१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बजेट सक्न हतारो

हलेसी तुवाचुङ नगरपालिकाको ३८ करोड ४० लाखमध्ये ६० प्रतिशत खर्च भइसक्यो
डम्बरसिं राई

खोटाङ — यो आर्थिक वर्ष सकिन लगभग दुई महिना बाँकी छ । त्यसैले यतिखेर बजेट सक्न हतारो छ । कतिपय योजनाको सम्झौता धमाधम भइरहेका छन् भने कतिपय योजनाको अनुगमन पनि भइरहेका छन् ।

बजेट सक्न हतारो

दुई नगरपालिका र ८ गाउँपालिकाहरूमध्ये हलेसी तुवाचुङ नगरपालिकामा ६०, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा ६५ तथा अधिकांश गाउँपालिकामा करिब ७० प्रतिशतको हाराहारीमा बजेट खर्च भएको छ । कतिपय गाउँपालिकाहरूमा केन्द्र र नाम विवादले काममा ढिलाइ भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईका अनुसार पालिका विवादले करिब डेढ महिना अलमल हुँदा काममा समस्या आएको छ ।

त्यस्तै रावाबेंसी र बरापोखरी गाउँपालिकामा पनि यो समस्या देखियो । यसले काम गर्न समस्या भएको बराहापोखरी गाउँपालिका अध्यक्ष सालिकराम बन्जरा बताउँछन् । यद्यपि तीनै पालिकामा ७० प्रतिशत बजेट खर्च भएको पालिका अध्यक्षहरूको भनाइ छ ।

खोटेहाङ गाउँपालिकामा १८ करोड १४ लाख ९४ हजार रुपैयाँ बजेटमध्ये विद्युतमा छुटयाएको १ करोड ८० लाख रुपैयाँ भने यो वर्ष बजेट खर्च हुन नसक्ने भएकाले अन्य काममा खर्च गर्ने तयारी गरिएको खोटेहाङ गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए । अन्य पालिकामा भने शीर्षकअनुसारको बजेट खर्च हुने पालिका अध्यक्षहरूले बताएका छन् ।

दुई नगरपालिकामध्ये हलेसी तुवाचुङ नगरपालिकाको ३८ करोड ४० लाखमध्ये ६० प्रतिशत खर्च भइसकेको छ । यो आवभित्र सबै बजेट खर्च भइसक्ने प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीले बताए । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा ६१ करोड ५३ लाख २३ हजारमध्ये ६५ प्रतिशत खर्च भएको छ । यही आवमा सबै बजेट सकिने मेयर दीपनारायण रिजालको भनाइ छ ।

यसमा केही योजनाहरूको रकम भने संशोधन गरी अन्यमा खर्च गर्ने योजना भएको मेयर रिजालले बताए । सबै पालिकाहरूले सडक, विद्युत्, पर्यटन, पूर्वाधारलगायतलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको थियो । कतिपय पालिकाले विकासका नाममा पुरातात्त्विक/सम्पदा ध्वस्त पारेका छन् । यसको उदाहरण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको धार्मिक तथा पर्यटकीय मझुवागढी क्षेत्र, हलेसी तुवाचुङ नगरपालिकाको होलेसुङ पार्क क्षेत्र, त्यहाँकै ऐतिहासिक तुवाचुङजायजुम क्षेत्र विनासलाई लिन सकिन्छ ।

कतिपय योजना गुणस्तरहीन भएको गुनासा आएका छन् । यसप्रति चौतर्फी गुनासो आउँदासमेत दीर्घकालीन धारणामा प्रस्ट नहुँदा यस्तो भएको स्थानीयको भनाइ छ । यसले जनप्रतिनिधिहरूभन्दा सर्वसाधारणमा चेतनाको विकास भएको पुष्टि हुन्छ । पालिका अध्यक्षहरूमाथि विकासप्रतिको धारणा प्रस्ट नहुदा काममा अलमल भएको देखिन्छ ।

कार्यपालिकाको योजना नबनाई हतासमा योजना छनोट गरी काम सुरु गरिएकाले बालुवामा पानी खन्याएसरह काम भएको छ । अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउन नसक्दा यसको सामना गर्नुपरेको हो ।

प्रकाशित : वैशाख ३१, २०७५ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?