१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

गाउँगाउँमा सिरुवा उत्सव

अर्जुन राजवंशी

बिर्तामोड (झापा) — बैशाख १ देखि सुरु भएको सिरुवा पर्व आदिवासी राजवंशी जातिले हर्षोल्लासका साथ मनाइरहेका छन् । जिल्लाको दक्षिणी भेगका गाउँहरु सिरुवामय बनेका छन् ।

गाउँगाउँमा सिरुवा उत्सव

राजवंशी जातिले प्रमुख चाडको रुपमा बैशाख १, २ र ३ गते सिरुवा पर्व मनाउछन् । पर्वका अवसरमा ठाकुरबिसरी, ठाकुरब्रह्माणी, घाटोसरीसहित कूल देवीदेवताको पूजा गर्ने चलन छ ।


यो जातिले सिरुवा पर्वको पहिलो दिन अर्थात बैशाख १ गते ‘पानी सिरुवा’, २ गते ‘काद सिरुवा’ र ३ गते ‘रंग सिरुवा’ खेलेर मनाएको छ । वर्षभरी शितलता प्राप्त होस् भन्दै आपसमा पानी छ्यापेर पानी सिरुवा, माटोको पूजा गर्दै हिलो बनाएर आपसमा दल्ने र बिभिन्न रंग लगाएर वर्षभरीका दिनहरु रंगिन र खुसीमय बनुन् भन्ने कामना गर्दै रंग सिरुवा खेल्ने चलन रहेको भरुवा राजवंशीले बताए ।


आपसमा भातृत्वको सम्बन्धलाई प्रगाढ बनाउन राजवंशी जातिले हर्षोल्लासका साथ सिरुवा पर्व मनाउने गरेको कोचिला गाभुर फ्रन्टका अध्यक्ष अभय राजवंशीले बताए ।


पर्वको अवसरमा जिल्लाका पूराना बजारहरुमा सिरुवा मेलाहरु समेत भएका छन् । सिरुवामा राजवंशी जातिले नियमित घर–आँगन लिपपोत गरी सफासुग्घर गर्ने, लुगा–कपडा धुईपखाली गर्ने, कुल देवता, ग्रामथानको नियमित पूजा गर्ने, मिठा परिकार बनाएर खाने तथा सिरुवा खेल्न छिमेकी गाउँहरु र मेला बजार जाने चलन छ । महिलाहरु सिरुवा पर्व सुरु हुन एक सातादेखि परिवारका सदस्यहरुको शरीरमा घाउँ, खटिरा नओस्, वर्षभरी घरपरिवारमा सुख–शान्तिकाे कामना गर्दै गाउँगाउँ घुमेर घाटोसरी गाउने चलन छ ।

प्रकाशित : वैशाख ३, २०७५ १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?