कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

अमेरिकी प्रविधिबाट शल्यक्रिया

जितेन्द्र साह

विराटनगर — स्वदेशमा पहिलोपटक विराटनगर आँखा अस्पतालले विश्वकै सबैभन्दा आधुनिक प्रविधि मानिने ‘जेप्टो फेको सर्जरी’ मार्फत मोतीविन्दुको उपचार सुरु गरेको छ । यन्त्रको मद्दतबाट आँखाको प्राकृतिक लेन्सलाई निकालेर कृत्रिम लेन्स सही स्थानमा राख्ने यो शल्यक्रिया गत वर्ष मात्रै अमेरिकाबाट सुरु भएको हो ।

अमेरिकी प्रविधिबाट शल्यक्रिया

परम्परागत प्रविधिमा चिम्टा र बांगिएको सुईको प्रयोगबाट यो शल्यक्रिया गरिन्थ्यो । नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित यो गैरनाफामूलक अस्पतालले झन्डै ३० लाख रुपैयाँ खर्चेर अमेरिकाबाट उक्त यन्त्र झिकाएको हो । ‘पहिला पहिला कुनै नयाँ प्रविधि मुलुकमा आउनलाई १० वर्ष कुर्नुपथ्र्यो,’ अस्पतालका प्रबन्ध निर्देशक कुमार पृथुले भने, ‘हामीले एक वर्षमै भित्र्याउन सक्यौं ।’


दुईमहिने प्रायोगिक अवधि सफलतासाथ पूरा गरेको यो प्रविधि नयाँ वर्षमा सेवाग्राहीका लागि अस्पतालका तर्फबाट शुभकामनासरह भएको उनले बताए । बालकदेखि वृद्धसम्ममा देखिने अति जटिलखाले मोतीविन्दु, आफ्नो स्थानबाट विस्थापित भएका आँखाको लेन्स, समयमै उपचार नहुँदा कडा र निकै सेतो भइसकेको मोतीविन्दुमा यो प्रविधि उपयुक्त हुने उनले बताए । ‘पहिला हातबाट हुन्थ्यो, अहिले यन्त्रबाट सकिन्छ,’ दृष्टि विशेषज्ञ टिंकु मुखर्जीले भने, ‘यो निकै सुरक्षित छ, यसमा लेन्सलाई एकदम सही ठाउँमा राख्न सकिने हुनाले राम्रो परिणाम दिन्छ ।’


उनले यो प्रविधिबाट शल्यक्रियापछि देखिने जटिलता कम हुने गरेको बताए । ‘यसमा सर्जरीपछि आँखाको नानी पछिल्तिरको भाग हल्लिने जस्तो समस्या देखिन्न,’ उनले भने । उक्त अस्पतालमा दैनिक ५ जना स्वदेशी र विदेशीले मोतीविन्दुको शल्यक्रिया गराउँछन् ।


पुरानो प्रविधिअनुरूप १ हजार २ सय रुपैयाँमा शल्यक्रिया हुन्छ भने नयाँ प्रविधिबाट गराउँदा सहुलियत शुल्कमा २५ हजार रुपैयाँसम्म लाग्ने गरेको प्रबन्ध निर्देशक पृथुले प्रस्ट्याए । ‘निमुखा एवं विपन्नको हकमा अस्पतालले उपचारमा सक्दो छुट उपलब्ध गराएको छ,’ उनले भने । भारतको निजी अस्पतालमा यो प्रविधिबाट शल्यक्रिया गराउँदा १ लाख रुपैयाँसम्म शुल्क पर्ने गरेको उनले बताए ।


उक्त अस्पतालले यो नयाँ प्रविधि भित्र्याउनुका साथै बजारमा तत्कालै उपलब्ध नहुने जटिलखाले पावरयुक्त प्लास्टिक लेन्सको निर्माण सुरु गरेको छ । आधुनिक प्रविधियुक्त सीआर ग्रान्डिङ संयन्त्रबाट निर्माण गरिने यस्तो लेन्स तौलमा हल्का, कोरिने समस्या कम हुने र स्पष्ट देखिने गरेको दृष्टि विशेषज्ञ मुखर्जीले जनाए ।


अस्पतालले भारतको मुम्बईबाट १ करोड १० लाख रुपैयाँमा उक्त यन्त्र खरिद गरेको जनाएको छ । ‘यो प्रविधिबाट बन्ने एउटै लेन्समा बाइफोकल र प्रोग्रेसिभको सुविधा हुन्छ,’ प्रबन्ध निर्देशक पृथुले भने, ‘तलमाथि हेर्नलाई आँखा चलाइराख्नुपरेन ।’


जटिलखाले आँखाको कमजोरीमा आवश्यक पर्ने तयारी लेन्स खोजेकै बेला बजारमा नपाइने हुनाले छिमेकी भारतबाट अर्डर गरेर मगाउँदा कम्तीमा दुई सातादेखि एक महिनासम्म लाग्ने गरेको अनुभव दृष्टि विशेषज्ञ मुखर्जीले सुनाए ।

प्रकाशित : वैशाख ३, २०७५ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?