कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पद्‌मासनमा वृद्धको पौडी

वेदराज पौडेल

इटहरी — विश्व किर्तिमान राख्नका लागि सुनसरीको इटहरीका ८१ वर्षका रामचन्द्र अधिकारीले मंगलबार २५ मिटरलामो पौडी पोखरीमा पलेटी कसेर (पद्मासनमा) उल्टो पौडी खेल्दै तीन मनेटमा पार गरेका छन् ।

पद्‌मासनमा वृद्धको पौडी

धेरै मानिस पानीमा पौडन जान्दैनन् । उनीहरूका लागि पोखरीमा पौडनुने ठूलो जोखिम हुन्छ । तर अधिकारीले ८१ वर्षको उमेरमा पद्मासनमा बसेर पौडेर २५ मिटर लामो पौडी पोखरी पार गरि सबैलाई चकित बनाए ।

इटहरीमा रहेको ओसियन पार्कको पौडी पोखरीमा अधिकारीले ८१ वर्ष पुगेको अवसरमा पद्मासन कसेर पौडी खेलेका हुन् । जन्म दिनको दिन उनले पौडीको कलाबाजी प्रस्तुत गरेको यो तेस्रो पटक हो । उनले भने, ‘सके भने अर्को वर्ष पनि पौडिन्छु ।’ गर्मी बढदै जाँदा दिउँसो भीड हुने पार्कमा मंगलबार भने बिहानै अधिकारीले पौडी खेलेको हेर्नेहरूको भीड थियो । अधिकारी स्वीमिङ पुलको डिलमा बसे, पद्मासन कसे । पानीमा ब्याक जम्प गरे । उनले पछाडिबाटै स्ट्रोक लगाए अनि हेर्दा हेर्दै ८० फिट लामो स्वीमिङ पुल तरे । पुल तरेपछि किनाराबाट उनलाई हेरिरहेका सबैले ताली बजाए ।

पद्मासन कसेर पौडी खेल्दा खुट्टा चलायमान हुँदैनन् । शरीरको भचार हातले नै थेग्नु पर्छ र हातैको चालले अघि बढ्नुपर्छ ।उनले फेरि अर्को छलाङ मारे र अर्को किनारा पुगे । त्यहाबाट फेरि ब्रेस्ट स्ट्रोक लगाएर १५ मिटर चौडा पुल वारपार गरे । पौडी खेलिसक्दा उनको सास निकै बढेको थियो । केही छिनको विश्रामपछि पत्रकारहरूसँग कुरा गर्दै उनले स्वास्थ्यका लागि आफूले नियमित पौडी खेल्ने गरेको बताए । ‘खेलप्रति युवालाई प्रोत्साहित गर्न जन्म दिनमा पौडी खेल्छु ।’ उनले भने, ‘पहिला उमेरमा त सप्तकोसी लगायतका ठूलाठूला नदीहरू केही सेकेन्डमै पार गर्ने गर्थे ।’

ओसन पार्कका सञ्चालक डम्बर तामाङले अधिकारीको सहासबाट युवाहरूलाई जोस जाँगर मिलेको बताए । आफ्नो व्यवसाय नै स्वीमिङ पुल र पौडीसँग सम्बन्धित भएकाले पौडीमा रुचि राख्ने अग्रज व्यक्तिहरूले आफ्नो स्वीमिङ पुलमा पौडदा खुसी लागेको बताए ।पूर्वमन्त्री कुमार सुब्बाले आफू पनि पौडीको राष्ट्रिय प्रतियोगितामा भाग लिएको मान्छे भएको र पौडी खेल्न निकै गाह्रो हुने बताए । उनले भने, ‘यो उमेरमा उहाँले त्यो पनि पद्मासनमा पौडी खेलेर सबै युवाहरूलाई उदाहरण दिनुभएको छ ।’

भोजुपरमा जन्मिएका अधिकारी अहिले इटहरीमा बस्छन् । पौडीको संयोजन कस्तुरी कलेजले गरेको थियो । सामाजिक क्षेत्रमा विभिन्न संघसंस्थाहरूलाई सहयोग गरेर नाम कमाएका अधिकारीले पौडी खेलिरहँदा उनको परिवार, स्थानिय बुद्धिजीवी तथा शिक्षकहरूको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित : वैशाख ५, २०७५ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?