कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सय अपांग बालबालिका छात्रवृत्तिबाट वञ्चित

रमेशचन्द्र अधिकारी

धनकुटा — साबिक जिल्ला शिक्षा कार्यालय (शिक्षा विकास तथा समन्वय इकाई कार्यालय) धनकुटाबाट भएको सामान्य गल्तीका कारण जिल्लाका सयजना विशेष क्षमता (अपांगता भएका बालबालिका) १० महिनादेखि आवासीय छात्रवृत्ति पाउनबाट वञ्चित भएका छन् ।

सय अपांग बालबालिका छात्रवृत्तिबाट वञ्चित

जसका कारण उनीहरूको भरणपोषणमा चरम समस्या उब्जिएको छ ।

शिक्षा कार्यालयको प्राविधिक त्रुटिले आवासीय छात्रवृत्तिको शीर्षक परिवर्तन हुँदा विगत १० महिनादेखि अपांग विद्यार्थी आवासीय छात्रवृत्ति पाउनबाट वञ्चित रहेको कार्यालय स्रोतले जनाएको छ । तर शिक्षा कार्यालयको सामान्य गल्तीका कारण छात्रवृत्तिबापतको रकम नपाउँदा स्रोत कक्षा सञ्चालन भएका विद्यालयमा रहेका ती विद्यार्थीलाई भरणपोषणमा चरम समस्या परेको मार्गेश्वरी प्रावि तथा सुस्तश्रवण स्रोत केन्द्रका प्रधानाध्यापक श्रवणलाल राईले बताए ।

‘रकम उपलब्ध नहुँदा ऋण काढेर बालबालिकाको भरणपोषण गराउँदै आएको छु,’ उनले भने, ‘अब त चरम समस्या नै उब्जिसकेको महसुस भएको छ ।’ शिक्षा कार्यालयले एलएबीएस भर्दा आवासमा बस्ने अपांगता विद्यार्थीको छात्रवृत्ति उल्लिखित ६ नं. बुँदा अनुसार रकम माग फारम भर्नुपर्नेमा विशेष विद्यालयका लागि भन्ने ८ नं. उल्लेख गरिएको समन्वय इकाई प्रमुख थापाले जनाए ।

गल्तीलाई सच्याएर रकम पठाउन बारम्बार ताकेता गर्दा समेत शिक्षा मन्त्रालयले रकम उपलब्ध नगराएको केन्द्र स्रोतको भनाइ छ । आवासमा बस्ने अपांगता भएका विद्यार्थीको छात्रवृत्ति हुनुपर्नेमा विशेष विद्यालयको शीर्षकको फारम भरिएकाले उक्त समस्या भएको समन्वय इकाई कार्यालयका प्रमुख रामबहादुर थापाले बताए । १० महिनासम्म रकम निकासा नहुँदा राई मात्र नभएर सम्बन्धित विद्यालयका शिक्षकले आफ्नै तलब र ऋण काढेर बालबालिकालाई पालनपोषण गर्न बाध्य भएको गुनासो गरे । बालबालिकालाई १० महिनासम्मको करिब ४० लाख रुपैयाँ निकासा गराइएको छैन । सरकारले धनकुटाका ७ वटा विद्यालयका एक सय बालबालिकालाई प्रतिव्यक्ति मासिक ४ हजार रुपैयाँ आवासीय छात्रवृत्ति उपलब्ध गराउँदै आएको थियो ।

जिल्लाका मार्गादेवी प्रावि डुम्रेसान्नेका १०, मार्गेश्वरी प्रावि छारागाउँका १८, कौशिका आधारभूत प्राविका ९, हिले माविका १३, आधारभूत प्रावि उत्तरपानीका ३०, ग्रामीण सामाजिक मावि घोर्लिखर्कका १० र नागेश्वर मावि लेगुवाका १० विद्यार्थी छन् । विद्यालयमा १२० जना बहिरा तथा सुस्तश्रवण विद्यार्थी अध्ययनरत छन् ।

उनीहरूले पाउने आवासीय छात्रवृत्तिबाट आवासीय सुविधा उपलब्ध गराइएको थियो । तर नयाँ आर्थिक वर्ष सुरु भएदेखि नै उक्त छात्रवृत्ति नपाइएको स्रोत शिक्षक राईले बताए । शिक्षकले दैनिक उपभोग्य सामग्री खरिद गर्दा लाखौं रकम पसलमा बाँकी रहेकाले समस्या उब्जिएको सम्बन्धित शिक्षकले जनाए । मूलघाटस्थित कौशिका आधारभूत विद्यालयमा ९ जना बहिरा तथा सुस्तश्रवण विद्यार्थी आर्थिक अभावका कारण भरणपोषणमा समस्या परेको विद्यालयका स्रोत शिक्षक रोहिणी पाण्डेले बताए । ‘बजेट निकासा हुने आशामा आफ्नै तलबबाट काम चलाउँदै छु, उनले भने शिक्षा कार्यालयको आश्वासनले सास्ती भएको छ ।’

डुम्रे सान्नेस्थित मार्गादेवी प्राथमिक विद्यालयमा छात्रवृत्तिबापतको रकम नपाउँदा उनीहरूलाई तलबबाट भरणपोषण गरिरहेको प्रधानाध्यापक तथा दृष्टिविहीन स्रोत कक्षाका स्रोत शिक्षक यज्ञप्रसाद दाहालले बताए । हिले माध्यमिक विद्यालयमा रहेका १३ जना सुस्त श्रवण तथा बहिरा विद्यार्थीलाई पनि पसलबाट उधारोमा सामान ल्याएर भरणपोषण गरिरहेको स्रोत शिक्षक टंक थापाले बताए ।

उत्तरपानीस्थित आधारभूत प्राथमिक विद्यालयमा बौद्धिक अपांगता भएका ३० भन्दा बढी विद्यार्थी आवासीय सुविधासहित अध्ययरत छन् । तर आवासीय छात्रवृत्ति उपलब्ध नहुँदा यतिबेला संकटमा परेको शिक्षिका कमला दाहालले बताइन् । आर्थिक समस्या भए पनि नयाँ शैक्षिक सत्रबाट स्रोत कक्षा सञ्चालन गर्न छोड्ने स्थितिमा पुगेको सम्बन्धित विद्यालयका शिक्षकको भनाइ छ ।

प्रकाशित : वैशाख २८, २०७५ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?