कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सरकारी जग्गा अतिक्रमण

ठोस निर्णय हुन नसक्दा अतिक्रमण रोक्न र हटाउन समस्या भयो 
डिल्लीराम खतिवडा

उदयपुर — त्रियुगा नगरपालिका १३ स्थित सरकारी स्वामित्वको विमानस्थलको १७ बिघा जग्गा अतिक्रमण भएको छ । २०३१ सालतिर विमानस्थल निर्माण गर्ने भनेर हवाई फिल्ड नामकरण गरिएको थियो ।

सरकारी जग्गा अतिक्रमण

विमानस्थल निर्माण गर्ने भनेरै तत्कालीन समयमा जग्गा ‘हवाई मैदान’ कै नाममा दर्ता गरिएको हो । सरकारको स्वामित्वमा रहने गरी १६ बिघा १४ कठ्ठा १६ धुर जग्गामा हवाई मैदानका नाममा लालपुर्जा रहेको स्थानीयले बताए ।


पहिलेको हवाई मैदान थारूहट रंगशाला र मदन भण्डारी सभा गृह निर्माण हुनुका साथै बजार विस्तार समेत गरिएको छ । अहिले हवाई मैदानकै जग्गामा तरकारी बजार छ । दक्षिण पूर्व भागमा सभा गृह बन्दैछ । बाँकी भाग अतिक्रमण भइरहेको छ । अतिक्रमण क्षेत्रमा पहिले नै ४३ वटा पक्की घरसहितका विभिन्न संरचना बनेका छन् । अहिले करिब १७ वटा घर निर्माण भइरहेको त्रियुगा नगरपालिकाले जनाएको छ ।


जग्गा विमानस्थलको नाममा रहे पनि पटकपटक प्रयास गर्दा पनि विमानस्थल बनेन । नागरिक उड्डयान मन्त्रालयको प्राविधिक टोलीले प्राविधिक दृष्टिकोणले उक्त जग्गा उपयुक्त नभएको भनेपछि विमानस्थल बनाइएन । विमानस्थल नबन्ने निश्चित भएपछि भू–माफियाले जग्गा अतिक्रमण गरेर बिक्री वितरण गरेको सर्वसाधारणले बताए । विमानस्थल नबनेपछि अहिले तीव्र रूपमा जग्गाको अतिक्रमण भइरहेको छ । स्थानीय तहका जनप्रतिनिधिकै संरक्षणमा सर्वसाधारणले जग्गा अतिक्रमण गरिहेको स्थानीय नरमान राईले बताए । ‘नेपाल सरकारको नाममा रहेको जग्गा तीव्र रूपमा अतिक्रमण भइरहेको छ,’ नरमानले भने, ‘तर नगरपालिकाले यस विषयमा खासै चासो लिएको छैन ।’ नगरपालिकाका जनप्रतिनिधि नै जग्गा अतिक्रमण गर्ने भूमाफियासँग मिलेर रकम लिएकाले वास्ता नगरेको उनले बताए । सरकारी जग्गा अतिक्रमण गरिरहँदा नगरपालिका, स्थानीय प्रहरी प्रशासन मौन रहेको सर्वसाधारणले आरोप लगाएका छन् । नगरपालिका प्रमुख र वडा अध्यक्षलाई जानकारी दिँदा पनि बेवास्ता गरेको सर्वसाधारणले गुनासो गरेका छन् ।


सरकारी स्वामित्वमा रहेको हवाई मैदानको जग्गा अतिक्रण भएको नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले बताए । ‘सार्वजनिक जग्गा अतिक्रमण भएको छ, अतिक्रमण गरेर पक्की संरचना समेत बनिसकेका छन् ।’ अतिक्रमण रोक्न प्रयास गरिए पनि राजनैतिक संरक्षणका कारण ढिलो भएको उनले बताए ।


नगरपालिकाले पहिले पनि अतिक्रमण भएको क्षेत्रबाट घरटहरा हटाउन सार्वजनिक सूचना जारी गरिसकेको प्रमुख प्रशासकीय अधिकृत लुइँटेलले बताए । ‘त्रियुगा नगरपालिकको कार्यपालिकमा समेत अतिक्रमण हटाउने एजेन्डा लगियो,’ अधिकृत लुइँटेलले भने, ‘तर त्यहाँ पनि ठोस निर्णय हुन नसक्दा अतिक्रमण रोक्न र हटाउन समस्या भयो ।’ तर चाँडै प्रक्रिया पूरा गरेर अतिक्रमण हटाउने काम गरिने उनले बताए ।


अतिक्रमण गरिएको क्षेत्रमा प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर कार्की सहितले अनुगमन गरेर घर बनाउँदै गरेकालाई घर नबनाउन निर्देशन दिएको स्थानीयले बताए । अतिक्रमण हटाउने भन्दै प्रमुख जिल्ला अधिकारी कार्कीले घर नबनाउन र थप अतिक्रमण नगर्न भनेको अतिक्रमण क्षेत्रमा रहेका स्थानीले बताए ।

प्रकाशित : वैशाख १२, २०७५ १२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?