धनकुटामा बस दुर्घटना, १७ घाइते, सातको अवस्था गम्भीर

रमेशचन्द्र अधिकारी

धनकुटा — कोसी राजमार्गको धरान–धनकुटा सडकखण्ड अन्तर्गत स्कुलडाँडा नजिक शुक्रबार भएको सवारी दुर्घटनामा १७ यात्रु घाइते भएका छन् ।

धनकुटामा बस दुर्घटना, १७ घाइते, सातको अवस्था गम्भीर

धरानबाट संखुवासभाको आँखिभुईंतर्फ जाँदै गरेको को१ख २५३० नम्बरको बस बिहान साढे ११ बजे धनकुटा नगरपालिका–३ को स्कुलडाँडा नजिकैको सडकमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।


बसमा सवार अधिकांस यात्रु घाइते भएका छन् । घाइते हुनेमा संखुवासभाको धर्मदेवी नगरपालिकाका धनबहादुर जिमी, बोचुमबहादुर जिमी, विमला कार्की, अमरबहादुर कार्की, अमृतकुमार नेपाल, शंकर खड्का, धनकुटा नगरपालिका ५ का दिप्ती श्रेष्ठ, निलम श्रेष्ठ, किरण मास्के, ११ महिनाका रुक्सन श्रेष्ठ, धनकुटा ७ का चन्द्रबहादुर तामाङ, जगत राई रहेका छन् ।


यसैगरी पाख्रिबास नगरपालिका १० का पदमबहादुर राई, ४ का गणेशबहादुर बस्नेत, सहिदभूमि गाउपालिकाका सजना राई, ईटहरी ७ का अञ्जु बस्नेत र धरान १५ का सुनिल भुजेल घाइते भएको प्रहरीले जनाएको छ ।


घाइते मध्ये सातजनाको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्था मध्येका तीनजनालाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको अस्पताल स्रोतले जनाएको छ । अन्य यात्रुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।


ट्रिपरलाई साइड दिनेक्रममा अनियन्त्रित भएर बस पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि चालक भने फरार छन् । बसमा करिब २० यात्रु सवार रहेको जनाइएको छ ।


प्रकाशित : वैशाख २८, २०७५ १४:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?