कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

नयाँ पुस्तालाई वित्तीय व्यवस्थापन शिक्षा

सिरिजंघा (ताप्लेजुङ) — सिनाम माध्यमिक विद्यालयको १० कक्षामा अध्ययनरत निशा भट्टराईको चाहना डाक्टर बन्ने छ । एसईई परीक्षामा ए प्लस ल्याउने लक्ष्य राखेकी उनलाई कसैले भविष्यमा के बन्ने भनेर जिज्ञासा राखे निर्धक्क त्यही सुनाउँछिन् ।

नयाँ पुस्तालाई वित्तीय व्यवस्थापन शिक्षा

उनको त्यो चाहनामा परिवर्तन आएको छैन तर अहिले बिकल्प पनि सोचेकी छन् । उनले भनिन्, ‘डाक्टर बन्न नसके डिब्लोमासम्म पढ्छु र अधिकृतमा भिडेर प्रशासन सेवामा प्रवेश गर्छु ।’ उनलाई त्यो चेतना अतिरिक्त शिक्षाका रूपमा विद्यालयले सञ्चालन गरेको वित्तीय कक्षाले दिएको हो । यो कक्षा लिनुअघिसम्म उनलाई डाक्टर पढ्न कति खर्च चाहिन्छ भन्ने हेक्का थिएन । केवल यतिमात्रै थियो, ‘मलाई अभिभावकले पढाउनुपर्छ र मैले पढ्नुपर्छ ।’ १४ दिनको कक्षापछि उनले निष्कर्ष निकालिन्, ‘सरकारी छात्रवृत्तिमा नाम निकाल्न सके पढ्छु अन्यथा प्रशासन सेवामा जान्छु ।’

कालीका मावि नाङखोल्याङका सागर खतिवडाले भने परिवारलाई आफ्नो भविष्यका विषयमा सोच्न अग्रीम जानकारी गराएका छन् । छात्रवृत्तिमा नाम ननिस्किए पनि लाग्ने खर्चको व्यवस्थापनका लागि अभिभावकलाई अनुरोध गरेका हुन् । १२ कक्षा पूरा गरेपछि प्रवेश गर्ने शिक्षा महँगो भए पनि अभिभावकले त्यसको व्यवस्थापन गर्ने उनको दाबी छ ।

पाठ्यक्रम अनुसारको पढाइ हुने विद्यालयले स्थानीय संघसंस्थासँगको साझेदारीमा आफ्ना विद्यार्थीलाई अतिरिक्त शिक्षा दिन थालेका छन् । जुन निकै प्रभावकारी भएको प्रधानाध्यापकहरूको बुझाइ छ । सिनाम माविका प्रधानाध्यापक महेन्द्र प्रकाश गौतकले भने, ‘वचत तथा ऋण सहकारी संस्थाले अतिरिक्त कक्षाको प्रस्ताव गर्‍यो, सुरुमा नमुनाका लागि दुइटा कक्षा सञ्चालन गर्‍यौं, त्यसले विद्यार्थी र अभिभावकलाई वित्तीय व्यवस्थापनका लागि राम्रो ज्ञान दिँदो रहेछ । त्यसपछि अरू कक्षा सञ्चालनका लागि सहकार्य गरेर १६ वटा कक्षा चलायौं ।’

१२ देखि १८ वर्ष उमेर समूहका २५ जनालाई एउटा कक्षामा समावेश गराएर बिहान ७ देखि ८ बजेसम्म कक्षा दिएको गौतमले बताए । कालिका माविका आचार्य विद्यार्थीमार्फत अभिभावकले ऋण कसरी कतिसम्म लिने, आम्दानी कसरी गर्ने, बचत कसरी गर्ने र बचतलाई व्यवहारमा कसरी लागू गर्ने कुरा सिकाइदो रहेछ ।

खेल, गायन लगायतका कलामार्फत सिकाइने विधिले विद्यार्थी पहिल्यै जानकार भएर आफ्नो अभिभावकसम्म पुर्‍याउँदा सबैलाई लाभ भएको बताउँछन् । नयाँ मान्छेले नयाँ कुरा सिकाउँदा विद्यार्थीलाइ पनि लाभ हुने आचार्यले बताए । कुन विषय पढ्न कति खर्च लाग्छ, त्यसको पहुँचमा कसरी पुग्न सकिन्छ भनेर जानकारी गराउने निकाय नभएको जिल्लामा यसले विद्यार्थी र अभिभावकलाई सचेत जागरूक गराएको अनुभूति आफूले गरेको मर्सिकोर नेपालका कार्यक्रम संयोजक सपना प्रधान बताउँछिन् । बचत तथा ऋण कार्यक्रमको प्रवद्र्धन मर्सिकोरले गरेको छ । यो गैरसरकारी संस्था हो । आफूहरूले युवा पुस्तामार्फत बचत र ऋणका विषयमा अभिभावकसम्म पुग्न कार्यक्रम गरेको प्रधानले बताइन् । यसले जिल्लाका ३० वडामा कार्यक्रम गर्दै आएको छ ।

सिनाम र नाङखोल्याङ बाहेक अहिले फुङलिङ ७ को सिद्धकालीमा दुई र ११ वडाको जनतामावि हाङदेवामा ६ वटा कक्षा गरिएको छ ।

प्रकाशित : वैशाख ११, २०७५ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?