१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

दमक गोल्डकपको तयारी धमाधम

उपाधि विजेतालाई १३ लाख ५१ हजार
अर्जुन राजवंशी

दमक — वैशाख १९ देखि २८ गतेसम्म हुने प्रथम ‘दमक गोल्डकप’ को तयारी तीव्र पारिएको छ । दमक नगरपालिकाको आयोजनामा हुन लागेको गोल्डकपको लागि खेल मैदान सम्याउने, प्यारापिट निर्माण, प्रचारप्रसार, विषयगत विज्ञसँगको नियमित छलफललगायतका कामहरूलाई तीव्रता दिइएको छ ।

दमक गोल्डकपको तयारी धमाधम

दमक गोल्डकप मोफसलकै सर्वाधिक पुरस्कार राशिको हुनेछ । नगरपालिकाले गठन गरेको नगर खेलकुद विकास समितिका अध्यक्ष केन्द्र प्रसाईका अनुसार गोल्डकपमा प्रथम पुरस्कार नगद १३ लाख ५१ हजार तथा दोस्रो पुरस्कार नगद ६ लाख रुपैयाँ राखिएको छ । प्रतियोगितामा आयोजक, भारत र भुटानको एकएक तथा ‘ए’ डिभिजन मान्यता प्राप्त ७ गरी १० वटा टोलीको सहभागिता रहने प्रसाईले जानकारी दिए ।

गोल्डकपमा आयोजक, भुटान ११, भारत कोलकत्ताको महोमदन स्पोर्टिङ क्लब, रमपम झापा ११, मनाङ मस्र्याङदी क्लब, रुस्लान थ्रीस्टार क्लब, विभागीय टिमहरू त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ र सरस्वती क्लब सहभागी हुने गोल्डकप आयोजक मूल समिति संयोजक भीमराज चम्लागाईले जानकारी दिए ।

प्रतियोगिताका सबै खेलहरू दमक ९ स्थित दमक बहुमुखी क्याम्पसको खेल मैदानमा हुनेछ । गोल्डकप सम्पन्न गर्न एक करोड ३६ लाख रुपैयाँ संकलन गरिने चम्लागाईले बताए । उक्त रकममध्ये ४२ लाख ५० हजार रुपैयाँ बचत गरेर नगर खेलकुद विकास समितिको बैंक खातामा राख्ने लक्ष्य राखिएको अध्यक्ष प्रसाईले बताए । गोल्डकप सम्पन्न गर्न ९३ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको उनले बताए । गोल्डकपका लागि २० लाख रुपैयाँ नगरपालिकाले उपलब्ध गराउने उनले बताए । बाँकी एक करोड १६ लाख रुपैयाँ भने प्रवेश शुल्क र दाताबाट सहयोग जुटाउने उनले बताए ।

‘अहिले पूरै दमक गोल्डकपको तयारीमा जुटेका छौं,’ मूलसमिति संयोजक चम्लागाईले बताए । उनले दर्शकका लागि बासका प्याराफिट निर्माण गर्ने कार्यलाई तीव्रताका साथ अघि बढाएको बताए । उनले ५ हजार दर्शक क्षमताको प्याराफिट निर्माण गरिने बताए । ‘गोल्डकप सञ्चालनका लागि कानुनी तथा व्यवस्थापकीय काम लगभग सकिएका छन्,’ चम्लागाईले भने, ‘अहिले हामी फिल्डमा गर्नुपर्ने काममा जुटेका छौं ।’ दमक नगर प्रमुख रोमनाथ ओलीले बताए । उनले गोल्डकपले दमक नगरपालिकाको विकास र प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । गोल्डकपको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्ने प्रचार संयोजक चन्द्र खत्रीले बताए । यसका लागि प्रधानमन्त्रीसँग समय लिने काम सम्पन्न भएको उनले बताए ।

दमक गोल्डकपलाई पनि झापा गोल्डकपकै जस्तो भव्य र सफलतापूर्वक सम्पन्न गर्न झापा गोल्डकप आयोजक टिमसँग नियमित सल्लाह लिने कार्य भइरहेको खत्रीले बताए । उनले प्याराफिट निर्माण, खेल मैदान बनाउनसहित प्राविधिक कुराहरूमा झापा गोल्डकपको आयोजक टिमले सहयोग गरिरहेको बताए ।


दमक गोल्डकप चालु सिजनको पाँचौं गोल्डकपका रूपमा आयोजना हुन लागेको हो । यसअघि जिल्लामा चार वटा गोल्डकप सम्पन्न भइसकेका छन् । असोजमा प्रथम दूधे गोल्डकप, कार्तिक–मंसिरमा दोस्रो सताक्षी गोल्डकप, मंसिरमै तेस्रो काँकडभिट्टा गोल्डकप र फागुनमा तेस्रो झापा गोल्डकप सम्पन्न भएका थिए । जसमध्ये दूधे बाहेक सबै सताक्षी, काँकडभिट्टा र झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको थियो ।

प्रकाशित : वैशाख ९, २०७५ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?