बजेट रोकिएपछि योजना अलपत्र

सुनसरी — अनियमितता विवादमा तानिएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति प्राडा राजकुमार रौनियारले उपचार गर्न आउने बिरामीका लागि हालको भौतिक संरचना साँघुरो र मेडिकल उपकरण अभाव भएको बताएका छन् ।

बजेट रोकिएपछि योजना अलपत्र

उनले दक्ष जनशक्तिको अभाव नभए पनि प्रतिष्ठानमा पछिल्लो समय दैनिक ३ हजार पाँच सय जना बिरामी आउन थालेकाले अढाइ दशकअघिको भौतिक संरचना, मेडिकल उपकरणका भरमा बिरामीको गुणस्तरीय उपचार सेवा प्रभावित भएको बताए । उनले भने, ‘बिरामीको अत्यधिक चाप थेग्न नसकेपछि थप विस्तार गर्न स्वास्थ्य मन्त्रालयमार्फत मागेको बजेट अर्थ मन्त्रालयले रोकेको छ ।

४ अर्ब ५९ करोड ९८ लाख रुपैयाँको स्वास्थ्यसम्बन्धी विभिन्न प्रोजेक्ट अलपत्र हुन पुगेका छन् । अर्थले बजेट निकासा किन रोकेको हो त्यसको जवाफ प्रतिष्ठानलाई दिएको छैन ।’ प्रतिष्ठानले जिरो रिफरल टर्सरी केयर युनिभर्सिटीका रूपमा विकास गर्ने भन्दै गुरुयोजनासहित गरेको प्रस्तावअनुसार ०७४ असोज २४ गते स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अन्तर्राष्ट्रिय सहयोग महाशाखाले प्रतिष्ठानको भौतिक पूर्वाधार निर्माणका लागि उक्त रकम माग गरेको थियो ।

अढाइ दशकअघि ३ सय ५० शय्याको अवधारणामा प्रतिष्ठानमा भौतिक संरचना, मेडिकल उपकरण विस्तार गरेयता हाल ७ सय ५० शय्या पुगेको छ । तर चाप थेग्न नसकेपछि आगामी पाँच वर्षभित्र १५ सय शय्याको अनुपातमा सबै युनिट विस्तार गर्ने गुरुयोजनाअनुसार स्वास्थ्य मन्त्रालयमार्फत बजेट माग गरेको तर अनेक विवाद निकालेर प्रतिष्ठानको अस्तित्व संकटमा पारेको उपकुलपति रौनियारले बताए ।

प्रतिष्ठानले २ सय शय्याको ह्दयरोग उपचार केन्द्र, क्यान्सर उपचार केन्द्र, स्त्री प्रसूति तथा शिशु स्वास्थ्य उपचार केन्द्र, थप ५० शय्याको आकस्मिक कक्ष विस्तार, थप ५० शय्याको आईसीसीयू युनिट, २० शय्याको डाइलाइसिस युनि, पोस्ट ग्राजुएट होस्टल, प्रसासनिक भवन निर्माण र आवश्यक आधुनिक मेडिकल उपकरण खरिदलगायतका लागि १ अर्ब २१ करोड २१ लाख रुपैयाँको माग गरेको थियो ।

प्रकाशित : वैशाख ८, २०७५ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?