२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

हिलिहाङ महोत्सव धुमधाम

आनन्द गौतम

ताप्लेजुङ — हिलिहाङ गाउँपालिकाले प्रथम हिलिहाङ महोत्सव २०७५ धुमधामले मनाएको छ । निर्वाचित जनप्रतिनिधि आएको पहिलो वर्षमै महोत्सव सम्पन्न गरेको हो ।

हिलिहाङ महोत्सव धुमधाम

आफ्नो गाउँपालिका र गाउपालिकामा रहेका पर्यटकीय स्थलको प्रचारप्रशार गर्ने उद्देश्यले आयोजित महोत्सवको शुभारम्भ प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले गरेका थिए ।

१ सय २३ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको गाउँपालिकामा किरात राजा हिलिहाङले राज गरेको ऐतिहासिक क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको थियो । याङवरकका शक्तिशाली राजाको रूपमा परिचित उनै हिलिहाङको पालामा बनाइएको दरबार क्षेत्रमा महोत्सव आयोजना गरिएको हो ।

एक साता चलेको महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शन, खेलकुद, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति लगायतका कार्यक्रम रहेका थिए । करिब १३ सय रोपनी क्षेत्रफलमा फैलिएको दरबार क्षेत्र महोत्सवको प्रमुख आकर्षण रहेको थियो ।यही दरबारको इतिहासका आधारमा गाउँपालिकाको नाम पनि राखिएको छ । महोत्सवपछि यो वर्ष आन्तरिक र बाह्य गरी १० हजार पर्यटक गाउँपालिकामा भित्र्याउने लक्ष लिइएको गाउँपालिका अध्यक्ष भवानी प्रसाद लिङदेनले वताए । दरबार क्षेत्रमा रहेको ऐतिहासिक वस्तुको प्रदर्शन, सामाजिक, सांस्कृतिक तथा धार्मिक विशेषतालाई उजागर गर्ने उद्देश्यले आयोजित महोत्सवमा राई, लिम्बू, सुनुवार, माझी, शेर्पा, तामाङ जातिका खाद्य परिकार राखिएको थियो । महोत्सव अवधिमा लोकबाजा, लोक तथा सांस्कृतिक पञ्चे बाजा, बिनायो, मुर्चुङ्गा, ढोल, ख्याली, हाक्पारे, धाननाच प्रस्तुत गरिएको थियो । यस्ले पुरानो संस्कृतिको उजागर हुनुका साथै नयाँ पुस्ताका लागि सिक्ने अवसर प्रदान गरेको लिङ्देनको दाबी रहेको छ ।

युवाहरूका लागि आयोजित गाउँपालिकास्तरीय भलिबल प्रतियोगिताले खेलकुदको विकास प्रारम्भ भएको आयोजकको बुझाइ छ । उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राईले हिलिहाङ योङहाङको सालिक अनावरण गरेका थिए । सांस्कृतिक प्रस्तुतिसँगै जोरपोखरी–आगेजुङ–भोटेगाढी–हिलिहाङ पदयात्रा गरिएको थियो । स्थानीय संस्कृतिको झाँकी प्रस्तुति महोत्सवमा भएको थियो । ज्येष्ठ नागरिकलाई सम्मान समेत गरिएको थियो ।

महोत्सवमा सहभागी हुन छिमेकी ताप्लेजुङ, पाँचथर, इलाम जिल्लाबाट समेत आएका थिए । तेह्रथुमको आठराई, ताप्लेजुङ सदरमुकाम फुङलिङ नजिकमा पर्ने भएकाले सहभागीहरूको उल्लेख्य सहभागिता रहेको थियो । पुन:संरचनापश्चात् हिलिहाङले जिल्लामै पहिलोपटक महोत्सव गरेको हो । गाउँपालिकाले यसलाई प्रत्येक वर्ष निरन्तरता दिने उद्देश्य लिएको जनाएको छ ।

प्रकाशित : जेष्ठ १, २०७५ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?