१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

आयुर्वेद चिकित्सालय बन्दै

दमक — झापाको कमल गाउँपालिका ७, लखनपुरमा प्रदेशस्तरीय आयुर्वेद चिकित्सालय निर्माण हुने भएको छ । चिकित्सालय निर्माण प्रक्रिया सुरु भएको गाउँपालिकाले जनाएको छ ।

आयुर्वेद चिकित्सालय बन्दै

चिकित्सालय निर्माणका लागि अहिले टेन्डर प्रक्रिया चलिरहेको छ । प्रत्येक प्रदेशमा आयुर्वेद चिकित्सालय निर्माण गर्ने सरकारी योजनाअनुसार लखनपुरमा सुविधासम्पन्न चिकित्सालय बन्न लागेको गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले जानकारी दिइन् । प्रदेश १ मा आयुर्वेद चिकित्सा अध्ययन तथा सेवाका लागि प्रमुख थलोका रूपमा विकास गराउने गरी चिकित्सालय निर्माण प्रक्रिया सुरु गरेको उनको भनाइ छ ।

चिकित्सालयका लागि स्थानीयले २ बिघा १ कठ्ठा नि:शुल्क उपलब्ध गराएका छन् । उक्त स्थानमा कम्पाउन्ड वाल निर्माण गरिएको चिकित्सालय निर्माणको पहलकर्ता तथा जग्गादाता मणि भण्डारीले बताए । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलामको इन्जिनियर टोलीले फिल्ड सर्भे, माटो परीक्षण सकेपछि भवन निर्माणका लागि टेन्डर आह्वान गरिएको गाउँपालिकाले जनाएको छ ।

२४ करोडको लागतमा ७५ मिटर लम्बाइ र ४५ मिटर चौडाइको अढाइ तले भवन निर्माण गरिने भण्डारीले बताए । चिकित्सालय ५० शय्याको सञ्चालन गर्ने उनले बताए । ‘अस्पतालका धेरै काम धमाधम भइरहेका छन् । भवन निर्माण सकिएलगत्तै आयुर्वेद चिकित्सालयबाट सेवा सुरु गर्न सकिन्छ,’ अर्का पहलकर्ता एवं नेपाल आयुर्वेद चिकित्सालय समाजका पूर्वकेन्द्रीय सचिव बीपी शर्माले बताए । उनले ०६७/६८ मा ३ हजार स्थानीयको हस्ताक्षरसहित लखनपुरमा आयुर्वेद अस्पताल बन्नुपर्ने मागपत्र माथिल्लो निकायमा पेस गरिएको बताए ।

अस्पताल निर्माणस्थलमा आयुर्वेद औषधालय सञ्चालनमा छ । सानो टहरामा आयुर्वेद सेवा दिँदै आएको औषधालय आर्थिक अभावमा गत असारदेखि बन्द रहेको थियो ।

प्रकाशित : वैशाख १०, २०७५ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?