२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

घाँसबाटै मालामाल

चन्द्र कार्की

तेह्रथुम — इच्छा शक्ति भए थोरै सहयोग र लगानीबाट पनि मनग्य आमदानी गर्न सकिन्छ भन्ने उदाहरण लालीगुराँस नगरपालिका ९ काँडे सोल्माका ३१ वर्षीय दिलकुमार लिम्बूले देखाइदिएका छन् ।

घाँसबाटै मालामाल

घाँस खेती सुरु गरेको दुई वर्षमै लिम्बूले १८ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेर छरछिमेक र गाउँलेलाई चकित बनाइदिएका छन् । उनले १६ रोपनी क्षेत्रफल जमिनमा उन्नत जातको भुइँघाँस खेती गरेका थिए । एसएलसीको पढाइ सकाएपछि सँगैका दौतरी लाहुर जाने तयारीमा लागे । लाहुर जान नसक्नेहरू खाडी मुलुकै नै भए पनि गए । गाउँमा उनी एक्ला भए । उनका दाजु पनि सिंहापुर लाहुरमा भर्ती भए । परिवारको जिम्मा उनकै काँधमा आइलाग्यो । परिवारको रेखदेख गर्दै लिम्बूले १२ कक्षासम्म अध्ययन गरे । उनको परिवार मध्यम खालको थियो ।

खान लगाउन त्यति दु:ख थिएन । पहाडमा जग्गाजमिन पर्याप्त नै थियो । सुनसरीको इटहरीमा घर थियो । सुखको खोजीमा उनको परिवार यहाँको घर र जग्गाजमिन त्यसै छोडेर इटहरीतर्फ नै लाग्यो । उनी पनि लामो समय उतै रमाए । फुर्सदको समयमा उनी फुटबल खेल्थे । फुटबल प्रतियोगिताका लागि उनी पूर्वका विभिन्न जिल्लासम्म पुग्थे । लिम्बू जातिको ढोल नाचका प्रशिक्षकसमेत हुन् उनी । ढोल नाच सिकाउन उनी भारतको सिक्किम र मेघालयसम्म पुगे । ढोल नाच्नका लागि पूर्वका पहाड र तराईका लिम्बू बाहुल्य बस्ती सबै चाहारेका छन् । सपरिवार तराईको सुखसयलमा रमाउँदै गर्दा लिम्बू भने बावुबाजेले छोडेपछि बाँझिएको जमिन स्याहार्न पुन: गाउँ फर्किए । गाउँ फर्किएपछि ‘याङहिङबाङ गाईफार्म’ सञ्चालनमा ल्याए । गाईपालन गरी दूध बिक्री गर्ने सोचाइले सुरुमा ५ माउ गाई खरिद गरी फार्म सुरु गरेका लिम्बूले गाईपालनबाट सोचेजस्तो फाइदा लिन सकेनन् ।

घरमा भएका दुई माउ गाई समेत गरेर सात माउ गाईबाट फार्म सुरु गरेका लिम्बूलाई फाइदाभन्दा नोक्सान बढी भयो । ‘गाई पालनबारे सही तरिका नजान्दा सुरुमै धेरै नोक्सान भयो,’ लिम्बूले भने । गाईमा गरिएको ४ लाख रुपैयाँ लगानीले खासै फाइदा नभएको उनले बताए । वारिपारि गाउँका किसानले पालेका गाईले राम्रो फाइदा दिँदै गर्दा लिम्बूले भने नोक्सान व्यहोरिरहेका थिए । तर लिम्बूले हरेस भने खाएनन् । फार्ममा उनको लगानी बढेर अहिले २० लाख रुपैयाँ बढी पुगेको छ । पोषणयुक्त घाँस र दाना नपुग्दा गाई दुब्लाएर फाइदा दिन नसकेको उनले उन्नति समावेशी वृद्धि कार्यक्रमका कृषि व्यवसाय विज्ञ रमेश भण्डारीबाट थाहा पाए । डेनिस सरकारको सहयोगमा सञ्चालित यो कार्यक्रममार्फत भण्डारीले लिम्बूलाई उन्नत जातको घाँसको बीउ दिएर सघाउने वचन दिए । उन्नति समावेशी वृद्धि कार्यक्रममार्फत १२ हजार ५ सय रुपैयाँको उन्नत जातको भुइँ घाँसको बीउ र बिरुवा सहयोग पाएका लिम्बूले घाँस खेती फैल्याएर लोभलाग्दो बनाएका छन् ।

उन्नति समावेशी वृद्धि कार्यक्रममार्फत नि:शुल्क पाएको घाँसको बीउ र बिरुवा फैलाएका लिम्बूले गत वर्ष १० लाख रुपैयाँ बराबरको बिक्री गरे ।यो वर्ष पनि किसानलाई वितरण गर्न उन्नतिले नै लिम्बूसँग ८ लाख बराबरको घाँसको बीउ र बिरुवा खरिद गरिसकेको छ । बारीबाट लैजान भने बाँकी छ । उन्नतिले लिम्बूसँग खरिद गरेको घाँसको बीउ र बिरुवा उनीजस्तै अन्य किसानलाई लगेर वितरण गर्छ । यो वर्ष २० लाख बराबरको घाँसको बीउ र बिरुवा बिक्री गर्ने लक्ष्यका साथ लिम्बूले घाँस रोपणको क्षेत्रफल समेत बढाएका छन् । बाँकी रहेको २४ रोपनी जमिनमा समेत घाँस खेती नै गर्ने तयारी गरिरहेको उनले बताए ।

अन्न फल्ने खेतबारी मासेर पशुलाई खुवाउने घाँस रोप्दा लिम्बूलाई छरछिमेक र गाउँलेले बहुलायोसमेत भने । ‘मलाई धेरैले सुरुमा तराई गएर बहुलाएर आएछ पनि भने,’ बारीमा रोपेको घाँस गाईलाई खुवाउन काटदै गरेका लिम्बूले भने, ‘अहिले मैले गरेको आमदानी देखेर सबै छक्क पर्छन् ।’ लिम्बूलाई उन्नत जातका घाँस खेती र गाईपालनबारे देखाउन उन्नतिले तनहुँ, चितवन, गोर्खा र कास्कीसम्म पुर्‍यायो । भ्रमणका क्रममा त्यहाँका किसानले घाँस खेती र पशुपालनबाट राम्रो आम्दानी गरेको उनले देखे । भ्रमणले आफूलाई धेरै फाइदा पुर्‍याएको लिम्बूको भनाइ छ । ५ वर्षअघि भ्रमणमा जान पाएको भए अझै धेरै गर्न सकिने रहेछ भन्ने उनमा हिम्मत पलाएको छ ।घाँस खेतीले छोटै समयमा राम्रै आम्दानी दिएपछि लिम्बूले गाईको फार्म पनि बढाएका छन् । उन्नत जातका गाईपालनका लागि यो वर्ष मात्र गोठ सुधारमा मात्र ८ लाख ५० हजार रुपैयाँ लगानी गरेका छन् । फार्मसम्म गाडी ल्याउन आफ्नै खर्चमा सडक खनाएका छन् ।

प्रकाशित : वैशाख ८, २०७५ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?