मुटुका बिरामी बढ्दो क्रममा

खानपान सुधार्दै नियमित व्यायाम गर्न सुझाव

इलाम — जिल्लामा मुटु रोगीको संख्या बढ्दो क्रममा रहेको पाइएको छ । इलाम अस्पतालमा सम्पन्न मुटु रोग शिविरमा परीक्षण गराएकामध्ये १ सय २० जना बिरामी जटिल अवस्थामा रहेको पाइएको हो ।

मुटुका बिरामी बढ्दो क्रममा

इलाम उद्योग वाणिज्य संघ र सहिद गंगालाल राष्ट्रिय ह्दय केन्द्रको प्राविधिक सहयोगमा आइतबार र सोमबार सम्पन्न शिविरमा १ हजार २७ जनाले मुटुको परीक्षण गरेका थिए ।

शिविरका संयोजक ज्योतिन्द्र शर्माका अनुसार जटिल अवस्थाका मुटु रोगीमध्ये कोहीको भल्ब फेर्नुपर्ने, कसैको रगत नली फेर्नुपर्ने तथा कसैको अप्रेसन गर्नुपर्ने अवस्थाका भेटिएका छन् । आर्थिक अवस्था कमजोर भएका बिरामीलाई ह्दय केन्द्रसम्म पुगे नि:शुल्क उपचार हुने शर्माले बताए ।

यस्तै शिविरमा मुटु रोगीका लागि जोखिम मानिने ब्लडप्रेसरका बिरामीको संख्या शिविरमा आएकामध्ये ८० प्रतिशतमा पाइएको छ । परीक्षण गराउनेहरूमा मुटु ढुकढुकी बढ्ने, डर लाग्ने, निद्राबाट बिउँझिँदा तर्सिने जस्ता समस्या बढी देखिएको चिकित्सकहरूले बताएका छन् । उनीहरूका अनुसार जिल्लामा मानसिक समस्या भोग्नेहरू पनि बढ्दै गएका छन् ।

मुटु रोग जन्मजात, रगत नली बिग्रेरलगायत विभिन्न कारणबाट हुन सक्छ । यस रोगबाट बच्नका लागि नियमित व्यायाम गर्नुपर्ने, धूमपान र मद्यपानबाट टाढै रहनुपर्ने, सन्तुलित खानपानमा ध्यान दिनुपर्ने, खाना कम गरेर फलफूल, सागसब्जी बढी खानुपर्ने चिकित्सको सुझाव छ । शिविरमा ईसीजी, इकोलगायतका सेवा दिइएको थियो ।

शिविरमा जिल्लाभित्र र छिमेकी जिल्लाका ग्रामीण क्षेत्रका परीक्षणका लागि आएको इलाम उद्योग वाणिज्य संघका अध्यक्ष आनन्द कट्टेलले जानकारी दिए । सोमबारसम्म चलेको शिविरमा नि:शुल्क औषधि वितरण गरिएको थियो । हृदय केन्द्रका कार्यकारी निर्देशक शर्माको नेतृत्वमा आठ डाक्टरसहित १७ जनाको टोलीले सेवा दिएका थिए ।

प्रकाशित : वैशाख १२, २०७५ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?