२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

‘पाँच वर्षमा गाउँको अवस्था फेरिनेछ’

खोटाङ — प्रदीप राई खोटेहाङ गाउँपालिकाका अध्यक्ष हुन् । २०४६ सालदेखि एमालेसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेका उनले पार्टी राजनीतिमा पनि लामो समय काम गरेका छन् । एमालेबाट गाउँपालिका अध्यक्षमा विजयी बनेका राईसँग संवाददाता डम्बरसिं राईले गरेको कुराकानी :

‘पाँच वर्षमा गाउँको अवस्था फेरिनेछ’

नेतृत्व सम्हालेपछि गाउँमा के परिवर्तन भयो ?
२०७४ असार ३१ गते सपथ लिएपछि जनप्रतिनिधिको अनुभूति दिलाइएको छ । त्यसै आधारमा विकासका योजनाहरू बनाएर खोटेहाङ गाउँपालिकाको विकासमा तल्लीन छु ।

विकासको प्राथमिकीकरण कसरी गर्नुभएको छ ?
गाउँपालिकालाई समृद्ध बनाउने योजना अन्तरगत सडक, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका विषयलाई प्राथमिकीकण गरेर काम सुरु गरिएको छ । यसले आगामी पाँच वर्षभित्रमा अनुभूति हुने खालको परिवर्तन आउने छ ।

गाउँभरका सडकको अवस्था निकै खराब छ, यसको सुधारका लागि के योजना छ ?
सडक सबै वडामा पुगेको छ । त्यसमा पनि जताततै अनावश्यक ट्रयाक खोलिएकाले खेतीयोग्य जमिन, वन, पानीको स्रंोत लगायतको विनास भएको छ । यसलाई मध्यनजर गर्दै अब ट्रयाक ओपन गर्न बन्द गर्ने र आवश्यक सडकको मात्र स्तरोन्नति गर्ने नीतिगत योजना पारित गरिएको छ । रसुवा–पान्धारे, खोटाङबजार–सावाकटहरे–वाप्लुखा–लिकुवापोखरी सडकलाई प्राथमिकतामा राखिएको छ । यसबाहेकका अन्य सहायक मार्गहरूको स्तरोन्नति गरी गाउँपालिकाका नवै वडामा बाह्रैमास सडक सञ्चालन गर्ने योजना बनाइएको छ ।

शिक्षा नीति कस्तो छ ?
शिक्षामा गुणात्मक विकासका लागि सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन, गणित, विज्ञान, अंग्रेजी विषयका शिक्षकलाई तालिम, प्रधानाध्यापकको नेतृत्व विकासका लागि बजेट विनियोजन, विद्यार्थी संख्याका आधारमा अनुदान वितरण, त्यसै अनुपातमा विद्यालय भवनलगायतका संरचना निर्माण गर्ने नीति छ । विद्यार्थी विनाको जागिर खाने प्रबृत्ति भएका विद्यालयको हकमा भने अनुदान दिइने छैन । विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई ९८ दिनसम्म सुत्केरी विदा, शिक्षक कर्मचारीलाई पुरस्कार र दण्ड, स्तरोन्नति गर्ने योजना छ ।

स्वास्थ्य सेवा सुधार्न के गर्दै हुनुहुन्छ ?
सबै वडाका स्वास्थ्य संस्थाहरूबाट सहज रुपमा नागरिकले उपचार पाउने व्यवस्था मिलाइएको छ । औषधि अभाव हुन नदिन आवश्यक औषधि खरिदमा बजेट उपलब्ध गराइने छ । उपचारकै अभावमा अकालमा मर्नु बाध्यतालाई ध्यानमा राखेर स्वास्थ्य क्षेत्रमा काम भइरहेको छ ।

पर्यटन विकासका लागि के योजना बनाउनुभएको छ ?
खोटेहाङ गाउँपालिकाको पर्यटकीय क्षेत्र रोक्सिङ भन्ज्याङ, सोलढुङ्गा, इन्द्रेणीपोखरी, सिम्पानी लगायतको पर्यटन विकासमा जोड दिइएको छ । आगामी पाँच वर्षभित्र पर्यटनको राम्रो खाका आइसक्ने छ ।

भौतिक पूर्वाधारको अवस्था कस्तो छ ?
भौतिक पूर्वाधार ठिकै छ । खोटाङबजारबाट सेवा दिइरहेका कार्यालयहरू इलाका प्रशासन, इलाका प्रहरी, इलाका पशुसेवा, इलाका कृषि, इलाका वन, नापाी, मालपोत, स्वास्थ्य, आयुर्वेद, राष्ट्रिय वाणिज्य बैंकमध्ये धेरैजसोको कार्यालय भवन बनिसकेको छ ।

प्रशासन र स्वास्थ्यकको निर्माणधीन अवस्थामा छ । प्रहरी, कृषि, पशु, वन लगायतको निर्माण भइसकेको छ । अन्य वडामा पनि सेवा प्रदायक निकायको भवन निर्माण भइरहेको छ । खोटेहाङ गाउँपालिकाभित्रै थामखर्क विमानस्थल पर्छ, उक्त विमानस्थलको कालोपत्रे पनि भइरहेको छ ।

प्रकाशित : वैशाख १३, २०७५ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?