कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

रोकिएन इन्धन तस्करी

विनोद भण्डारी

विराटनगर — भारतमाभन्दा नेपालमा डिजेल र पेट्रोल सस्तोमा पाइएसँगै सुरू भएको पेट्रोलियम पदार्थको तस्करी झन मौलाएको छ । सुरूमा पम्पवालाको मिलोमतोमा हुने गरेको तस्करी कारोवारमा पछिल्लोपटक ट्यांकर चालक बढी सक्रिय भएको पाइएको छ ।

रोकिएन इन्धन तस्करी

उनीहरूको संलग्नतामा भारतमा ट्यांकर नै लगेर बिक्री गर्ने गरेको छ । भारतको तुलनामा नेपालमा डिजेल प्रतिलिटर २८ रुपैयाँ र पेट्रोल २२ रुपैयाँ सस्तो छ ।

भारतको बरौनी डिपोबाट नेपालका लागि डिजेल र पेट्रोल लोड गरेर फर्कने क्रममा चालकले उतै बिक्री गरेर रित्तो ट्यांकर लिएर आउने र विराटनगर डिपोबाट पम्पलाई वितरण गर्न हिँडेका ट्याङकरले भारतमा लगेर बिक्री गर्ने गरेको पाइएको छ ।

यसैक्रममा आयल निगमको क्षेत्रीय डिपो विराटनगरबाट सुनसरीका विभिन्न ५ वटा पम्मका नाममा २० हजार लिटर डिजेल लिएर हिँडेको ट्याङकरका चालकले पम्पलाई नदिई उत्त डिजेल भारतमा लगेर बिक्री गरेको खुलासा भएको छ ।

यसअघि भारतको बरौनी डिपोबाट विराटनगर डिपोका लागि २० हजार लिटर डिजेल लोड भएको ना४ख ८७३३ नम्बरको ट्याङकरका चालक कृष्ण यादवले १६ हजार लिटर भारतमा बिक्री गरी ४ हजार लिटरमात्र नेपाल भित्र्याएर सुनसरीको एक पम्पमा यहाँको मूल्यमा खरिद गरी ट्याङकर भरेर निगमलाई बुझाएको सार्वजनिक भएको थियो । चालक यादव अझै फरार छन् ।

ना२ख ४३५२ नम्बरको ट्याङकरका चालक मुन्नाले सुनसरीको इटहरीका तीनवटा पम्पमा १२ हजार लिटर दिएर बाँकी ८ हजार लिटर डिजेल भारतमा लगेर महँगो मूल्यमा बिक्री गरी चालकले ट्याङकरलाई भारतको बरौनीमा बेवारिसे अवस्थामा छाडेर फरार भएको पाइएको छ ।

आयल निगम क्षेत्रीय डिपो स्रोतका अनुसार उक्त ट्याङकरमा सुनसरीको इटहरीका न्यु स्र्यासेकाली, गोविन्द आयल, सिडी जाल्पा, मिलन आयल र चन्द्रमन पम्पको २० हजार लिटर डिजेल बोकेर डिपोबाट बाहिर निस्केको थियो । ट्याङकरका चालक मुन्नाले जाल्पा, सिडी, न्यु स्यार्सेकाली र गोविन्द आयलमा १२ हजार लिटर खन्याएर बाँकी दुई पम्पको नामको ८ हजार लिटर पम्पमा नखन्यायी भान्टाबारी नाकाबाट भारत प्रवेश गरी बिक्री गरेर ट्याङकरलाई बरौनीमा बेवारिसे अवस्थामा छाडेर भागेको हो । डिजेल नपाउने दुई पम्पले पम्पमा डिजेल नआएपछि खोजतलास गर्दा यसको पुष्टि भएको निगम स्रोतको भनाइ छ ।

अहिले नेपालमाभन्दा भारतमा डिजेलको मूल्य प्रतिलिटर २८ र पेट्रोलको प्रतिलिटर २२ रुपैयाँ बढी छ । त्यसैले ट्याङकर चालकले बरौनी डिपोमा नेपालका लागि लोड भएको डिजेल, पेट्रोल भारतमै बिक्री गरेर नेपालमा आएर पम्पमा किनेर भर्ने र पम्पलाई डेलीभरी दिन लगेको डिजेल, पेट्रोल भारतमा लगेर बिक्री गर्ने कार्य बढेको निगम स्रोतको भनाइ छ ।

यसअघि ना४ख ९४१० र ना४ख ३९३७ नम्बरको ट्याङकरमा नेपाल आयात गरिएको ४० हजार लिटर डिजेल चालकले भारतमै बिक्री गरेर ट्याङकरलाई भारतीय क्षेत्रमा दुर्घटना गराएको नाटक गरेको निगम स्रोतको दाबी छ । एक ट्यांङकर डिजेल अहिले भारतीय मूल्यमा बिक्री गर्दा करिव ६ लाख नाफा हुन्छ । स्रोतले भन्यो त्यसैले ट्याङकर चालकहरू पेट्रोलियम पदार्थ भारतमै बिक्री गरेर ट्याङकरलाई पल्टाएर दुर्घटनाको नाटक गर्न थालेका छन् ।

क्षेत्रीय डिपो प्रमुख भानुभक्त खनालले यस विषयमा अनुसन्धान भइरहेको र उक्त नम्बरको ट्याङकरलाई पेट्रोलियम पदार्थको ओसार पसारमा रोक लगाएको बताए । बढदो इन्धन तस्करी नियन्त्रण गर्न सीमावर्ती क्षेत्रका पम्पलाई उपलब्ध गराउँदै आएको इन्धनमा कटौती गरेपछि ट्याङकर चालक नै तस्करीमा संलग्न हुन थालेपछि झन समस्या भएको उनले बताए । उनका अनुसार सीमावर्ती क्षेत्रका पम्पलाई दिइने इन्धनमा दैनिक चार हजार लिटर कटौती गरिएको छ ।

सीमावर्ती क्षेत्रका पम्पले ड्राममा हालेर सिमाना पारि पेट्रोलियम पदार्थ पुर्‍याउने गरेको आशंकामा त्यस्ता पम्पले पाउने गरेको दैनिक १२ हजार लिटर डिजेललाई ८ हजार लिटरमा झारे पनि तस्करी रोकिएको छैन । ट्याङकर चालकले ट्याङकर नै भारतमा बिक्री गर्न थालेपछि पम्पलाई मात्र नियन्त्रण गरेर तस्करी नियन्त्रण गर्न मुस्किल भएको निगम स्रोतको भनाइ छ ।

प्रकाशित : वैशाख ४, २०७५ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?