१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

कालोपत्रे सडक बन्यो हिलाम्य

संखुवासभा — तामाफोकको मुढेबाट टुटेदेउराली बीचको ४ किलोमिटर सडक खण्ड पार गर्न नेपाल विद्युत् प्राधिकरणका प्रमुख ध्रुव अधिकारीलाई ६ घण्टा लाग्यो । ५ वर्षअघि कालोपत्रे गरिएको सडक अहिले हिलाम्मे भएको छ । वर्षाअघि नै सडक काम नलाग्ने भएको हो ।

कालोपत्रे सडक बन्यो हिलाम्य

ठूला बस, टक र टयाक्टर हिलोमा भासिएपछि निकाल्न कम्तीमा ४ घण्टाभन्दा बढी लाग्ने गरेको उनले बताए । १० मिनेटको सडक पार गर्न ५ घण्टा कुर्नु परेको उनले बताए । वर्षाअघि नै सामान्य परेको पानीले सडकमा ४ फिटसम्म हिलो र खाडल भएको उनले बताए । सडक मर्मत गरिरहेको पनि देख्यौं तर एकछिन पानी परिहाले ६ घण्टासम्म यातायात चल्दैन, उनले भने, यात्रा गर्न एकदमै कठिन छ ।

जंगलको बीचमा गाडी फस्ने र निकाल्न समय लाग्ने भएकाले बालबच्चा र वृद्धवृद्धालाई भने समस्या भइरहेको उनले बताए । सामान्य पानी पर्दा पनि बस, ट्रक र साना गाडी भासिन्छन्, उनले भने, सबै यात्रु बाहिर निस्केर गाडी ठेलेर निकाल्नुपर्छ । ठूल्ठूला खाडल अहिले नै बनिसकेको उनले बताए । वर्षा लागेपछि झनै समस्या हुने भयो, उनले भने, ‘यस्तै हो भने यो वर्षामा अघिल्लो वर्षभन्दा बढी दु:ख पाइने भइयो ।’गत वर्ष झन्डै ५ महिना यो सडकमा यात्रा गर्नेले कष्ट भोग्नु परेको उनले बताए । यो सडकमा तुम्लिङटार सडक डिभिजन कार्यालयले वार्षिक करोडांै रकम खर्च गरे पनि समस्या भने उस्तै हुने गरेको मुढेका देवराज सुवेदीले गुनासो गरे । सडकले हरेक वर्ष करोडांै रकम खर्च गरेझंै गर्छ तर कहिले पनि सहज यात्रा गर्न पाएनांै, उनले भने, ‘झारा टार्ने तरिकाले सडकले काम लगाउँछ, त्यही भएर समस्या भएको हो ।’ उनले ठेकेदारलाई कडा नगर्दा यो समस्या वर्षपिच्छे हुने गरेको बताए । ठेक्काको काम सकिएको भोलि पल्टदेखि नै सडकको कालोपत्रे उक्किने र हिलो हुने उनले बताए ।

यो सडक ५ वर्षअघि कालोपत्रे गरिएको थियो । पटकपटक मर्मतसम्भार गरे पनि झारा टार्ने काम मात्रै भएको उनले आरोप लगाए । ५ वर्षअघि सडक कालोपत्रे हुँदा खुसी थियौं, अहिले गाडी चढ्न पाएका छैनौं, सबैतिर हिलैहिलो छ, उनले भने, ‘धर्मदेवी नगरपालिकाको यो खण्डमा यात्रा गर्न समय लाग्छ भनेको बेला गन्तव्यमा पुग्न सक्दैनांै ।’ सडक राम्रो हुँदा मुढे टुटेदेउरालीको यात्रा २० मिनेट हो, उनले भने, ‘अहिले ठाउँठाउँमा उत्रिनुपर्छ, त्यतिमात्र नभएर गाडी ठेल्नु पनि परेको छ ।’ हरेक वर्ष सडकको स्तरोन्नति भए पनि सडकमा गरिएको कालोपत्रे असिना र पानीले बगाउँछ, उनले भने, ‘त्यसपछि सडक पुरानै अवस्थामा फर्किन्छ ।’

यो सडक खण्डमा ५ फुट गहिरो हिलोमा गाडी भासिएपछि प्रहरीसँग सहकार्य गरेर बस व्यवसायीहरू झम्पल, कोदालो र फरुवाको सहायताले यात्रीहरूको सहयोग लिने गर्छन् । सुनसरीको धरानबाट १ सय ४२ किमि सडकमध्ये ६० किलोमिटर सडकको ठाउँठाउँमा ठूल्ठूला खाल्डा परेकाले दैनिक उपभोग्य सामान दुवानी गर्न पनि समस्या हुँदै आएको उद्योग वाणिज्य संघका अध्यक्ष युवराज शाक्यले बताए । कोसी राजमार्गअन्तर्गत धनकुटाको सिंधुवा, तेह्रथुमको बसन्तपुर हुँदै चैनपुर जोड्ने कालोपत्रे सडक सडक डिभिजनले मर्मत गरे पनि झारा टार्ने मात्र काम भएको उनको भनाइ छ । सहज ढंगले सामान ढुवानी गर्न सकिरहेका छैनौं, उनले भने, ‘हिलोका कारण पटकपटक मालवाहक गाडी पल्टिएको छ ।’ चैनपुरवाट टुटेदेउरालीसम्म मात्रै पनि दर्जनाैं स्थानमा सडकको कालोपत्रे उक्किएको छ । तुम्लिङटार सडक डिभिजन कार्यालयले भने भत्केको स्थानमा पुन कालोपत्रे गरिरहेको जनाएको छ । उसले कालोपत्रे भत्केर बिग्रिएको ठाउँठाउँमा ग्राबेल गर्ने, ग्याबिन भर्ने, भत्केका नाली निर्माण गर्ने काम गरेको बतायो ।

प्रकाशित : वैशाख ८, २०७५ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?