बेलायतीले बनाइदिए विद्यालय

भवन निर्माणमा दाताले ७५ र समुदायले २५ प्रतिशतको योगदान गरेका थिए 
आनन्द गौतम

लेलेप (ताप्लेजुङ) — वैशाख १२ गतेको महाभूकम्पले भत्काएका फक्तालुङ गाउँपालिकाका पाँच विद्यालय बेलायती नागरिकले बनाइदिएका छन् । विश्वको तेस्रो कञ्चनजंघा हिमालका पहिलो आरोही जर्ज बेन्डद्वारा स्थापित संस्था हिमालयन ट्रस्ट यूकेले निर्माण गरिदिएको हो ।

बेलायतीले बनाइदिए विद्यालय

यसको समन्वय ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले गरेको थियो । दाताहरूकै उपस्थितिमा यसै साता नवनिर्मित भवनको उद्घाटन गरिएको छ । यूकेले फक्तालुङगाउँपालिका ६ लेलेपको लुङथुङ, लावाजिन र देउराली तथा वडा ५ इखावुको विपुधाम र सेवालुङ आधारभूत विद्यालयमा भवन निर्माण गरिदिएको हो ।

लुङथुङमा ४९ लाख ४० हजार लागतमा दुईवटा पाँच कोठे, देउरालीमा १५ लाख ३९ हजारमा ठूलो हल भएको एक कोठे र बाँकी सबै विद्यालयमा दुई कोठे पक्की भवन निर्माण भएका छन् ।

सेवालुङमा १९ लाख ६७ हजार, विपुधाममा २० लाख ४६ हजार र लावानीमा २० लाख ९३ हजार खर्च भएको रिड नेपालका लेखापाल तेज उपाध्यायले बताए ।


भवन निर्माणमा दाताले ७५ र समुदायले २५ प्रतिशतको योगदान गरेका थिए । प्राविधिक सहयोग यूकेले नै गरेको थियो । दुईजना प्राविधिकलाई गाउँमै राखेर नियमित अनुगमन गराई भूकम्प प्रतिरोधी भवन बनाएको रिड नेपालका प्रबन्धक राजेन्द्र पन्तले बताए । यी भवन अब कुनै पनि दृष्टिले जोखिममा नरहेको उनको दाबी छ ।

भवन अनुगमन तथा उद्घाटनका लागि आएका संस्थाका प्रमुख जोन वाल्टनले नेपालीको धैर्य र सहकार्यको प्रशंसा गरे । ‘भूकम्प आउनासाथ म आएको थिएँ । विद्यालयको अवस्था दयनीय थियो । सबै बालबालिका खुला चौरमा थिए ।

पुराना संरचना भत्किएर जमिन भद्रगोलजस्तो अवस्थामा थियो । तपाईंहरूले सहकार्य गर्नुभयो र धैर्य अपनाउनुभयो । म यसको प्रशंसा गर्छु,’ जोनले थपे, ‘हामी चाहन्छौं, यस्ता विपत् नआऊन् । यदि यस्तो संकट परेमा हामी फेरि पनि सहयोग गर्न तत्पर छौं र सहकार्य गर्न चाहन्छौं ।’

भूकम्पपछि यूकेले तत्काल पढाइ सञ्चालनका लागि टेन्ट उपलब्ध गराएको थियो भने पाँचवटै विद्यालयमा अस्थायी भवन (टीएलसी) निर्माण गरिदिएको थियो । त्यसैमा बसेर पढ्दै आएका विद्यार्थी नव निर्मित भवनमा सरेका छन् । १० जना बेलायतीको टोलीले प्रत्येक विद्यालयमा पुगेर अनुगमन गरेका छन् ।

प्रकाशित : वैशाख १३, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?