अंग्रेजी माध्यममा सामुदायिक विद्यालय

प्रदीप मेन्याङ्बो

सुनसरी — विद्यालय भर्ना अभियान तीव्र भएका बेला धरानका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम अपनाउने लहर चलेको छ । अधिकांश सामुदायिक विद्यालयले अंग्रेजी माध्यम अपनाएर पठनपाठन गर्न थालेका छन् ।

अंग्रेजी माध्यममा सामुदायिक विद्यालय

विद्यार्थी र अभिभावकको मागअनुसार अंग्रेजी माध्यमबाट पढाउनका जनशक्ति, आन्तरिक स्रोतसाधन अभावका बीच सामुदायिक विद्यालयले विद्यार्थी आकर्षित गर्न नर्सरीदेखि १० सम्म अंग्रेजी माध्यम अपनाएका छन् ।

पानमारास्थित हिमाली माविले पूर्वमै पहिलोपटक कक्षा १० सम्म अंग्रेजी माध्यम अपनाएको छ । विद्यार्थी आकर्षित गर्न संस्थागत विद्यालयले अपनाउने प्रचार शैलीलाई नै पच्छ्याएको छ । उनीहरूका प्रचार सामग्रीका व्यानरहरूमा भौतिक संरचनाको तस्बिर राखेर ‘कक्षा नर्सरीदेखि नै अंग्रेजी माध्यम भएको’ उल्लेख गर्ने गरेका छन् । आन्तरिक स्रोतसाधन र जनशक्ति भएका सामुदायिक विद्यालयले दुई खाले पठन पाठन अपनाएका छन् । कतिपय विद्यालयले विद्यार्थी र अभिभावकलाई छनोट गर्ने अवसर दिएका छन् । अंग्रेजी माध्यमबट अध्ययन गर्न चाहने विद्यार्थीका लागि र नेपाली माध्यमबाट अध्ययन अध्यापन गर्न चाहने विद्यार्थीका लागि एउटै विद्यालयमा इच्छाअनुसार पढ्न पाउने व्यवस्था गरिएको छ ।

नर्सरीदेखि कक्षा ५ सम्म सबै पाठ्यपुस्तक अंग्रेजी माध्यम र कक्षा ६ देखि १० सम्म अंग्रेजी र नेपाली माध्यम बेग्लाबेग्लै अपनाउँदै आएको शिक्षा निकेतन माविका प्रधानध्यापक उमेश गुरागाईंले भने, ‘विद्यालयमा अंग्रेजी माध्यम अपनाएपछि बोर्डिङ पढाउन चाहने अभिभावकले आफ्ना छोराछोरीको भर्ना सामुदायिकमा भर्ना गर्न थालेका छन् ।

कतिपयले बोर्डिङबाट छुटाएर यतै भर्ना गरिदिएका छन् । यो साताभित्रमात्र बोर्डिङ छाडेर १० जना विद्यार्थीले यहाँ भर्ना गरे ।’ उनले आफ्नो विद्यालयमा पठनपाठन भइरहेको सिभिल इन्जिनियरिङको कक्षा नौ देखि १२ सम्ममा सबै विषय अंग्रेजी माध्यम बनाएको बताए । धरान १९ बालकचोकस्थित किरातेश्वर माविका प्रअ डा. योगेन्द्र पालुङाले चार वर्षअघिदेखि कक्षा ३ सम्म अंग्रेजी माध्यम अपनाएर पठनपाठन सुरु गरेको बताए ।

उनले अंग्रेजी माध्यममा पढाउँदा पुस्तक किन्न अभिभावकले केही दुईचार सय रुपैयाँ भने खर्च गर्नुपर्ने अवस्था आएको बताए । उनले भने, ‘सामुदायिकमा सबै नि:शुल्क छ । तर सामुदायिकका लागि भनेर अंग्रेजी पाठ्यपुस्तक नि:शुल्क आउँदैन । नमुनाका लागि कक्षा १ का लागि जनक शिक्षा सामग्री केन्द्रमा छापिएका पुस्तक सरकारले २ सय ३८ रुपैयाँ लगानी गरेर उपलब्ध गराएको छ तर अंग्रेजी माध्यमका पुस्तक ८ सय ५६ पर्छ ।’ उनले संस्थागत स्कुलहरूमा अंग्रेजी माध्यम अपनाउँदा स्थानीय विद्यार्थी क्रमश: वृद्धि भएको बताए ।

उनले पछिल्लो समयमा बोर्डिङमा पढिरहेका भए पनि शुल्क तिर्न नसक्ने र केही कमजोर विद्यार्थी सामुदायिकमा आउने गरेको बताए ।विद्यार्थीको भर्ना अभियानलाई साथ दिनकै लागि यो शैक्षिक सत्रदेखि कक्षा ५ मा अंग्रेजी माध्यम अपनाएको पब्लिक उमाविका प्रधानध्यापक इन्द्रमोहन झाले अभिभावकको अंग्रेजी मोहले सामुदायिक विद्यालयले अंग्रेजी माध्यम अपनाएको बताए । उनले भने, ‘हामीले कक्षा पाँचसम्म पूरै पाठ्यपुस्तक अंग्रेजी अपनाएका छौं । कक्षा ६,७ र ८ मा भने बोर्डिङबाट आएका विद्यार्थीका लागि भनेर गणित, विज्ञान र कम्प्युटर विषय अंग्रेजी माध्यम अपनाएका छौं । नेपाली माध्यम अपनाउनेका लागि छुट्टै सेक्सन छ ।’

उपमहानगर शिक्षा समिति अध्यक्ष शंकर घिमिरेले उपमहानगरका ४५ सामुदायिक विद्यालयमध्ये आन्तरिक स्रोतसाधन भएकाहरूले विद्यार्थी आकर्षित गर्न अंग्रेजी माध्यम अपनाएको बताए ।

प्रकाशित : वैशाख १०, २०७५ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?