कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सहज बन्दै खानेपानी

९ लाख ८८ हजार २ सय १३ रुपैयाँ उपलब्ध गराइदिएकोमा उपभोक्ताबाट ३ लाख १२ हजार २ सय ७४ रुपैयाँ बराबरको जनश्रमदान

मोरङ — केराबारी २ जेफाले डाँडास्थित बिहीबारेकी ८० वर्षीया साबित्रा कटुबाल आँगनमै खानेपानी आएपछि दंग छिन् । पानी खान, लुगा धुन, नुहाउन, गाईबस्तुलाई खुवाउन सहज भएको उनले सुनाइन् । यसअघि उनी सम्बेवा खोलाबाट ६ घण्टा बोकेर ल्याएको पानी खाँदै आएकी थिइन् ।

सहज बन्दै खानेपानी

‘२८ वर्षदेखि खोलाको पानी खाँदै थियौं,’ उनले भनिन्, ‘अब खानेपानी आँगनमै आउँदा सजिलो भएको छ ।’ गरिबी निवारण कोषको सहयोगमा सामुदायिक विकास प्रयास नेपाल विराटनगरले बिहीबारेमा नयाँबास खानेपानी उपआयोजना निर्माण गरेर ३८ घरधुरीका १ सय ८३ जनालाई खानेपानी सुविधा उपलब्ध गराएको छ ।

उपभोक्ता समितिका अध्यक्ष ललितबहादुर लिम्बूले कोषले खानेपानी उपआयोजना निर्माणका लागि ९ लाख ८८ हजार २ सय १३ रुपैयाँ उपलब्ध गराइदिएकोमा उपभोक्ताले ३ लाख १२ हजार २ सय ७४ रुपैयाँ बराबरको जनश्रमदान गरेको बताए ।

‘३८ घरधुरीलाई खानेपानीका लागि ७ वटा धारा निर्माण गरेका छौं,’ उनले भने, ‘पर्यटकीय गन्तव्यसमेत रहेको बिहीबारेमा अब खानेपानीको समस्या समाधान भएको छ ।’ स्थानीय दिलमाया लिम्बूले खानेपानीको धारा आएपछि समयको बचत भएको बताइन् । ‘यसअघि आफूहरूले ६ घण्टा पैदल हिँडेर खानका लागि पानी बोकेर ल्याउँथ्यौं,’ उनले भनिन्, ‘३/४ वर्षअघि स्थानीय निकायको सहयोगमा निर्माण भएको एउटा धारामा दुषित पानी आउने गरेकाले खोलाको पानी खानुको विकल्प थिएन । फोहोर पानी आउने धारामा लुगा धुन पनि लाइन लागेर पालो पर्खिनुपथ्र्याे ।’ यस्तै, संगम टोलमा पनि गरिबी निवारण कोषको सहयोगमा १८ लाख ८७ हजार ४६ रुपैयाँको लागत खानेपानी उपआयोजना निर्माण सम्पन्न भएको छ । उक्त उपआयोजनाबाट ४१ घर परिवारका १ सय ९७ जनालाई खानेपानी सुविधा प्राप्त भएको स्थानीय खगेन्द्र जमरकट्टेलले बताए । उनले खोलाको मुहानमा टयांकी निर्माण गरेर त्यसमा जम्मा भएको सफा र शुद्ध खानेपानी गाउँमा आएको सुनाए ।

उनले गरिवी निवारणले १३ लाख ८७ हजार १ सय ७६ र गाउँलेले ४ लाख ९९ हजार ९ सय १० रुपैयाँ बराबरको जनश्रमदान गरेर खानेपानी निर्माण सम्पन्न भएको बताए । अहिले ९ वटा धाराले यहाँका ४१ घर परिवारले खानेपानी उपभोग गरिरहेको सुनाए ।

यस्तै, लेटाङ नगरपालिका ७ वारङ्गीस्थित जौबारीमा १९ लाख ६ हजार ७ सय २९ रुपैयाँको लागतमा खानेपानी उपआयोजना निर्माण भएको छ । स्थानीय रेणुकाादेवी तामाङले उक्त खानेपानी उपआयोजनाले यहाँका ४६ परिवारका २ सय ४१ जनाले खानेपानीको सुविधा प्राप्त भएको बताइन् ।

यस्तै, सिंहदेवीको थाइबामा गरिवी निवारण कोषले ११ लाख ६१ हजार २ सय ७९ र स्थानीयले ५ लाख ५२ हजार ३ सय ९१ रुपैयाँको जनश्रमदान गरेर सिँचाइ आयोजना निर्माण गरेको छ । स्थानीय किसान खडगबहादुर ठकुरीले सिँचाइ आयोजना खेती गर्न निकै सहज भएको बताए । ‘किसानहरूले अहिले अलैंची, अम्रिसो, तरकारी खेती गर्न जुटेका छन्,’ उनले भने, ‘यसअघि सिँचाइ अभावमा उक्त जग्गाहरू सुख्खायाममा बाँझो नै रहने गरेको थियो तर अहिले हरियाली भएको छ ।’

प्रकाशित : वैशाख ११, २०७५ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?