कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्यटन विकासमा ‘टुरिजम मार्ट’

प्रदीप मेन्याङ्वो

धरान — पूर्व क्षेत्रमा छिमेकी मुलुक भारत, बांगलादेश, भुटानका निजी क्षेत्रसँग मिलेर पर्यटन बजार सिर्जना गर्न प्रदेश १ तहको इस्ट टुरिजम मार्ट मार्फत व्यावसायिक गतिविधि अघि बढाइने भएको छ । पूर्व क्षेत्रका पर्यटन व्यवसायी र नेपाल पर्यटन बोर्डले संयुक्त रूपमा पर्यटन बजार सिर्जना गर्न मार्टको सञ्चालन गर्ने भएको हो ।

पर्यटन विकासमा ‘टुरिजम मार्ट’

टुरिजम मार्ट सञ्चालन गर्न धरान उपमहानगरपालिका र नेपाल पर्यटन बोर्डबीच बुधबार लिखित सम्झौता भएको छ । बोर्डले पूर्वको पर्यटनको बजार विकास गर्न जेठ २४ देखि २६ गते इस्ट टुरिजम मार्ट आयोजना लागेको छ ।

नगर प्रमुख तारा सुब्बा र पर्यटनग बोर्डका लेखा प्रबन्धक लेखनाथ भुषालको रोहवरमा भएको लिखित सम्झौतामा बोर्डका पर्यटन बजार व्यवस्थापन प्रवद्र्धन महाशाखा प्रबन्धक नविन पोखरेल र उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत सुदेवकुमार पोखरेलले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार जेठ २४ भित्र मार्टको कार्ययोजना तयार गरी मार्टको गतिविधि अघि बढाइने छ । पर्यटन व्यवसायी वासुदेव बरालले भने, ‘निकै लामो छलफल गृहकार्यपछि अन्तत: मार्ट अघि बढ्ने भएको छ ।’

उनका अनुसार यसअघि प्रदेश १ पर्यटन विकासका लागि मेची पहाडी पर्यटन प्रवद्र्धन समिति लगायत मोरङ, सुनसरी, इलाम, धनकुटा, ताप्लेजुङ जिल्लाका पर्यटन सम्बद्ध सरोकारवाला तथा व्यवसायीहरूको धरानमा भएको भेलाले पूर्व क्षेत्रको पर्यटन मार्ट स्थापना गर्ने निर्णय गरेको थियो । सोही आधारमा नेपाल पर्यटन बोर्डले इस्ट नेपाल ट्राभल मार्टलाई आर्थिक वर्ष २०७४/०७५ को बजेट तथा कार्यक्रममा समावेश गरेको थियो ।

उपमहानगरपालिका पर्यटन प्रवर्द्धन समितिका संयोजक किशोर थुलुङका अनुसार सम्झौता उपमहानगरपालिका र पर्यटन बोर्डबीच भए पनि पालिकाको भूमिका मार्ट सञ्चालनका लागि आवश्यक सहजीकरण गर्ने मात्र रहन्छ । उनले भने, ‘मार्टको सञ्चालनले धरानको पर्यटकीय सम्भावना लाई बढाउने भएकाले यसको गतिविधिहरूमा पालिकाको प्रत्यक्ष संलग्नता रहन्छ ।’ मार्ट सञ्चालनका लागि सम्झौताअनुसार गठित समितिमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव, साथै पर्यटन समितिबाट एक जना पदेन सदस्य रहने व्यवस्था छ । कार्य समिति अध्यक्षमा पर्यटन व्यवसायी भबिसकुमार श्रेष्ठ छन् ।

पर्यटनकर्मी कृष्ण शाह उपाध्यक्ष र सदस्यहरूमा पर्यटन व्यवसायी वासुदेव बराल, देवी गौतम, फणिन्द्र अधिकारी, महेन्द्र प्रधान र सुनसरी उद्योग वाणिज्य संघका महासचिव शिवराज श्रेष्ठ छन् ।

मार्टले प्रदेश १ सहित जनकपुर क्षेत्र सम्मका पर्यटकीय सम्पदा, गन्तव्यस्थल, गतिविधि र पर्यटकीय सेवाहरूका बजारीकरणका लागि महत्त्वपूर्ण देखिएका विशेषत: भारतको पश्चिम बंगाल, सिक्किम, आसाम, विहार राज्य लगायतका विभिन्न सहरहरूका बाहय टुर अपरेटर, ट्राभल्य एजेन्ट, सञ्चारकर्मी, पर्यटनसम्बद्ध व्यक्तित्वहरू पूर्वमा ल्याएर व्यावसायिक अन्तरक्रिया गराउने प्रवद्र्धन तथा बजारीकरणका कामहरू गर्नेछन् ।

मार्ट सञ्चालनको स्थानीय व्यवस्थापन गर्न नेपाल पर्यटन बोर्डले १४ लाख ५० हजार उपलब्ध गराउने सम्झौतामा छ । त्यसबाहेक अन्य रकम कार्य समितिको निर्णयबमोजिम यस्तो शीर्षकमा पनि उक्त अधिकतम रकमको अधीनमा रही खर्च गर्न सकिनेछ । कार्य समितिले मार्टलाई सफल बनाउन थप रकम खर्च गर्न अत्यावश्यक भएको पर्यटन बोर्डसँग माग गरेमा बोर्डको कार्यकारी प्रमुखले थप रकम दिन सक्ने सम्झौतामा छ ।

मार्टका लागि भारत, बंगलादेश, भुटानको पर्यटन सम्बद्ध सरोकारवालहरूलाई पर्यटन बोर्डले आमन्त्रण गर्ने छ । उनीहरूलाई ल्याउने लैजाने, खाना तथा बासस्थानका लागि हुने खर्चहरू पर्यटन बोर्डले व्यहोर्ने सम्झौतामा छ । बोर्डले विदेशी ट्राभल तथा टुर अपरेटर, मिडियाहरूको पर्यटन प्रवद्र्धनात्मक भ्रमण गराउने कार्यक्रम बनाउने सम्झोतामा उल्लेख तथा अन्य प्रवद्र्धनात्मक कार्यहरू गर्न सकिने भएमा सकेसम्म यस्तो प्रवद्र्धनात्मक कार्य यसै मार्टको समय पारी गर्न गराउन नेपाल पर्यटन बोर्डले प्रयत्न गर्नेछ ।

प्रकाशित : वैशाख ११, २०७५ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?