१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

गुराँस टिप्नेलाई ‘जंगलमै कारबाही’

चन्द्र कार्की

तेह्रथुम — घुम्न आउनेले गुराँसको फूल टिपेर लैजान थालेपछि 'गुराँसको राजधानी' तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा जिल्ला वन कार्यालयले फूल टिप्न प्रतिबन्ध लगाएको छ । पर्यटकले फूल टिप्दा हाँगा समेत भाँच्न थालेपछि वन कार्यालयले फूल टिप्न नै प्रतिबन्ध लगाएको हो । 

गुराँस टिप्नेलाई ‘जंगलमै कारबाही’

फूल टिप्दा सौन्दर्य गुम्ने र हाँगा भाँच्दा अर्को वर्ष समेत असर पर्ने भन्दै वन कार्यालयले सार्वजनिक सुचना नै प्रकाशित गरेर फूल टिप्न प्रतिबन्ध लगाएको हो । सूचना बेवास्ता गरी कसैले फूल टिप्ने र हाँगा भाँच्ने कार्य गरेको पाइए कार्यस्थलमै कारबाही गरिने वन अधिकृत देवीचन्द्र पोखरेलले बताए ।


थोरै मात्रामा फूलेको गुराँसका फूल समेत पर्यटकले टिपेर लैजान थालेपछि ‘गुराँसको फूल जोगाऔं’अभियान सुरु गरिएको वन कार्यालयले जनाएको छ ।

फूल टिप्दा हाँगासमेत भाँचिने हुँदा गुराँसका प्रजाति मासिन सक्ने अधिकृत पोखरेलको भनाइ छ । फूलसँगै हाँगा भाँच्दा गुराँसको बोट सुक्ने वन प्राविधिकहरुको भनाइ छ । यो क्षेत्रमा २८ प्रजातिका गुराँस फूलीरहेका छन् । लालीगुराँस नगरपालिकाको देउरालीबाट सुरु हुने गुराँस क्षेत्रमा यतिबेला दैनिक ५ सय बढीको संख्यामा पर्यटक आइरहेका छन् । गुराँसको सौन्दर्यमा रमाउन र घना गुराँसे जंगलमा घुम्न आउने पर्यटकले गुराँसको फूल टिपेर लैजाने गरेका छन् । सवारी साधनमा आउने यस्ता आन्तरिक तथा बाह्य पर्यटकले फूल टिपेर गाडीमा लोड गरेर समेत लैजाने गरेका छन् ।


फूल टिप्दा हाँगा भाँचिने भएकाले बोट सुक्ने र अर्को वर्ष नफूल्ने सहायक वन अधिकृत ललनकुमार मण्डलले बताए । ‘फूल टिप्दा कि त बोट सुक्छ, बोट नसुके अर्को वर्ष फुल्दैन’ उनले भने । वसन्तपुरदेखि मिल्के हुँदै ताप्लेजुङको साँघुसम्म सडक निर्माण भइसकेकाले पनि यो सडकमा यात्रा गर्ने जोकोहीले फूल टिपेर लैजाने गरेका छन् । यो सडकको दायाँबायाँ राताम्मे भएर गुराँस फुलेका छन् ।


स्थानीयले गुराँस टिपेर जुस, वाईन र रक्सी समेत बनाउने गरेका छन् । जसले गर्दा पनि गुराँसे जंगलमा फूल मासिने क्रम बढेको इलाका वन कार्यालय वसन्तपुरका सहायक वन अधिकृत देवनाथ शाहले बताए । फूल टिप्ने क्रम रोक्न वन कार्यालयले सामुदायिक वन उपभोक्ता समितिका पदाधीकारी र वन कर्मचारी समेत परिचालन गरेको छ ।


आवश्यक परे प्रहरीसमेत परिचालन गरेर भए पनि गुराँसको फूल टिप्ने काम रोकिने वन अधिकृत पोखरेलको भनाइ छ । वन कार्यालयले पर्यटक फर्किने मुख्य नाका, सहायक नाका, गौंडा तथा जंगलबाट फर्किंदा पहिले भेटिने बजारका चौक र जंगल क्षेत्रमै गोप्य रुपमा सुराकी खटाएको छ । छद्मभेषमा खटिएका निगरानीकर्ताले फूल टिपेको भेटेमा समाएर वन कार्यालयलाई बुझाउनेसम्मको अधिकार पाएका छन् । पक्राउ परेकाहरुलाई वन ऐन तथा नियमावलीअनुसार कारबाही गरिने वन कार्यालयले जनाएको छ ।

जलवायु परिवर्तनका कारण प्रत्येक वर्ष गुराँस कम फूलीरहेको कार्यालयले जनाएको छ । थोरै मात्रामा फूलेको गुराँससमेत पर्यटकले टिपेर लैजान थालेपछि ‘गुराँसको फूल जोगाऔं’अभियान सुरु गरिएको वन कार्यालयले जनाएको छ । पर्यटकले फूल टिपेर लैजाने गरेकाले यस क्षेत्रको सौन्दर्य गुमेका कारण पर्यटक आगमनको संख्या घट्न थालेको घुर्मिसेका सञ्जीव लिम्बूले बताए । पहिले आउने पर्यटकले फूल टिपेर लैजाने गर्दा पछि आउनेले नदेख्ने गरेको उनको भनाइ छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते यहाँ घुम्न आएका ५० हजार बढी आन्तरिक तथा बाह्य पर्यटकले गुराँसको फूल टिपेर लगेका थिए ।

गुराँसभूमि टिएमजे क्षेत्रको मुख्य प्रवेशद्वार लालीगुराँस नगरपालिकाले भने गुराँस टिप्न रोक्ने विषयमा कुनै पहल नै नगरेको सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष तुलसी संग्रौलाले आरोप लगाए । यहाँको पर्यटन व्यवसायको मुख्य आधार बनेको गुराँस फूल जोगाउने अभियानमा नगरपालिकाले चासो दिनुपर्ने उनले बताए । गुराँसका कारण प्रदेश नम्बर १ कै प्रमुख पर्यटकीय गन्तव्य बन्दै गएको टिएमजे क्षेत्रको गुराँस वन संकटमा पर्ने डरमा संरक्षणकर्मी र पर्यटन व्यवसायीहरु परेका छन् ।

प्रकाशित : वैशाख १३, २०७५ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?