभिन्न ठेकेदार कम्पनी र मेडिकल उपकरण उपलब्ध गराउने विभिन्न कम्पनीका प्रतिनिधिलाई क्वाटरको सुविधा दिने पहिलेको नियम र प्रावधानअनुसार बस्न दिएको बताए । उनले भने, ‘यो पहिलेको नियमअनुसार बस्न दिएको हो । तर हालै यो नियममा केही परिवर्तन गरिएको छ । अबदेखि प्रतिष्ठानमा बाहिरका व्यक्तिलाई क्वाटर सुविधा लिएर बस्न नदिने निर्णय भएको छ ।’ उनले प्रतिष्ठानमा करारका काम गर्नेदेखि माथिका सबैले क्वाटर पाउने प्रावधान भए पनि क्वाटर अभावले धेरैले पाउन नसकेको बताए ।

प्रकाशित : वैशाख २, २०७५ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?