साइकलमा सरर...

प्रदीप मेन्याङ्बो

धरान — केही समयअघि कलेज पढ्ने युवाका लागि साइकल आफ्नो समूहमा ‘धाक जमाउने’ विषय बन्थ्यो । त्यसलाई बिस्तारै मोटरसाइकल, त्यसपछि कारले विस्थापित गरिदियो ।

साइकलमा सरर...

जमाना फेरि साइकलकै आएको छ । सहरी युवाका लागि शारीरिक तन्दुरुस्ती र वातावरणमैत्री सवारी साधनका रूपमा प्रयोग बढिरहेको छ । पर्यटकीय महत्त्वका रमणीय स्थल भ्रमण गर्ने ‘एडभेन्चर’ सवारीसाधनका रूपमा पनि युवाले साइकल प्रयोग गर्दै आएका छन् । घरमा कार र मोटरसाइकल हुने युवाले पनि साइकल किनेर चलाउन थालेका छन् ।


शारीरिक कसरत हुने र वातावरणलाई असर नगर्ने सवारी साधनका रूपमा युवाले पछिल्लो समय साइकलमा रुचि देखाएको साइक्लिस्ट दिलीप रिनोहोङले बताए । उनले भने, ‘सहरमा मानिस व्यस्त हुन थालेका छन् । कसरत गर्ने फुर्सद छैन । यस्तो अवस्थामा अफिस, सपिङमल वा आफन्तको घरसम्म साइकल चलाएर गए कसरत पनि हुन्छ । यो वातावरणमैत्री छ । पेट्रोलमा खर्च हुँदैन न त ध्वनि प्रदूषण हुन्छ ।’


रिनोहोङले साइकल कुदाउन थालेको ६ वर्ष भयो । पहिलेपहिले मोटरसाइकल र कारमात्र कुदाउने गरेका उनी अचेल अरूलाई पनि साइकल कुदाउन सुझाव दिन्छन् । उनको साइकल कुदाउनुको उद्देश्य व्यक्तिगत स्वास्थ्यसँगै धरानलाई प्रदूषणमुक्त सहर बनाउन प्रेरित गर्नु हो । श्याम तामाङ, प्रियस गुरागाईं, राजेश शाक्य, विजय श्रेष्ठ, गोविन मास्के, फरेन लिम्बू, देवेन्द्र थेगिम, अन्जना लिम्बू, राजन लिम्बू, अभिषेक राई, सन्तोष थेगिम, ममता राई, साङमु शेर्पा, मनोज राईलगायत पनि दैनिक आठदेखि १२ किलोमिटर साइकल यात्रा गर्छन् । सुनसरी जिल्ला साइक्लिङ एसोसिएसनका अध्यक्ष समेत रहेका तामाङले धरानलाई प्रदूषणमुक्त सहरको रूपमा स्थापित गर्न आसपासका विभिन्न रमणीय स्थान पुग्ने गरेको बताए । उनले भने, ‘साइक्लिङ रुटका लागि हामीले धरान आसपास दर्जनभन्दा बढी स्थान पहिचान गरेका छौं । काठमाडौं र पोखराबाट आउने साइक्लिस्टहरूले धरानका रुट आनन्ददायक भएको प्रतिक्रिया दिएका छन् ।’


उनीजस्तै साइकलप्रेमी युवाको जमात धरानमा बढदै गएको छ । उनले भने, ‘कतिपयलाई लाग्ला, यी केटाहरूले देखावटी गरिरहेका छन् तर साइकल कुदाउनुको मज्जा अर्कै छ । यसको फाइदा साइकल कुदाउने व्यक्तिलाई त हुने नै भयो, पेट्रोलियम पदार्थबाट निस्कने हानिकारक सिसा, धुवाँ, धुलोमा केही न केही कमी आउँछ ।’


धरानमा आधा दर्जन साइक्लिङ क्लब छन्– धरान साइक्लिङ क्लब, साइक्लिङ धरान, स्ट्रिम धरानलगायत । धरानबाट चारकोसे जंगल सफारी, अमाहा हुँदै बक्लौरीको राष्ट्रिय सम्मानित इमानसिं चेम्जोङ प्रतिष्ठान ताल, चारकोसेको फायर लाइन हुँदै धरान दक्षिणको हरियाली सामुदायिक वन, धरानदेखि कोसीटप्पु, धरानदेखि भेडेटार, नाम्जे हुँदै शिखरबास ओरालो फेरि धरान, धरानदेखि बुढासुब्बा हुँदै झोलुंगेपुल तरेर वसन्तटार, बगरकोटलगायत साइक्लिङ रुट पहिचान गरिएका छन् ।


राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको साइक्लिङ प्रतियोगिता गर्दै आएका यहाँका युवा साइकल यात्रालाई प्रोत्साहन गर्ने उद्देश्यले पूर्व, पश्चिम तथा उत्तर दक्षिणका पहाडी तथा तराई क्षेत्रका विभिन्न स्थान साइकलमै पुग्ने गरेका छन् ।


काठमाडौं, पोखरा, बुटवललगायतबाट साइकलप्रेमीहरू बेलाबेला धरान आउने गरेका छन् । उनीहरूलाई धरानका विभिन्न समूहले गाइड गरेर घुमाउने गरेका छन् ।


धरानलाई साइकल सिटी बनाउन आफूहरू प्रयासरत रहेको अर्का साइकलप्रेमी देवेन्द्र थेगिमले बताए । ‘धरानदेखि लुम्बिनीसम्म साइकल यात्रा गर्दा पनि आफूले अलिकति भए पनि सहरलाई वातावरणमैत्री बनाएको फिल हुन्छ,’ उनले भने ।


धरानमा साइकलयात्राको रुट आफैं बनाएर साइकल पर्यटनमा जोड दिने अगुवा फरेन लिम्बू हुन् । बढो जनघनत्व, सवारी चाप, साँघुरो सडकमा साइकल एक मात्र विकल्प रहेको उनले बताए । उनले भने, ‘नयाँ पुस्तालाई साइकल यात्राप्रति जागरुक बनाउन प्रेरित गर्दै छौं । सुनसरी साइक्लिङ एसोसिएसनले पनि युवायुवतीलाई साइकल यात्रा गर्न प्रेरित गर्दै आएको छ ।’

प्रकाशित : वैशाख १६, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?