कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अशक्तलाई घर

सञ्चार र यातायातकर्मीको पहल
प्रदीप मेन्याङ्बो

सुनसरी — शारीरिक रूपले अशक्त पुण्य प्याकुरेलले नयाँ घर पाएका छन् । सञ्चारकर्मी र यातायात मजुदरले सामाजिक सञ्जाल प्रयोग गरेरर धरान– १५ महादेवचोक नजिक उनलाई घर बनाइदिएका हुन् ।

अशक्तलाई घर

प्याकुरेल र उनको परिवार बस्न ३ कोठा सहितको पक्की घर निर्माण गरेर गृह प्रवेश गराइएको छ । श्रीमती र दुई सन्तानसहित आफन्तको घरको एक कोठा भाडामा लिएर बस्दै आएका प्याकुरेल दुई वर्ष अघि सवारी दुर्घटना परी कम्मरदेखिमुनिका भाग नचल्ने गरी थलिएका थिए । दशकअघि नै सस्तोमा सात धुर जग्गा किनेका उनले बैंसमा बल भएसम्म कमाएर सानो घर बनाउने सपना बुनेका थिए । तर सवारी दुर्घटनामा परेपछि उनको सपना तुहिएको थियो । उनको दयनीय हालत देखेरपछि एक वर्षअघि धरानका सञ्चारकर्मी भीम राई ज्वालाले सामाजिक सञ्जालमा सहयोगका लागि आहवान गरेका थिए ।

हाल नेपाल यातायात स्वतन्त्र मजुर संगठनका केन्द्रीय अध्यक्ष समेत रहेका ज्वालाले सहयोगको आहवान गरेपछि स्वदेश र विदेशमा बस्नेहरूबाट नगद र जिन्सी गरेर जम्मा ६ लाख ७४ हजार २ सय ५० संकलन भएको थियो । सोही रकमले प्याकुरेलको नयाघर निर्माण गरी गृहप्रवेश गराइएकाको संगठनका अध्यक्ष राईले बताए ।

प्याकुरेललाई गृह प्रवेश गराउँदै । तस्बिर : प्रदीप

उनले भने, ‘सानै काम भए पनि त्यसले दुरगामी असर पुर्‍याउने भएकाले पुण्यको घर बनाइदिएर हामीले पनि पुण्य कमाउने मौका पाएका छौं । केही पत्रकारहरूले देउसी खेलेर संकलित रकम पनि पुण्यकै घर निर्माणमा थपेका हौं । सामाजिक कार्यमा लगानी गर्दा आज एकजना अशक्तले घर पाएको यो सानो नमुना हो ।’ प्याकुरेलको गृह प्रवेश समारोहमा एमालेका धरान उपमहानगर विशेष इलाका कमिटी अध्यक्ष नारायण प्रसाद सुवेदी, धरान १५ का वडाध्यक्ष नरेश इवारम, सुनसरी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गिरीधारी सापकोटा, मजदुर नेताहरू लक्ष्मी वानिया, कमल भट्टराई, रविन अधिकारी, गोविन्द गिरी लगायतको सामूहिक उपस्थितिमा गृह प्रवेश गराइएको थियो ।

गृह प्रवेश गरेपछि प्याकुरेलले एउटा सानो कोठाभित्रको जिन्दगीबाट आफू र आफ्नो परिवारले आफ्नै निजी घरमा बस्ने सपना पूरा भएको बताए । उनले निकै भावुक हुँदै भने, ‘मेरा लागि जीवन नै यति नै रहेछ । अब घर बनाउन नसकी अपाङ्ग जीवनमै सकिन्छु होला भन्ने लागेको थियो तर सञ्चारकर्मीहरूको कलम र यातायात मजदुर साथीहरूको हौसलाले मेरो र परिवारको जीन्दगीमा खुसी छायो ।’

घर निर्माण समितीका संयोजक कमल भट्टराईले आय व्यय सार्वजनिक गरे । नगद र जिन्सी गरेर जम्मा ६ लाख ७४ हजार २ सय ५० संकलन भएको उनले बताए । उनले भने, ‘प्याकुरेलको घर निर्माणमा ४ लाख १० हजार खर्च भएको छ । घर निर्माणको खर्च कटाएर अझै ६४ हजार वचत भएको छ । बचत रकम प्याकुरेलको जीविकोपार्जनको निम्ति व्यवसाय सन्चालनमा सहयोग गर्न हस्तान्तरण गरिएको छ ।

प्रकाशित : वैशाख ११, २०७५ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?