कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

वृद्धवृद्धाको स्वास्थ्य परीक्षण घरमै

विनोद भण्डारी

विराटनगर — पथरी शनिश्चरे नगरपालिका १ की ८६ वर्षीया फूलमाया राई आफनो स्वास्थ्य परीक्षण घरमै हुँदा शनिबार निकै प्रसन्न देखिन्थिन् । नगरपालिकाले खटाएका स्वास्थ्यकर्मी घरैमा पुगेर सुरुमा उनको ब्लड प्रेसर परीक्षण गरे ।

वृद्धवृद्धाको स्वास्थ्य परीक्षण घरमै

त्यसपछि उनको श्वासप्रश्वासको अवस्था बुझेर कानको सफाइ हेरे । राईको शरीरको अक्सिजन सप्लाइको अवस्था बुझेर स्वास्थ्यकर्मीले उनको तौल पनि नापे ।

पथरी २ का ९० वर्षीय ईश्वरमान राई पनि घरमै आफनो स्वास्थ्य परीक्षण हुँदा अचम्मित भए । उनलाई पनि नगरपालिकाले खटाएका स्वास्थ्यकर्मीले फूलमायाकै जस्तो स्वास्थ्य परीक्षण गरे । सास फेर्न सामान्य समस्या भोग्दै आएका ईश्वरमानलाई स्वास्थ्यकर्मीले नेवुलाइजेशन पनि लगाइदिए । नगरपालिकाका स्वास्थ्य संयोजक मुरारी आचार्यको टोलीले घर घरमा गएर स्वास्थ्य परीक्षण गरेको थियो ।

फूलमाया र ईश्वरमान मात्र होइन । पथरी शनिश्चरे नगरपालिका क्षेत्रमा बसोबास गर्ने ८० वर्ष नाघेका सबै बूढापाकाको स्वास्थ्य परीक्षण अब उनीहरूको घरैमा हुने छ । नगरपालिकाले नयाँ वर्षका अवसरमा ८० पुगेका नगरका सबै बूढापाकाको स्वास्थ्य परीक्षण उनीहरूकै घरमा गर्ने अभियान सुरु गरेको छ । नगर प्रमुख दिलिपकुमार राईले ‘ज्येष्ठ नागरिकको स्वास्थ्यसग नगरपालिका’ कार्यक्रमको उद्घाटन गर्दै पथरी नगरभित्र रहेका चार वटा स्वास्थ्य चौकीका स्वास्थ्कर्मीले घरघरमा गएर स्वास्थ्य चेकजाँच गरेर नि:शुल्क औषधि प्रदान गर्ने बताए । यो अभियानले आफनो कार्यकाल सम्म निरन्तरता पाउने उल्लेख गर्दै राईले भने वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता पनि घरैमा पुर्‍याउने तयारी पनि नगरपालिकाले गरिरहेको छ ।

नगरमा ८० वर्ष नाघेका ९ सय २७ ज्येष्ठ नागरिक छन् । स्वास्थ्यकर्मी उनीहरूको घरैमा पुगेर स्वास्थ्य परीक्षण गरी प्राथमिक उपचार पनि गर्ने छन् । नगरका स्वास्थ्य संयोजक आचार्यले भने ती ज्येष्ठ नागरिकलाई नगरमा रहेका चारवटा स्वास्थ्य संस्थाले हरेक महिना एक सातासम्म उनीहरूको घरघरमा पुगेर स्वास्थ्य परीक्षण गरी नि:शुल्क औषधि वितरण गर्नेछन् । त्यसका लागि नगरपालिकाले तत्कालका लागि २ लाख मूल्य बराबरका स्वास्थ्य उपकरण खरिद गरेको छ ।

त्यसैगरी नगरपालिकाले नगरमा रहेका ७० वर्षमाथिका नागरिकलाई वर्षमा एकपटक प्रदेश १ का कुनै पनि ठूला अस्पतालमा गएर उपचार गर्नुपरे नगरपालिकाले एकपटक जान र आउनका लागि नि:शुल्क एम्बुलेन्सको व्यवस्था गर्ने निर्णय गरेको आचार्यले बताए ।

प्रकाशित : वैशाख ४, २०७५ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?