पैसा नदिँदा कुटपिट

मोरङ — इलाका प्रहरी कार्यालय फडानी, विराटनगर १८ का प्रहरी सहायक निरीक्षक ललन यादवले होली र नयाँ वर्ष मनाउन माग गरेको ३० हजार नदिँदा कुटपिट गरेको ‘दलित’ परिवारले आरोप लगाएको छ ।

पैसा नदिँदा कुटपिट

स्थानीय रामप्रसाद ऋषिदेवले आफू र आफ्ना छोरा अनिलसँग यादवले होली र नयाँ वर्षमा पटकपटक ३० हजार मागेको आरोप लगाए । ‘माग गरेको रकम नदिँदा वैशाख २ गते बिनाकसुरमा यादवलगायतका प्रहरीले सपरिवारलाई निर्घात कुटपिट गरे,’ उनले भने, ‘खेतमा काम गर्ने क्रममा छिमेकी छटु बंगालीसँग जग्गाको सीमाको विषयमा सामान्य विवाद हुँदा प्रहरी आएर कुटपिट गरे ।’ सइ यादवले कुटपिट गर्दै समातेर इलाका प्रहरीभित्र लगेर थुनेको ३० हजार रुपैयाँ दिने सर्तमा २ घण्टापछि आयन्दा विवाद नगर्ने भन्दै कागज गराएर छाडेको ऋषिदेवले बताए । प्रहरीले छुटाउन गएकी आफ्नी पत्नी, छोरी, छोराहरू र ज्वाइँलाई निर्घात कुटपिट गर्दै दुई छोरा र आफूलाई समातेको उनी भन्छन् । यादव र प्रहरी जवान दिनेश यादवले मुसहर भन्दै अभद्र गालीगलौजसमेत गरेको उनले गुनासो पोखे ।

‘सइ यादवले रकम लिन स्थानीय पंकज यादवलाई पठाएको र पटकपटक फोन गर्न लगाइरहेको छ र पंकजले फोन गरेको मोबाइलमा रेकर्ड पनि छ,’ उनले भने, ‘आफूले यादवलाई नै रकम दिन खोज्दा आफ्नो हातबाट लिन मानेनन् ।’ फोन रेकर्डमा पंकजले ऋषिदेवका छोरा अनिललाई फोन गरेर ललन सइ साहेबले भनेको ३० हजार रकम तत्काल दिनुपर्ने भनेको सुनिन्छ । पंकजले अनिलसँग सइ यादवका लागि रकम मागेको स्विकारे ।

प्रकाशित : वैशाख ८, २०७५ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?