‘पूर्वाधार प्राथमिकता’

झापा — झापाको अर्जुनधारा नगरपालिकामा ११ वडा छन् । जनसंख्या करिब ६० हजार २ सय ४ छ । १ सय ९ दशमलव ८६ वर्ग किलोमिटरमा क्षेत्रमा यो फैलिएको छ ।

‘पूर्वाधार प्राथमिकता’

आसपासका क्षेत्र समेटेर बनेको नयाँ नगर अनि लामो समयपछि जनप्रतिनिधि आएको अवस्थामा अब विकासको आशा बढेको छ । नगरको पछिल्लो गतिविधि र विकास योजनाको सेरोफेरोमा नगर प्रमुख हरिकुमार रानासँग संवाददाता पर्वत पोर्तेलले गरेको कुराकानी :

नगरको समृद्धिको आधार के छ ?
यो नगरमा वहुजातीय बसोबास छ । जातीय विविधता छ । पर्या–पर्यटनको दृष्टिबाट पनि अगाडि । धार्मिक गन्तव्यका रूपमा विकास गने योजना छ । पूर्वको पशुपतिनाथ जलेश्वरधाम, शंकराचार्य पीठ छ । राजनीतिक उत्प्रेरणा गन्तव्य पनि यही नगरमा छ । सुखानी शाहदत स्थल छ । सहिद पार्क छ । खासगरी धार्मिक पर्यटनका हिसावले अव्बल छ । कृषिमा पनि अग्रणी छ । धानसँगै सुपारी, नरिवलजस्ता नगदेबाली उत्पादनका जिल्लामा अव्बल छ ।

अहिलेसम्म केके काम गर्नुभयो ?
धेरै समय त अन्य नगरमा झैं ऐन कानुन, विधिविधान बनाउनमै वितेको यथार्थ हो । या अभ्यास हाम्रा लागि नौलो थियो । त्यही भएर काम गर्न सहज पक्कै भएको हो । साथै पूर्वाधार विकाससँग सम्बन्धित ४ सय ४६ योजना सञ्चालन परिचालन गरेका छाैं । अढाई सयभन्दा ज्यादा काम सम्पन्नको बाटोतिर लागेको छ । जनता लक्षित विकास निर्माणका कामहरू भइरहेकाले जनताले पक्कै पनि अनुभूत गरिरहेकै छन् ।

काम गर्न कत्तिको सहज छ ?
केही महिना त अलमलमै बित्यो । कताको जिली, कताको गाँठी हामीलाई फेद टुप्पो चिन्नै हम्मे भयो । अहिले बल्ल बुझ्ने प्रयत्नमा छाैं । केन्द्र सरकारले प्रशिक्षणहरू पनि प्रदान गरिरहेको छ । बुझ्ने र काम गर्ने क्रममा छाैं । नयाँ व्यवस्था भएकाले हामी सबै सिक्ने सिकाउने क्रममै छाैं। जनप्रतिनिधिसहित कर्मचारीहरूलाई नियमित प्रशिक्षण हुनुुपर्छ । वर्षाैंदेखि थुप्रिएर रहेको समस्यालाई ५ वर्षभित्र एउटा टुंंगोमा पुर्‍याउँछांै ।

तपाईं पूर्वगाविस अध्यक्ष पनि । पहिला र अहिलेको व्यवस्थाबीचको भिन्नता के छ ?
आकास–जमिनको फरक छ । त्यही बेला सीमित अधिकारहरू थिए । स्रोत पनि सीमितै थियो । धेरै कुरा छैनबाट सुरु हुन्थ्यो । अहिले अधिकार र स्रोत दुवै असीमित छ । हिजो गाविकाको बजेट २० लाख थियो । अहिले आधा अर्बभन्दा बढी छ । हिजो सानो भूगोल थियो । अहिले भूगोलको क्षेत्रफल पनि बढेको छ । जसले हाम्रो जिम्मेवारी थपिएको छ ।

लक्षित वर्गका लागि बजेट कम भयो भन्ने छ नि ?
कुल बजेटको ३५ प्रतिशत रकम लक्षित वर्षलाई विनियोजन भइरहेको थियो विगतमा । लक्षित वर्गको जीवनशैली उकासियो भन्ने सोच्यौं तर, यथार्थमा त्यस्तो देखिएन । लामो समयदेखि लगानी गर्दा पनि लक्षित वर्गको जीवनस्तर उकासिन नसक्नु दुखद पक्ष हो । यसपटक प्रत्येक वडामा १ लाखका दरले विनियोजन गरिएको छ ।

नगरका सम्भावना र चुनौती के छ ?
कृषि उत्पादन, धार्मिक पर्यटनमा हाम्रो नगर समृद्ध छ । विरिङ, टाइटिङलगायतका दर्जनभन्दा बढी खोलानाला हाम्रो चुनौतीसँगै सम्भावनाका आधारहरू हुन् । यी नदीबाट नदीजन्य सामग्री नगरको बलियो स्रोत पनि हो । वर्षेनी क्षति पुर्‍याउने नदीहरूलाई नियन्त्रण गर्नु चुनौती हो । वन क्षेत्रमा जंगली हात्तीको आतंक छ । यसलाई पनि नियन्त्रणको बाटोतिर लैजाने प्रयत्न भइरहेको छ ।

प्रकाशित : वैशाख ११, २०७५ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?