माईभ्याली गोल्डकप: पुलिसको संघर्षपूर्ण जित

विप्लव भट्टराई

इलाम — कोलकाताको दुर्गापुर टीएसवाईलाई १–३ गोलले पराजित गर्दै नेपाल पुलिस क्लब अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको छ । पहिलो हाफ बराबरी भएको खेलमा दोस्रो हाफको इन्ज्युरी समयमा २ गोल गर्दै पुलिसले जित दर्ता गर्‍यो ।

माईभ्याली गोल्डकप: पुलिसको संघर्षपूर्ण जित

३६ औं मिनेटमा रेजिन सुब्बाले गोल गर्दै पुलिसलाई अग्रता दिलाए । प्रजिन तामाङको स्थानमा ३३ औं मिनेटमा यू–१९ राष्ट्रिय टिमका सदस्य रेजिन मैदान छिरेका थिए । नीरकुमार राईको क्रसलाई रेजिनले पोस्टको दिशा दिए ।

पहिलो हाफको इन्ज्युरी समयमा पाएको फ्रिकिकलाई कोलकाताका नाइजेरियन खेलाडी सगुनले आकर्षक गोलमा परिणत गरे । पुलिसका सन्तोष हेमरनको ह्यान्ड बल भएपछि फ्रिकिकको अवसर पाएको थियो ।

दोस्रो हाफमा पुलिसले आक्रामक खेले पनि गोलका लागि इन्ज्युरी समय कुर्नु पर्‍यो । पुलिसलाई अग्रता दिलाउने क्रममा राष्ट्रिय टिममा सहभागी भइसकेका सुमन लामाले अतिरिक्त समयको चौथो मिनेटमा पेनाल्टीमार्फत गोल गरे । कोलकाताका इमायुनले पुलिसका नरकुमार राईलाई फल गरेपछि अतिरिक्त समयको चौथो मिनेटमा पुलिसले पेनाल्टी पाएको हो । लगत्तै सुमनको पासमा रवि पासवानले गोल गर्दै पुलिसको जित सुनिश्चित बनाए । कोलकाताविरुद्ध थुप्रै अवसर सिर्जना गरे पनि पुलिसका प्रयास असफल भएका थिए ।

कोलकाताका विट्टु किस्कु खेल अवधिभर व्यस्त बने । उनले थुप्रै पुलिसका प्रहारलाई गोल हुनबाट जोगाए । कोलकाताका इमानुएलले गोलकिप्पर बिट्टु बिट भएको अवस्थामा पनि २ वटा बललाई गोल हुनबाट जोगाए ।

पुलिसले गएको सिजनमा आठ प्रतियोगिता खेलेकामा पोखराको आहा रारा र दाङको राखेप च्याम्पियनसिपको उपाधि जितेको थियो । अघिल्लो वर्ष माइभ्यालीमा पहिलो खेलमा नै रूपन्देही ११ सँग टाइब्रेकरमा पराजित पुलिस सिजनको पहिलो उपाधि जित्ने होडमा इलाम भित्रिएको हो । ‘खेलाडीबीच केही तालमेल नमिलेकाले जित कठिन भयो,’ प्रशिक्षक अनन्तराज थापाले भने, ‘पाएका केही अवसरलाई पनि सदुपयोग गर्न सकिएन ।’ पुलिसका भोला सिलवालले बेन्चमा नै बिताए भने रविन श्रेष्ठ २६ औं मिनेटमा विक्रम धिमालसँग स्थानान्तरण भए । बंगाल फुटबलको चर्चित दुर्गा स्टिल गोल्डकपको चौथो यात्रामा पनि बिनाजित घर फर्कियो । पुलिसको टिम सशक्त रहे पनि खेलाडीले गतिलो चुनौती पेस गरेको कोलकाताका प्रशिक्षक असिम रोयले बताए ।

पुलिसका रेजिन सुब्बा ‘म्यान अफ द म्याच’ घोषित भए । सोमबार आयोजक माइभ्याली र मनाङ मस्र्याङदी क्लब सेमिफाइनल यात्राका लागि भिड्दैछन् ।

प्रकाशित : वैशाख १०, २०७५ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?