१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पुल नहुँदा सास्ती

‘महँगो त छँदैछ, मनपरी भाडाले ढाड सेकेको छ’

संखुवासभा — अरुण नदीमा पक्की पुल नहुँदा भोजपुर र संखुवासभाका सर्वसाधरणले सास्ती भोग्दै आएका छन् । संखुवासभाको हेलुवाबेंसी र भोजपुरको बुम्लिङटारको सिमानाबाट बग्ने अरुणमा पक्की पुल नहुँदा समस्या भएको हो ।

पुल नहुँदा सास्ती

झोलुंगे पुलको सहायतामा दुई जिल्लाका स्थानीय आवतजावत गर्छन् । सदरमुकाम खाँदबारीबाट ढुवानी गरिएका सामान तार्न र भोजपुरबाट ल्याइएका दैनिक उपभोग्य सामग्री भरिया र खच्चडको सहायतामा तार्नुको विकल्प छैन । ढुवानी गरिएका सामान पुल वारपार गर्न भरियाहरूलाई महँगो मूल्य तिर्नुपरेको भोजपुर बुम्लिङटारका होटल व्यवसायी तारा थापाले बताइन् । ‘महँगो त छँदै छ,’ उनले भनिन्, ‘मनपरी भाडाले ढाड सेकेको छ । पक्की पुल हुने हो भने भरको आँगनमा सामान आइपुग्ने थियो । पुल तार्न मात्र खाँदबारीदेखि हेलुवाबेंसीसम्मको दोहोरो भाडा तिर्नुपर्ने बाध्यता छ । त्यो पनि कहिलेकाहीँ भरिया नपाइने र खच्चडसमेत नपाउँदा बाटैमा सामान अलपत्र पर्ने गरेको छ ।’ उनका अनुसार पानी परे सबै भिज्छ । सडक किनारमा सामग्री राख्दा हराएको र चोरी हुन्छ ।

झोलुंगे पुलको वारिपारि सडकसमेत जोडिएको छ । खाँदबारीबाट हेलुवाबेंसीसम्म नियमित गाडी सञ्चालनमा छ । भोजपुरको बुम्लिङटार भोजपुरमा पनि गाडी सञ्चालनमा छ । तर, पक्की पुल नहुँदा खाँदबारीबाट भोजपुर हिँडेका यात्रु पुल तरेर बुम्लिङटारबाट अर्को गाडीको यात्रा गर्नु पर्ने बाध्यता छ । ‘कहिलेकाहीँ हेलुवाबेंसी पुगेका यात्रु बुम्लिङटारमा गाडी नपाउँदा अलपत्र पर्छन्,’ उनले भनिन् । संखुवासभाको सिलिचोङ गाउँपालिकाका स्थानीय पनि यहीँ पुलबाट हिंड्नुपर्छ । अरुणपारिको गाउँपालिका भनेर चिनिने साबिक बाला, सिसुवा, ताम्कु, माङ्तेवा र याफु गाविसका सडक सञ्जालले जोडिए पनि पक्की पुल नहुँदा समस्या उस्तै छ । अध्ययनका क्रममा खाँदबारी बस्दै आएका सिसुवाकी कल्पना राई घर जाँदा हेलुवाबेंसीमा अलपत्र पर्ने गरेकी बताउँछिन् । खाँदबारीबाट ४ सय भाडा तिरेर हेलुवाबेंसी त पुगिन्छ तर बुम्लिङटारमा गाडी नपाउँदा हेलुवाबेंसीमा नै बस्नुपर्छ, उनले भनिन्, पुल बनेको भए घरैसम्म पुगिने थियो । माङ्तेवाका जयकुमार राई सदरमुकाम खाँदबारीबाट गाउँसम्म जाने सडक जोड्न ३ वर्षअघि कम्मर कसेर लागिपरेको सम्झन्छन् । स्थानीय बासिन्दाको जनश्रमदान र स्थानीय निकायको सहयोगमा उनीहरूले ७ किमि सडक पनि खन्ने काम गरेको बताए । तर, सडक खनेको ३ वर्ष भइसक्दा पनि उनको मोटर चढ्ने रहर पूरा भएको छैन ।

‘घरछेउमै सडक खनेर त लगियो तर, पुल नभएपछि यातायातका साधन ल्याउन सकिरहेका छैनौं,’ उनले भने, ‘सडकमा लगानी गरेको श्रम र पसिना त्यसै खेर गयो ।’ उनीहरूले ३ वर्षअघि ७ किमि सडक खनेका थिए । सिलिचोङ गाउँपालिका र भोजपुरको उत्तरी क्षेत्र जाने सडक खनिए पनि अरुण नदीमा झोलुंगे पुल भएकाले प्रयोगविहीन भएको उनले बताए ।

सिसुवाखोला, बाला, ताम्कु र माङ्तेवा तथा भोजपुरको कुलुङ, चौकीडाँडा, खाटम्मा हुँदै सदरमुकाम जोड्ने सडक खनिएको हो । ‘३ वर्षअघि नै हेलुवाबेंसीदेखि माङ्तेवा हुँदै ताम्कुसम्म जाने सडक खन्न थालिएको र अघिल्लो वर्ष नै माङ्तेवासम्म सडक पुगिसके पनि त्यसको कुनै प्रयोग हुन सकेन,’ माङ्तेवाका हरि कुलुङले भने । खाँदबारी बजारसम्म यहाँका सामग्री लगेर बेच्ने सपना अधुरै रहेको माङ्तेवा जौलेटोलका कृषक पार्वती कुलुङ बताउँछिन् । भन्छिन्, ‘स्थानीय निकाय र सडक विभागले छिटै पुल निर्माण गरिदिनु पर्‍यो ।’

प्रकाशित : वैशाख २५, २०७५ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?