कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘नमुना गाउँपालिका बनाउँछु’

खाेटाङ — साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन खड्का तत्कालीन माओवादी लडाकु हुन् । उनले पार्टीको विभिन्न मोर्चामा जिम्मेवारी सम्हालिसकेका छन् ।

‘नमुना गाउँपालिका बनाउँछु’

खड्का खोटाङको २ नगरपालिका र ८ गाउँपालिका गरी १० तहमध्ये माओवादीबाट विजयी हुने एक्ला हुन् । गाउँको विकास र उनको योजनाबारे उनीसँग संवाददाता डम्बरसिं राईले गरेको कुराकानी :

लडाकु कमान्डर र जनप्रतिनिधि हुनुमा के फरक रहेछ ?
फरक छ । कमान्डर हुनु भनेको निश्चित गन्तव्यसम्मका लागि हो । त्यसमा फेरि एउटै विचार भएकाहरू यात्रामा हुन्छन् । तर जनप्रतिनिधि हुनु भनेको फरक विचार भएकाहरूसँग पनि हातेमालो गर्नुपर्ने हुन्छ ।

गाउँ समृद्ध बनाउने के योजना छ ?
गाउँपालिकालाई समृद्ध बनाउने योजनाअन्तर्गत पूर्वाधार, विकास, आर्थिक विकास र मानवीय संसाधनको विकासमा जोड दिइएको छ । यसअन्तर्गत तत्काल गरिबी निवारण, वातावरणमैत्री, भ्रष्टाचारमुक्त, सहमागितामूलक विकासका लागि पूर्वाधार निर्माणमा जोड दिइएको छ । साथै आर्थिक विकासको योजना र मानवीय स्रोत परिचालनको हुने खालको गुरुयोजना बनाउने योजना बनाइएको छ । यसले आगामी ५ वर्षभित्रमा अनुभूति हुने खालको परिवर्तन आउनेछ ।

विकासको प्राथमिकीकरण कसरी गर्नुभएको छ ?
पूर्वाधारअन्तर्गत सडक, विद्युत्, सिँचाइ, भवन निर्माण लगायतलाई प्राथमिकीकरण गरी काम थालनी गरिएको छ । उज्यालो साकेला ३ वर्षभित्र घोषणा गर्ने, पालिकाले घोषण गरेका मुख्य सडकलाई ३ वर्षमै स्तरोन्नति गरिसक्ने, चौथो वर्षदेखि कालोपत्रेको थालनी गर्ने, लिंकरोडहरूको स्तरोन्नति थालनी गरिनेछ ।

सडक सबै वडामा पुगे पनि अव्यवस्थित छ, कहिले सुधार हुन्छ ?
सडक सबै वडामा पुगे पनि बाह्रैमास सञ्चालन भएको छैन तर आगामी तीन वर्षभित्र बाह्रैमास सडक सञ्चालनमा आउने गरी स्तरोन्नतिको काम थालनी गरिएको छ । त्यसपछि कालोपत्रे गर्ने योजना बनाइएको छ ।

कृषि क्षेत्रको योजना कस्तो बनाउनुभएको छ ?
कृषिमा ५ वर्षभित्र गाउँपालिकालाई पूरै अर्गानिक पालिका बनाउने उद्देश्यले काम थालनी भएको छ । यसअन्तर्गत यो वर्षदेखि रासायनिक मल आयातमा कटौती सुरु गरिएको छ । गत वर्ष २२ टन रासायनिक मल आयात गरिएकोमा यो वर्ष १५ टन मात्र आयात गर्ने र आगामी दिनमा क्रमश: कटौती गर्दै ५ वर्षभित्रमा रासायनिक मलरहित पालिका बनाउने तयारीमा छौं । गाउँपालिलाई रासायनिकरहित बनाउन प्रांगारिक मल उत्पादनको थालनीसमेत गरिएको छ । ५ वर्षभित्रमा प्रांगारिक मलले गाउँपालिकामा पुग्ने छ ।

त्यसपछि साकेला गाउँपालिका पूर्ण रूपमा अर्गानिक हुनेछ । यसका साथै पकेट क्षेत्र बनाइ एक वडा, एक नमुना कृषि उत्पादन केन्द्र बनाउने नीति पारित गरिएको छ ।

स्वास्थ्य र पर्यटनमा योजना कस्तो छ ?
सबै नागरिकले स्वास्थ्यमा सहज पहुँचका लागि हरेक वडामा स्वास्थ्य चौकीलाई व्यवस्थित गरिनेछ । नेपाल सरकारको नीतिअनुसारको आधुनिक उपकरणसहितको स्तरीय अस्पतालको पहल गरिनेछ । हरेक नागरिकले अकालमा मर्नुपर्ने अवस्था कम गरिनेछ । मध्यपहाडी लोकमार्गलाई आधार मान्दै टेम्के, सेल्मे, मपारुङभीर, साप्सुढाप, तावाताल लगायत क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन गुरुयोजना तयारीको चरण छौं । पर्यटनको माध्यमबाट आर्थिक समृद्धिको बाटो समात्ने लक्ष्य लिइएको छ ।

५ वर्षभित्र गाउँपालिकालाई कस्तो बनाउने लक्ष्य लिनुभएको छ ?
सडक, विद्युत्, सञ्चारलगायत पूर्वाधार, स्वास्थ्य, शिक्षा, सामाजिक विकास, आर्थिक समृद्धि र सामाजिक न्यायसहितको सभ्य र दक्ष नागरिक बसोबास गर्ने एउटा नमुना गाउँपालिका हुनेछ ।

प्रकाशित : वैशाख १०, २०७५ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?