१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दुई दिनदेखि निरन्तर डढेलो

धनकुटा — धनकुटा नगरपालिका–४ का दुई सामुदायिक वनमा दुई दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । शनिबार साँझदेखि लागेको डढेलोले वाग्ले सामुदायिक वन र चुरेघाटी सामुदायिक वनको सयौं हेक्टरमा रहेको सल्ला तथा अन्य प्रजातिका वनस्पति नष्ट भएका छन् ।

दुई दिनदेखि निरन्तर डढेलो

आसपासका बस्ती समेत जोखिममा छन् । बस्ती जोगाउन वारुण यन्त्र परिचालन गरिएको थियो । सेना, प्रहरी र स्थानीयसमेत राति अबरेसम्म खटेका थिए ।


चुरेघाटी सामुदायिक वनबाट सल्केको आगो वाग्ले सामुदायिक वनसम्म फैलिएको थियो । उक्त वनमा डढेलो पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको सामुदायिक वन उपभोक्ता महासंघ धनकुटाका अध्यक्ष राजेन्द्र खडकाले बताए । क्षतिको पूर्ण विवरण आइसकेको छैन । डढेलोका कारण आसपासका माल्बासे, ठोका, सेउले, अमलाटारलगायत बस्ती जोखिममा छन् ।


बस्तीमा आगो पस्न नदिने प्रयास जारी रहेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए । सुक्खा यामसँगै जिल्लाका वनमा आगो लाग्ने क्रम बढेको छ । जिल्ला वन कार्यालय प्रमुख कृष्ण बस्तीका अनुसार गत वर्षभन्दा हिउँदे वर्षा कम भएका कारण डढेलो बढी लागेको हो । ‘सचेतनामूलक सन्देश, प्रचारप्रसार कार्य भने जारी राखिएको छ,’ उनले भने, ‘तर पनि कमी आउन सकेको छैन ।’ दुई महिनामा करिब ६ सय हेक्टर वन डढेलोले क्षति पुर्‍याएको छ । तर, सामुदायिक वन उपभोक्ता महासंघको फरक तथ्यांक छ । उसका अनुसार करिब १ हजार ५ सय हेक्टर वनमा डढेलो लागिसकेको छ ।


जिल्ला वन कार्यालयले स्थानीय तहलाई अग्नि नियन्त्रणका उपकरण तथा विभिन्न सामग्री हस्तान्तरण गर्ने भने पनि अझै दिइएको छैन । स्पष्ट नीति नबनेका कारण त्यस्ता सामग्री वितरण गर्न नसकिएको वनले जनायो । गत वर्ष डढेलोले धनकुटामा एक जनाको ज्यानै लिएको थियो भने वडहरे, छथर जोरपाटी गाउँपालिकाको पाथिभरा तथा सिभुवा ताक्लाखर्क, धनकुटा नगरपालिका ३ को हाडिखर्क, जलकन्या, रुद्रबारी, वोधे, पात्लेसान्ने, रघुटार, विश्रान्ति धार्मिक वन लगायतमा क्षति पुगेको थियो ।

प्रकाशित : वैशाख ३, २०७५ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?