१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

प्रदेश सांसदले लगाउने लोगो तयार

पोशाक कोट 
लीलावल्लभ घिमिरे

विराटनगर — प्रदेश १ का सदस्यहरूलाई लगाउने लोगो तयार पारिएको छ । महिला र पुरुषका हत्केलामाथि भोजपुरे खुकुरी, त्यसमाथि लालीगुराँसका थुङगा अनि मास्तिर धानका बालाले घेरिएका प्रदेश १ का १४ जिल्लाको बीचमा सप्तकोसी नदिको शीरमा विश्वको उच्च सगरमाथा हिमालको चुचुरोमा नेपालको राष्ट्रिय झन्डा भएको लोगो बनाइएको हो । 

प्रदेश सांसदले लगाउने लोगो तयार

इटहरीका मूर्तिकार विक्रम श्रीले कला भरेको यो लोगो आकर्षक देखिन्छ । प्रदेशसभा कार्य व्यवस्था परार्मश समितिले यही लोगोलाई पारित गरेको छ । एक महिनाअघि सार्वजनिक सूचना प्रकाशित गरी लोगोको नमुना मागिएको थियो ।


प्रदेशसभा सचिवालयमा जम्मा २ वटा लोगो प्रतिस्पर्धामा आएका थिए । ‘त्यसमध्ये यही लोगोलाई पारित गरेका छौं,’ सभामुख प्रदिपकुमार भण्डारीले भने, ‘ ग्रे कलरको कोट हाम्रो सभाको पोसाक हुने भएको छ ।’ प्रदेश १ मा पोसाक भने कोटमा मात्र सीमित गरिएको छ । अन्य प्रदेशमा पोसाककै बारेमा विवाद आइरहेका बेला प्रदेश १ ले महिला पुरुष सदस्यहरूलाई कोट मात्र अनिवार्य गरेको हो ।


कार्य व्यवस्था परामर्श समितिले उक्त लोगो र पोसाकको निर्णय गरेका हो । सभामुख प्रदिपकुमार भण्डारीको अध्यक्षतामा रहेको उक्त समितिमा उपसभामुख र आन्तरिक मामिला तथा कानुन मन्त्री पदेन सदस्य रहने व्यवस्था छ ।


समितिको सदस्यमा संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता जयराम यादव, एमाले संसदीय दलका प्रमुख सचेत बुद्धिकुमार राजभण्डारी, कांग्रेस संसदीय दलका सचेत केदार कार्की, इन्द्रमणि पराजुली, मोहनकुमार खडका, इन्दीरा राई विष्णुमाया तुम्बाहाम्फे रहेका छन् । ‘छलफलपछि पारित गरिएको हो,’ सभामुख भण्डारीले भने, ‘अब चाँडै कोट र लोगोसहित माननीयहरूलाई देख्न पाउनु हुनेछ ।’


प्रदेश १ का सभ्यतालाई प्रमुख आधार बनाएर लोगो तयार पारिएको विक्रम श्रीले बताए । लोगोमा हिमाल, पहाड र तराई तीनै भागलाई प्रस्ट देख्न सकिने उनले बताए । अन्न भण्डार तराईका धानका बालादेखि प्रदेश १ मा रहेको गुराँसको राजधानीलाई मात्र नभइ पहिचान बनाएका भोजपुरे खुकुरीलाई समेत राखिएको उनले बताए ।


‘यी सबै सभ्यतालाई महिला र पुरुषका हातले बोकेका छन्,’ उनले भने, ‘यो यतिमा सिंगो प्रदेश अटेको छ जस्तो मलाई लाग्छ ।’ यो लोगो प्रदेश सभाका ९३ जना सदस्हरूले कोटमा लगाउने छन् भने उनीहरूको परिचय पत्रमा समेत रहने छ ।

प्रकाशित : जेष्ठ १, २०७५ १९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?