कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

राष्ट्रिय गौरवको वैकल्पिक मार्ग निर्माण तीव्र

डिल्लीराम खतिवडा

उदयपुर — वैकल्पिक मार्ग निर्माणको काम तीव्र गतिमा भइरहेको छ । अहिलेकै अवस्थामा निर्माण भइरहे लक्ष्यअनुसार नै काम सम्पन्न हुने निश्चित छ ।

राष्ट्रिय गौरवको वैकल्पिक मार्ग निर्माण तीव्र

राष्ट्रिय गौरवको योजना मानिएको वैकल्पिक मार्ग (धरान–चतरा हेटौंडा सडक योजना) ३ वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य राखिएको हो । सडक विभागले सडक विस्तार हुने क्षेत्रको क्रमश: अवरोध हटाउँदै गएपछि कामले तीव्रता पाएको छ । जंगल क्षेत्रका रूख हटाउने र घरटहराका लागि मुआब्जा लगायतका काम अगाडि बढाएकाले दु्रतगतिले निर्माणले अगाडि बढिरहेको छ ।

चैत मसान्तसम्म भौतिक रूपमा ३५ प्रतिशतभन्दा बढी नै काम भइसकेको पूर्वी खण्ड निर्माण गर्न ठेक्का लिएको कम्पनी जेडआईईसी लामा एन्ड शर्मा जोइन्ट भेन्चरले जनाएको छ । ‘३५ प्रतिशतभन्दा बढी नै भौतिक निर्माणको काम भइसकेको छ,’ कम्पनीका प्रोजेक्ट मेनेजर निर्माण पोखरेलले भने, ‘सिन्धुलीतर्फको विद्युत् पोल हटाउनेबाहेक अन्य क्षेत्रमा रहेको अवरोध हटेको छ ।’ सिन्धुली क्षेत्रका विद्युत् पोल हटाउने काम नहुँदा रूख कटान पनि रोकिएको उनले बताए । धरान–चतरा–हेटौंडा सडक योजना दुई खण्डमा विभाजन गरेर काम भइरहेको छ । धरानदेखि सिन्धुलीको
भिमादसम्म पूर्वी खण्डमा पर्छ । पूर्व खण्डमा ४३ वटा पुलसहित सडक विस्तार भइरहेको छ । विस्तार भइरहेको सडकको चैत मसान्तसम्म पुलको ३० प्रतिशत र सडकतर्फ २६ दशमलव ५ प्रतिशतले आर्थिक प्रगति भएको सडक आयोजना पूर्व खण्ड कार्यालय गाईघाटले जनाएको छ ।

‘आर्थिक प्रगति पनि लक्ष्यअनुसार नै भएकाले सडक निर्माणले तीव्रता लिएको छ,’ आयोजना प्रमुख उमेशविन्दु श्रेष्ठले भने, ‘आर्थिक प्रगतिसँगै भौतिकसमेत भएकाले चुस्त दुरुस्त रूपमा काम अगाडि बढिरहेको छ ।’ सडक विस्तार हुने विशेष गरी सिन्धुली क्षेत्रमा मुआब्जा निर्धारण भइसकेकाले घरटहराका कारणले काम रोकिने समस्या समाधान भइसकेको उनले वताए । सिन्धुलीमा ५ सय २४ घरधुरीको २० करोड ६४ लाख रुपैयाँ मुआब्जा निर्धारण भई घरटहरा हटाउने काम भइरहेको आयोजना प्रमुख श्रेष्ठले बताए । ‘उदयपुरतर्फ पनि घरटहराको मूल्यांकन गरेर प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा भएको मुआब्जा निर्धारण समितिमा पेस गरिएको छ ’ प्रमुख श्रेष्ठले भने, ‘यसको पनि चाँडै टुंगो लाग्नेछ ।’ सडक विस्तार हुने क्षेत्रमा मुआब्जा निर्धारण भएपछि चाँडै उदयपुरमा पनि घरटहरा हटाउने काम हुने उनले बताए ।

सडक निर्माणको क्रममा सार्वजनिक निर्माणअन्तर्गत सुरुको १ अर्ब ५८ करोड र ६ महिनापछि १ अर्ब ५८ करोड रकम विनियोजन भएको छ । विनियोजित रकमबाट आर्थिक वर्ष ०७४/०७५ चैत मसान्तसम्म सकिएकाले चालु आर्थिक वर्षको बाँकी अवधिका लागि १ अर्ब ७० करोड सडकतर्फ रकम आवश्यक रहेको आयोजना प्रमुख श्रेष्ठले बताए । त्यसैगरी घरटहरा मुआब्जाका लागि २८ करोड रुपैयाँ आवश्यक पर्नेमा थप २३ करोड रुपैयाँ आर्थिक वर्षको चालु अवधिका लागि आवश्यक रहेको श्रेष्ठले बताए । आर्थिक र भौतिक प्रगतिसँगै सडक निर्माणमा गुणस्तरीय काम भइरहेको आयोजनाले दाबी गरेको छ । राष्ट्रिय गौरवको योजना भएकाले पनि गुणस्तरमा कुनै किसिमको सम्झौता नगरिएको सम्बद्ध अधिकारी बताउँछन् ।

प्रकाशित : वैशाख २६, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?