२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

महोत्सव औपचारिकता मात्रै

ओखलढुंगा — तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘पोकली झरना महोत्सव २०६४’ उद्घाटन गर्न आए । उनले पोकलीलाई पर्यटकीय गन्तव्य बनाउन सरकारले सहयोग गर्ने घोषणा गरे । उनले ढिँडोको परिकार खाएको चर्चा देशभरि भयो ।

महोत्सव औपचारिकता मात्रै

त्यसयता पोकली झरना महोत्सवले दुई वर्षसम्म औपचारिकता मात्र पायो । नाम महोत्सव भनिए पनि उत्सव सरह हुन सकेन । २०६६ सालको माघमा ‘रुम्जाटार साँस्कृतिक महोत्सव’ भव्य आयोजना गरियो । महोत्सवका लागि आवश्यक सामग्री र कलाकार विमान चार्टर गरेर ल्याइयो । लाखौं मूल्यको स्टेज निर्माण गरियो ।

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल जम्बो टोली सहित महोत्सव उद्घाटन् गर्न हेलिकप्टर लिएर आए ।

उनले शिलान्यास गरेको ‘रुम्जाटार गुरुङ संग्रहालय’ निर्माण हुने त कुरै छाडौँ, कहाँनेर शिलान्यास भएको थियो भन्ने स्थानीयले बिर्सिसके ।

रुम्जाटार महोत्सव दोहोरिएर हुन सकेन् । २०६७ सालमा ककनी गौरीवन महोत्सवको आयोजना तामझामका साथ गरियो । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईलाई उद्घाटन गराउने भनेर पूर्वतयारी गरेपनि पार्टीगत विवाद तन्किएपछि प्रधानमन्त्री आउन सकेनन् । ककनी महोत्सव नारामै सीमित भयो । अर्को सालदेखि त्यसले निरन्तरता पाएन । गत साल जिल्लाकै सबैभन्दा अग्लो भूभाग भनिएको ‘थोलेदेम्बा महोत्सव’को तामझाम कम्ति थिएन । राष्ट्रपति विद्यादेवी भण्डारी उद्घाटनका लागि देम्बा आउँदा सुरक्षाका लागि सेनाहरू गुराँसका बोटबोटमा चढ्नुपर्‍यो । पर्यटकीय पदमार्ग बनाउने र वर्षेनी हजारौं पर्यटक भित्र्याउने भाषण महोत्सव अवधिका लागि मात्र भयो । यसवर्ष महोत्सवले निरन्तरता पाएन ।

यी केही उदाहरण मात्र हुन् । जिल्लामा भएका यस्ता साना ठूला महोत्सवहरू प्राय: एकपटक आयोजना भएपछि दोहोरिन सकेका छैनन् । दोहोरिएपनि त्यसले भव्यता पाउन सकेको छैन । औपचारिकताका लागि मात्र कार्यक्रम गरिएका छन् । यसको मूल कारण आयोजना गर्दाको ऋण तिर्न नसक्नु, आयोजकभित्रै दोषारोपण गर्नु र पार्टीगत रुपले जस लिने तहमा विभाजित हुनु हो । ‘हामीले सोचे जस्तो महोत्सव आयोजना गर्नु सहज रहेनछ् ।’ रुम्जाटार महोत्सव आयोजना गरेका स्थानीय सिताराम गुरुङले भने, ‘त्यतिखेरको तनावले अहिले सम्म छोडेको छैन । अर्को आयोजना गर्ने परकै कुरा भयो ।’ अझ थोलेदेम्बा महोत्सवका आयोजकहरू बिचमा त आयव्यय विवाद अझै अन्त्य भएको छैन ।

जिल्लाका सांसदहरूले आयव्यय विवरण सार्वजनिक गर्दा समेत आयोजक समितिका पदाधिकारीबिचकै किचलोले अर्को महोत्सव आयोजना गर्ने कल्पना गर्न नसकिएको आयोजक मूल समारोह समितिका संयोजक डेण्डी शेर्पाले बताए ।

प्रकाशित : वैशाख १३, २०७५ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?