३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

विपक्षीले उठाए सुरक्षा प्रश्न

लीलावल्लभ घिमिरे

विराटनगर — प्रमुख विपक्षी कांग्रेसले सरकारले शान्ति सुरक्षा कायम गर्न नसेको भन्दै प्रदेश सभामा प्रश्न उठाएका छन् । प्रदेश सभा बैठकको विशेष समयमा बोल्दै विपक्षी दलका सदस्यहरूले शान्ति सुरक्षा लथालिङ्ग भन्दै आन्तरिक मामिला तथा कानुनमन्त्रीको जवाफ मागेका छन् ।

विपक्षीले उठाए सुरक्षा प्रश्न

कांग्रेस संसदीय दलका सचेतक केदार कार्कीले प्रदेश सभा बैठक हल र सदस्यहरू समेत असुरक्षित रहेको भन्दै मन्त्रीलाई तत्काल जवाफ दिन आग्रह गरे । संघीय समाजवादी फोरम संसदीय दलका नेता जयराम यादवले पनि विषेश समय लिएर सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए । शून्य समयमा बोल्ने सदस्यले पनि जनताले सुरक्षित महसुस गर्न नसकेको भन्दै आपत्ति जनाएका थिए ।

विषेश समयमा बोल्दै सचेतक कार्कीले सरकार गठन भएपछि हत्याहिंसाका घटना बढेको, गुडागर्दी बढेको, औद्योगिक क्षेत्रमा चन्दा आतंक रहेको भन्दै सरकारलाई गम्भीर हुन आग्रह गरे । विराटनगरमा चैत्र २५ गते विराटनगरको जतुवामा हिन्दु धर्म गुरु आर्चाय श्रीनिवासलाई गोली हानिएको घटनाप्रति सरकार गम्भीर नभएको, अहिले सम्म अपराधि पक्राउ नपरेको, भारतीय राजदूतावासको विराटनगरस्थित सम्पर्क कार्यालयलाई लक्षित गरी सोमबार राति बम बिस्फोट भएको भन्दै मन्त्रीसँग जवाफ मागेका थिए । कार्कीले जिल्ला समन्वय समिति र प्रदेश बैठक एउटै भवनमा हुँदा सुरक्षा खतरा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले समन्वय समितिको कार्यालय अन्यत्र व्यवस्था गर्न माग गरे ।

यादवले आपराधिक गटना बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै सरकारलाई गम्भीर हुन आग्रह गरे । एकपछि अर्को घटना भइरहेका तर सरकारले केही नगरे जस्तो देखिएको उनको भनाइ थियो । उदपयुरका सदस्य विमल कार्कीले जिल्लास्थित प्रहरी प्रमुखको ज्यादती बढेको भन्दै सदनको ध्यानाकर्षण गराए । उनले प्रहरीले निर्दोष व्यक्तिलाई पक्राउ गरेर यातना दिएको भन्दै वर्दीधारीको गुण्डागर्दी रोक्न माग गरे । उनले प्रहरी नै मादक पर्दाथ सेवन गरेर ड्युटीमा बस्ने गरेको भन्दै उदयपुरका प्रहरी प्रमुखलाई कारबाहीको माग गरे । मोरङका सदस्य कुलप्रसाद साम्बाले मिक्लाजुङमा माहिलामाथि भएको बलात्कार घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे । उनले सुन तस्करीका भरिया सनम शाक्य हत्याकाण्डको छानबिनलाई घनीभूत बनाउन माग गरे ।

सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले उठेका सरकारले सुरक्षा व्यवस्था मिलाउन कुनै कसर बाँकी नराखेको बताए । ‘धर्म गुरु श्रीनिवासाचार्य आक्रमणमा संलग्न ५ जना पक्राउ परिसकेका छन्,’ उनले भने, ‘गुरुको उपचार खर्च सरकारले व्यहोर्छ ।’ मन्त्री कार्कीले सीमित प्रहरी र अपुरो स्रोत र साधनका कारण सुरक्षा चुनौती रहेको भन्दै प्रदेश सरकार जनताको जिउधनको सुरक्षामा सधैं संवेदनशील रहने बताए ।

मंगलबारको बैठकको बून्य समयमा बोल्ने अन्य सदस्यले भने आफ्नो क्षेत्रका विकासका मुद्दा र समस्यालाई बढी प्राथमिकता दिएका छन् । सदस्य विजयकुमार विश्वासले मोरङको बेलाबारी–३ मा सुनसरी–मोरङ सिँचाइ आयोजनाको पुल भत्किँदा त्यस क्षेत्रका किसान प्रभावित बनेको भन्दै सरकारको ध्यानाकर्षण गराए । सदस्य पदमकुमार गुरुङले गुठीका जग्गालाई रेकर बनाएर किसानलाई वितरण गर्नुपर्ने माग गर्दै संखुवासभाको मुढेशनिश्चरे बजार क्षेत्रको ऐलानी र नम्बरीको समस्या समाधान गर्नुपर्ने बताइन् ।

यसैगरी सदस्य सर्वध्वज साँवाले इटहरीमा प्रशस्तै भौतिक पूर्वाधार तथा सरकारी सम्पत्ति र जग्गा भएकाले त्यसको समुचित प्रयोग गर्नुपर्ने बताए । उनले प्रदेशसभा बैठक इटहरी लैजान माग गरे । सदस्य श्रीप्रसाद मैनालीले कटारी–घुर्मी सडक तत्काल पूरा गर्नुपर्ने, ताप्लेजुङ केवलकार निर्माण भए पर्यटक पढाउन सकिने बताए । मोरङका सदस्य चुमनारायण तवदारले धरान विराटनगर मार्गको विकल्पका रूपमा ग्रामीण क्षेत्रका सडकहरूलाई निर्माण तथा कालोपत्रे गर्नुपर्ने बताए । उनले पुष्पलाल चौक–गछिया सडक विकल्प हुन सक्ने बताए । अर्की सदस्य विनदेवी राईले धनकुटालाई राजधानी बनाइनुपर्ने माग गरिन् । धनकुटामा पर्याप्त पूर्वाधार रहेकोले राजधानी उपयुक्त हुने उनको दाबी थियो । बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले विनियोजन विधेयक टेबुल गरे । यसअघि बजेटमाथि सत्तापक्षीय र विपक्षी दलका सांसदले टिप्पणी गरेका थिए ।

प्रकाशित : वैशाख ५, २०७५ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?