दम्पतीले बनाइदिए खानेपानी ट्यांकी

सुनसरी — पूर्व गोर्खा सैनिक आइतबहादुर तुम्बाहाम्फे र उनकी पत्नी हंशरानीले किरातेश्वर माध्यमिक विद्यालयमा फिल्टरसहितको ‘स्मार्ट खानेपानी ट्यांकी’ बनाइदिएका छन् । धरान– १९ एकतामार्ग बस्ने तुम्बाहाम्फे दम्पतीले ५ लाख ४५ हजारको ट्याङकी बनाएका हुन् ।

दम्पतीले बनाइदिए खानेपानी ट्यांकी

शनिबार आयोजित हस्तान्तर कार्यक्रममा तुम्बाहाम्फेले भने, ‘विद्यार्थीका लागि शुद्ध खानेपानीको ट्याङकी निर्माण गरेर हस्तान्तरण गर्न पाउँदा खुशी लागेको छ ।’ उनले निर्माण गरिदिएको खानेपानी ट्याङकी आधुनिक प्रविधिमा आधारित रहेको छ ।

पाइपबाट पहिले तीन हजार लिटरको ट्याङकीमा पानी प्रवेश गरेपछि त्यो पानी अर्को ५ सय लिटरको ट्याङकीमा गएर आधुनिक प्रविधिअनुसार फिल्टर हुदै अर्को ट्याङकीमा पुगेपछि पिउनयोग्य हुन्छ । तुम्बाहाम्फे दम्पतीले विभिन्न विद्यालय र सामाजिक संघसंस्थालाई आफ्नो गच्छेअनुसार आर्थिक सहयोग गर्दै आएका छन् । उनले भने, ‘सम्पत्ति धेरै भएर पानी ट्याङकी बनाइदिएको होइन । लाहुरेसँग कति नै सम्पत्ति हुन्छ र ? तै पनि अरूलाई सहयोग गर्ने इच्छाशक्ति अलिकति भए पनि मसँग रहेकाले सकेसम्म सहयोग गरेको मात्र हो ।’

हजार जना विद्यार्थी भएको विद्यालयमा उक्त ट्याङकीले सबैलाई शुद्ध पानी पिउन पुग्ने प्राध्यानध्यापक योगेन्द्र पालुङाले बताए । उनले विद्यार्थीहरूकालागि विद्यालयले शुद्ध पानी पिउन सकिने आधुनिक फिल्टरसहितको ट्यांकी निर्माण गर्न नसकिरहेको बेला तुम्बाहाम्फे दम्पतीले ठूलो मन बनाएर ट्यांकी बनाइदिएको बताए ।

प्रकाशित : वैशाख ९, २०७५ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?