१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

विपन्न छात्रालाई साइकल वितरण

दमक — झापाको दमक १० की दुर्गा कार्की (खडका) को अढाई वर्षकी छोरी छिन् । विवाह भए पनि उनले पढाइलाई रोकेकी छैनन् । घरधन्धा र छोरीको हेरचाहपछि समयमै क्याम्पस आउन भने उनलाई जहिल्यै हतारो हुन्थ्यो । तर, शुक्रबारदेखि समयमै क्याम्पस आउने उनको हतारो आधा कम भएको छ ।

विपन्न छात्रालाई साइकल वितरण

दमक बहुमुखी क्याम्पसमा एमबीएस अध्ययनरत कार्कीले नगरपालिकाबाट साइकल सहयोग पाएपछि ठूलो राहत महसुस गरेकी छन् । दमक नगरपालिकाले जेहेन्दार, सीमान्तकृत तथा विपन्न वर्गका छात्रालाई उच्च शिक्षा अध्ययनमा सहयोग पुर्‍याउने कार्यक्रमअन्तर्गत साइकल वितरण गरेको छ ।

गत असारमा सम्पन्न स्थानीय तहको चुनावमा प्रतिबद्धता व्यक्त गरेअनुसार नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले छात्रालाई नि:शुल्क साइकल वितरण गरेकी हुन् । उनले चुनावी प्रतिबद्धता अनुसार नगरका १० वटै वडाका एक सय छात्रालाई साइकल वितरण गरेकी हुन् ।व्यक्तिगत साधन नहुँदा दैनिक बस तथा सार्वजनिक सवारीमा भाडा तिरेर क्याम्पस पढ्न आउने छात्रालाई साइकल वितरण गरेको उपप्रमुख अधिकारीले बताइन । ‘नगरका छात्राहरू सवारी साधनकै अभावमा उच्च शिक्षा अध्ययनबाट वञ्चित नबनुन’ अधिकारीले भनिन, ‘त्यसैले मैले साइकल वितरण गर्छु भनेर चुनावकै बेला घोषणा गरेको थिए । मलाई त्यो स्थानमा पुर्‍याएकाले अहिले छात्रालाई नि:शुल्क साइकल वितरण गरेकी हुँ ।’

उनले थपिन, ‘साइकल पाएपछि विशेषगरी सीमान्तकृत, विपन्न वर्ग र जेहेन्दार विद्यार्थीको हौसला बढ्नेमा हामी विश्वस्त छौं ।’ नगरपालिकाले दुई चरणमा गरी सयवटा साइकल वितरण गरेको हो । अन्तर्राष्ट्रिय नारी दिवसका दिन १० थान तथा शुक्रबार बाँकी गरेर सय थान साइकल वितरण गरेको अधिकारीले बताइन ।

वडा १ का ७, २ का ९, ३ का १५, ४ का ७, ५ का ६, ६ का ५, ७ का ११, ८ का ७, ९ का ११ र १० नम्बर वडाका २१ जना छात्राले साइकल पाएको नगरपालिकाले जनाएको छ । साइकल पाएपछि आर्थिक अवस्था कमजोर भएका परिवारका विद्यार्थी सबैभन्दा बढी लाभान्वित भएको स्रोत व्यक्ति गणेश पौडेलले बताए । उनले भने, ‘विपन्न परिवारका छात्राले दैनिक भाडा तिरेर पढ्न आउन कठिन हुन्छ ।

सार्वजनिक सवारीसाधनमा ओहोरदोहोर गर्दा पढाइ नियमित हुने सम्भावना पनि निकै कम हुन्छ । त्यस्ता समस्या झेलेका विद्यार्थीलाई साइकल वितरण कार्यक्रम अति लाभदायी बनेको छ ।’ उनले साइकल पाएपछि नगरका टाढाका विद्यार्थीको पढाइ नियमित हुने र विपन्न परिवारका छात्राले पनि आफ्नो पढाइलाई निरन्तरता दिन सक्ने बताए । उनले साइकल वितरण प्रत्येक वडा समितिको सिफारिसमा भएकाले लक्षित वर्ग लाभान्वित भएको दाबी गरे ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले अति विपन्न वर्गका छात्रालाई पनि शिक्षाको पहुँचमा ल्याउन साइकल वितरण कार्यक्रम प्रभावकारी बन्नेमा आफू विश्वस्त रहेको बताए । साइकल पाएपछि नगरका छात्राहरू खुसी बनेका छन् ।उच्च शिक्षा अध्ययनमा साइकल वितरण गरेर नगरपालिकाले आफूहरूलाई ऋणी बनाएको दमक क्याम्पसमा बीबीएस दोस्रो बर्षमा अध्ययनरत सोनु बुढाथोकीले बताइन् ।

प्रकाशित : वैशाख ९, २०७५ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?