सडक बनाउन उपभोक्ताको ९ करोड

अर्जुन राजवंशी

दमक — आफ्नो घर अगाडिको बाटो निर्माण गर्न दमक नगरपालिकाका स्थानीयले चालु वर्षमा करिब ९ करोड रुपैयाँ संकलन गरेका छन् । उपभोक्ताले नगरपालिकासँग लागत सहभागितामा ड्रेनसहितको फराकिलो बाटो निर्माण गर्न रकम संकलन गरेका हुन् ।

सडक बनाउन उपभोक्ताको ९ करोड

आफ्नो टोल आफैं बनाउन जुटेपछि नगरपालिकाले पनि उक्त योजनालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ । १० वडामध्ये नगरका ५ वटामा लागत सहभागितामा करिब चार दर्जन योजना सञ्चालन भइरहेका छन् । ती योजनामा उपभोक्ताले ९ तथा नगरपालिकाले ३० करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ ।


दमक ५ स्थित क्याम्पसमोड–आम्दा अस्पताल हुँदै पाङमिनीसम्मको ३ किलोमिटर सडक निर्माण गर्न उपभोक्ताले ३ करोड रुपैयाँ उठाउने भएका छन् । उक्त सडक ड्रेन र फुटपाथसहित ५० फिट चौडा बन्ने उपभोक्ता समिति अध्यक्ष लोकबहादुर अधिकारीले जानकारी दिए । उक्त सडक २३ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण हुने उनले बताए ।


उक्त सडकमा ५ सय उपभोक्ता छन् । सडक निर्माणका लागि उपभोक्ताबाट प्रतिफिट १५ सयका दरले रकम उठाउने काम भइरहेको अधिकारीले बताए । ५ नम्बर वडामै भृकुटी चोकदेखि सगरमाथा पम्पसम्मको ९ सय मिटर सडक पनि लागत सहभागितामै निर्माण भइरहेको छ । ५ करोड खर्च हुने उक्त सडकका लागि उपभोक्ताले एक करोड रुपैयाँ उठाएका छन् ।


नगरपालिकाको योजना शाखाका अनुसार वडा ५ को फूलबारी मार्गका लागि उपभोक्ताले २६ लाख ५० हजार, आनन्द मार्ग होस्टेलका लागि २४ लाख, ओम शान्ति मार्गका लागि २३ लाख ५० हजार, न्यु हरीओम मार्गका लागि २२ लाख, अमलेख मार्गका लागि २१ लाख रुपैयाँ संकलन गरेका छन् ।


त्यस्तै आरती मार्गका लागि १७ लाख, अनाम मार्गका लागि १५ लाख ७५ हजार, शान्ति मार्गका लागि १५ लाख, आनन्द मार्गका लागि १३ लाख, नमुना मार्गका लागि १२ लाख ५० हजार, मुनाल मार्गका लागि ११ लाख ५० हजार, ओमशान्ति मार्ग ‘ख’ का लागि ७ लाख ३० हजार, ओमशान्ति मार्ग ‘घ’ का लागि ७ लाखसहित साझेदारीका २५ वटा योजना सञ्चालनमा रहेको योजना शाखा प्रमुख इन्जिनियर तीर्थ नारायण श्रेष्ठले बताए ।


वडा नम्बर १ को सुन्दरी मार्गका लागि उपभोक्ताले २२ लाख रुपैयाँ संकलन गरेका छन् । श्रेष्ठका अनुसार उक्त वडामा अहिलेसम्म पाँच वडा योजनामा उपभोक्ताले रकम संकलन गरेका छन् । वडा नम्बर ४ को ओम देवका मार्गका लागि उपभोक्ताले २६ लाख ५० हजार रुपैयाँ संकलन गरेका छन् । उक्त सडक ढल निर्माणसहित कालोपत्रे गरिने श्रेष्ठले बताए । उक्त वडाकै मदन मार्गमा ढलसहित ग्राभेल गर्न उपभोक्ताले ८ लाख रुपैयाँ संकलन गरेका छन् । वडा नम्बर ६ मा उपभोक्ताले ५ लाखदेखि १० लाख रुपैयाँसम्म संकलन गरेका ५ वटा योजना सञ्चालित छन् । वडा नम्बर ८ मा ३ लाखदेखि १७ लाख ५० हजारसम्मका पाँचवटा वडा सञ्चालनमा रहेका छन् ।


पब्लिक पार्टनरसिप कार्यक्रमले नगरभित्रका सडक निर्माणमा ठूलो टेवा पुगेको नगरपालिका प्रमुख रोमनाथ ओलीले बताए । उनले साझेदारीका लागि अझै पनि फाइल आउने क्रम नरोकिएको बताए । ‘साझेदारीमा सडक बनाउन भन्दै दैनिकजसो प्रस्ताव आउने गरेको छ,’ ओलीले भने, ‘आएका सबै प्रस्तावहरूलाई लिएर राख्ने गरेका छौं । अर्को वर्षको बजेटमा पहिलो प्राथमिकतामा पारेर फाइल अघि बढाउने छौं ।’ उनले आगामी आर्थिक वर्षमा साझेदारीअन्तर्गत उपभोक्ताबाट २० करोड उठाउने गरी योजना बनाउने बताए ।

प्रकाशित : वैशाख १२, २०७५ ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?