२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

प्रदेशको समृद्धिका लागि सबै क्रियाशील हुनुपर्छः मुख्यमन्त्री राई

मोरङ — प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गैरसरकारी संघ संस्था सबैलाई प्रदेशको आर्थिक समृद्धिका लागि क्रियाशील भएर काम गर्न आग्रह गरेका छन् ।

प्रदेशको समृद्धिका लागि सबै क्रियाशील हुनुपर्छः मुख्यमन्त्री राई

प्रदेशस्तरीय नागरिक सम्मेलन र गैसस महासंघ प्रदेश १ को को प्रथम अधिवेशनको शुक्रबार उदघाटनपछि उनले प्रदेशबासीको आर्थिक समृद्धिका लागि रोजगारी र स्वास्थ्य सेवा सहज उपलब्ध गराउन गैर सरकारी संघ संस्थाले सहयोगी गर्न आग्रह गरका हुन् । मुख्यमन्त्री राईले समयमा नै कानुन बनाएर प्रदेशमा परिणाममुखी विकासका पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले काम अघि बढाइसकेको बताए ।


‘ऐन, कानुन, नीति, नियम बनाएर चाँडै यहाँ काम गरिरहेका गैर सरकारी संघ संस्थाको अनुगमन प्रदेश सरकारले सुरु गर्छ,’ उनले भने, ‘आयमुलक तालिम र शिक्षा लगायतका क्षेत्रमा गैससलाई इमान्दारीपूर्वक परिणाममुखी काम गनुपर्छ ।’


प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सामाजको चौतर्फी विकासका लागि काम गर्न गैससलाई आग्रह गरे । ‘गैससहरुलाई सहज र सरल रुपमा जनताको लागि बढीभन्दा बढी काम गर्ने किसिमको ऐन कानुन बनाउन जुटेका छौं,’ उनले भने, ‘कसैलाई काम गर्न असहज हुने ऐन, कानुन निर्माण हुँदैन तर पूर्ण पारदर्शि तरिकाले परिणाममुखी काम गर्न गराउने किसिमको ऐन, कानुन बनाउँछौं ।’


उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिसप्रसाद कुसियैतले उद्योग क्षेत्रमा कार्यरत मजदुरहरुको क्षमता अभिवृद्धि, बन तथा वातावरण संरक्षणका लागि जनचेतना अभिवृद्धिका साथै पस्र्वाधार निर्माण गर्ने ठोस कार्यक्रम अघि बढाउन गैसस महासंघलाई आग्रह गरे ।


प्रदेशसभा सदस्य केदार कार्कीले प्रदेशको विकास सरकारले गरेर मात्रै नहुने बताए । ‘कुनैपनि कामलाई सफल बनाउनका लागि सबैको सहयोग आवश्यक भए जस्तै मुलुकमा नै समृद्ध प्रदेश निर्माणका लागि सबैलाई इमानदारीपूर्वक समयानुकुल काममा तीब्रता दिनुपर्छ,’ उनले भने, ‘हामीले हरेक काम समय अनुकुल तीब्रताका साथ अघि बढाउनु पर्छ किनकी समयको परिवर्तनसँगै हाम्रो आवश्यक्ता र कामको प्रकृति पनि परिवर्तन भइसकेको हुन्छ ।’ सरकारी तथा गैर सरकारी जोसुकैले जेसुकै काम गर्दा जनतालाई केन्द्रमा राखेर आर्थिक पारदर्शिता र इमान्दारिता निर्वाह गर्न उनले आग्रह गरे ।


कार्यक्रममा प्रदेशको सम्वृद्धिका सम्भावना र प्राथमिकताहरु, दिगो विकास लक्ष्य सम्बन्धि सम्वाद, विपद व्यवस्थापनका अवस्था, चनौती र सम्बोधन, नागरिक संगठनहरुको मार्गचित्र, सवलीकरण, व्यवस्थापन, प्रदेश तहमा कानुनी व्यवस्था, बालबालिका शान्ति क्षेत्र र विकासमा समावेशीकरणको अवस्था लगायत विषयमा कार्यपत्र प्रस्तुत गरेर छलफल गरी निष्कर्ष निकाल्ने कार्यक्रम रहेको गैसस महासंघका प्रदेश १ का संयोजक उमेश विश्वकर्माले बताए ।


कार्यक्रममा मुख्यमन्त्री राईले सामाजिक अभियन्ता हरि कटुवाल र उत्कृष्ट गैर सरकारी संस्था झापालाई सम्मान गरे ।


दुई दिनसम्म चल्ने उक्त कार्यक्रममा प्रदेशभरिका १४ जिल्लाबाट ४२ संस्थाका ३५० जनाको सहभागिता रहेको आयोजकले जनाए । गैसस महासंघको प्रदेश १ को नयाँ नेतृत्व चयन गर्नुका साथै विराटनगर घोषणा पत्रसमेत जारी गर्ने कार्यक्रम रहेको गैर सरकारी महासंघका अध्यक्ष गोपाल लम्सालले बताए ।

प्रकाशित : वैशाख २८, २०७५ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?