कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बीपी प्रतिष्ठान: डाक्टर आवासमा बाहिरिया

प्रदीप मेन्याङ्बो

धरान — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आवासगृह पहुँचका आधारमा बाहिरका व्यक्तिले ओगट्दा त्यहाँ कार्यरत चिकित्सक, नर्स र कर्मचारी मर्कामा छन् । उनीहरू होटल र गेस्टहाउसमा बस्न बाध्य छन् ।

बीपी प्रतिष्ठान: डाक्टर आवासमा बाहिरिया

प्रतिष्ठानको कुनै विभागको कर्मचारी नै नभए पनि सुशील झा र सुमित साहलगायत सात जनाभन्दा बढी व्यक्ति लामो समयदेखि प्रतिष्ठानको आवासगृहमा बसिरहेका छन् ।


यसैगरी शर्मा एन्ड रसुवा जेभीको केज कन्सल्टेन्सी र औषधि उपकरण उपलव्ध गराउने कम्पनीका प्रतिनिधि पनि प्रतिष्ठानकै आवासमा छन् । प्रतिष्ठान आवासीय स्वास्थ्य शैक्षिक संस्था भएकाले त्यहाँ कार्यरत चिकित्सक र नर्सहरूका लागि आवास बनाइएको हो । तर, कर्मचारीको संख्याअनुसार यसै पनि अपुग रहेका भौतिक संरचना बाहिरका व्यक्तिले ओगट्दाा उनीहरू होटल र प्रतिष्ठानकै गेस्टहाउसमा खुम्चन बाध्य छन् ।


खानेपानी, विद्युत्, टेलिफोन, इन्टरनेट र सुरक्षा गार्डसहितको सुविधायुक्त आवासमा बसिरहेका झा श्यामसुन्दर कन्सल्टेन्सीका प्रतिनिधि हुन् । साह प्रतिष्ठान हाताभित्र नाफा कमाउने उद्देश्यले हालै स्थापित किड जी स्कुलका सञ्चालकमध्ये एक हुन् । किडजी भारतको जी ग्रुपअन्तर्गतको मानिन्छ ।


आवासीय क्षेत्रमा प्रतिष्ठानमा कार्यरत प्रोफेसर, एडिसनल प्रोफेसर, एसोसिएट प्रोफेसर, एसिस्टेन्ट प्रोफेसर, नर्सिङ स्टाफ, प्रशासन कर्मचारीका लागि फ्ल्याट सिस्टमका घर तथा भवन निर्माण गरिएका छन् । ती घर तथा भवनमा आवासीय चिकित्सक र नर्स तथा कर्मचारी मात्र बस्न पाउने प्रावधान भए पनि झा र साहले नि:शुल्क उपभोग गरिरहेका छन् ।


प्रतिष्ठानमा हाउस अफिसरसहित करिब ३ सय ५० चिकित्सक, ५ सय ५० नर्स, ७ सय ५० हाराहारी सामान्य प्रशासनका कर्मचारी र ५० बढी प्राविधिक कार्यरत छन् । प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरिशंकर साहले झा र साहले आवास सुविधा पाएको विषयमा भने, ‘कसरी उनीहरूले त्यो सुविधा पाए म पनि छक्कै परेको छु । यहाँ कार्डियो थोरासिक सर्जन, पेडियाट्रिक सर्जन, न्युरो सर्जनदेखि सिनियर रेजिडेन्ट चिकित्सक, नर्सहरूले बस्ने ठाउँ नपाएर विजोग छ ।’


प्रतिष्ठानका सामान्य प्रशासन विभागका प्रमुख दीपक शाक्यले भने प्रतिष्ठानको भौतिक संरचना निर्माण गर्ने विभिन्न ठेकेदार कम्पनी र मेडिकल उपकरण उपलव्ध गराउने विभिन्न कम्पनीका प्रतिनिधिलाई बस्ने सुविधा दिने पहिलेको नियम र प्रावधानअनुसार बस्न दिइएको बताए । उनले भने, ‘पहिलेको नियमअनुसार बस्न दिएको हो । हालै यो नियममा केही परिवर्तन गरिएको छ । अवदेखि प्रतिष्ठानका आवासमा बाहिरका व्यक्तिलाई बस्न नदिने निर्णय भएको छ ।’ उनले प्रतिष्ठानमा करारदेखि माथिका सबै कर्मचारीले बस्न पाउने प्रावधान भए पनि भवन अभावले धेरैले पाउन नसकेको बताए ।

प्रकाशित : वैशाख ३, २०७५ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?