१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

चारैतिर पुल निर्माण धमाधम

अर्जुन राजवंशी

दमक — प्रधानमन्त्री केपी ओलीको गृहनगर दमक नगरपालिकालाई आसपासका बजार तथा क्षेत्रको केन्द्रका रूपमा विकास गर्ने गरी योजनाहरू अघि बढाइएका छन् । दमकलाई मुख्य बजारका रूपमा विकास गराउनेगरी रतुवा र मावा खोलामा आधा दर्जन पुल निर्माण भइरहेका छन् ।

चारैतिर पुल निर्माण धमाधम

पुल बनेपछि दमक, इलामको चुलाचुली, मोरङको मधुमल्ला, टाँडी, राजघाट, इटहरा तथा छिमेकी कमल गाउँपालिका र गौरादह नगरपालिकाको केन्द्र बन्ने छ । पहिलोपटक प्रधानमन्त्री भएका बेला तथा त्यसपछि पनि ओलीको सक्रियतामा दमकका लागि पुलसहितका योजनाहरू ल्याइएका हुन् । अहिले दमक–चुलाचुली, दमक–मधुमल्ला, दमक–राजघाट, दमक–कमल र दमक–गौरादह जोड्ने गरी पुल निर्माणको काम भइरहेको छ ।

इलामको दक्षिण–पश्चिम गाउँपालिका चुलाचुलीवासीले वर्षौंदेखिको प्रतीक्षापछि रतुवा खोलामा पुल पाउने भएका छन् । पुल नहुँदा चुलाचुलीवासीले वर्षौंदेखि रतुवा खोलामा ज्यान जोखिममा पारी वारपार गर्दै आएका थिए । चुलाचुलीवासीको मुख्य बजार नै दमक हो । किनमेलका साथै दैनिक मजदुरी गर्न पनि चुलाचुलीका बासिन्दा दमक आउने गर्छन् । चुलाचुलीवासीको असुविधालाई ध्यानमा राख्दै रतुवामा २ सय मिटर लम्बाइको पुल निर्माणको काम भइरहेको छ ।नेपाल सरकारको लगानीमा १५ करोड ६८ लाख २१ हजार २ सय ५० रूपैयाँको लगानीमा उक्त पुल निर्माणको काम भइरहेको छ । पुल निर्माणको काम एलिट कन्स्ट्रन्सन कम्पनी प्रालि काठमाडौंले गरिरहेको छ । ०७२ कार्तिक २९ मा ठेक्का सम्झौता भएको पुल निर्माणको कार्य ३६ महिना ०७५ कार्तिक २८ मा सक्नुपर्ने उल्लेख छ । तर, ठेकेदार कम्पनीको काम गराइ सुस्त रहेकाले निर्धारित मितिमै पुल निर्माणको कार्य सम्पन्न नहुने भएको छ । ठेकेदार कम्पनीले अहिलेसम्म ७० प्रतिशत काम सम्पन्न गरेको दाबी गरेको छ । उसले पुल निर्माणसँगै आसपासको ५ सय मिटर नदी नियन्त्रण तथा ३ सय मिटर एप्रोच सडक निर्माण गर्नुपर्ने छ ।

दमक १० सेतुमारीदेखि गौरादहको बालुबथान जोड्ने गरी रतुवामा अर्को पनि पुल निर्माण भइरहेको छ । उक्त पुल १० दशमलव ५ मिटर चौडाइ तथा ३ सय मिटर लम्बाइको हुनेछ । शर्मा–अनक जेभीले ३३ करोड ५२ लाख रुपैयाँको लागतमा पुल निर्माणको ठेक्का पाएको हो । ०७३ असार २९ मा ठेक्का सम्झौता भएको पुलको निर्माण कार्य ०७६ साउन १२ मा सक्नुपर्ने उल्लेख छ । पुलसँगै ३ सय मिटर एप्रोच सडक र ९ सय मिटर नदी नियन्त्रणको काम गर्नुपर्ने सम्झौतामा उल्लेख छ । उक्त पुल निर्माण भए साविकका महारानीझोडा, कोहबरा, खजुरगाछीका बासिन्दालाई दमकसम्म आउन सीधा र छोटो बाटो हुनेछ । रतुवा खोलामै बालुबथानदेखि मोरङको राजघाट जोड्ने गरी अर्को तेस्रो पुल निर्माणको काम पनि भइरहेको छ । ११ मिटर चौडाइ तथा ४ सय मिटर लम्बाइको पुल निर्माणको काम भइरहेको हो । शर्मा–एपेक्स जेभी काठमाडौंले ५० करोड २० लाख २ हजार २ सय रुपैयाँको लागतमा पुल निर्माणको काम गरिरहेको छ । ०७४ असार ११ मा ठेक्का सम्झौता
भएको पुलको निर्माण कार्य ४२ महिला ०७७ पुस १२ गते सम्पन्न गर्नुपर्नेछ । उक्त स्थानमा ३ सय मिटर एप्रोच सडक र एक हजार मिटर नदी नियन्त्रणको काम गरिनेछ ।

त्यस्तै झापा र मोरङ जोड्ने गरी मावा खोलामा पनि पुल निर्माणको काम भइरहेको छ । दमकदेखि मोरङको मधुमल्ला जोड्ने गरी मावा खोलामा पुल निर्माणको काम धमाधम भइरहेको छ । ११ मिटर चौडाइ तथा २ सय ५० मिटर लम्बाइको पुल निर्माण भइरहेको हो । काठमाडौंको शर्मा–लामा–स्वच्छन्द जेभीले पुल निर्माणको ठेक्का पाएको हो । उक्त पुलको लागत ३० करोड २२ लाख ९१ हजार ७ सय ५० रुपैयाँ रहेको छ । ०७२ असार २९ मा ठेक्का सम्झौता भएको उक्त पुल ०७६ साउन १२ गतेसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता छ । ठेकेदार कम्पनीले पुलसँगै ४ सय मिटर एप्रोच सडक तथा एक हजार ६ सय मिटर नदी नियन्त्रणको काम गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

ठेकेदार कम्पनीका साइड इन्चार्ज गुरुप्रसाद ढुंगानाले निर्धारित मितिमै पुल निर्माण सम्पन्न गर्ने दाबी गरे । उनले अहिलेसम्म ७० प्रतिशत निर्माण सम्पन्न गरेको बताए ।
दमकदेखि मोरङको उर्लाबारी नगरपालिकास्थित आमबाडी जोड्ने गरी पनि मावा खोलामा पुल निर्माण भइरहेको छ । त्यहाँ ११ मिटर चौडाइ र २ सय मिटर लम्बाइको पुल निर्माणको काम भइरहेको हो । शर्मा–अनक जेभीले २२ करोड ८७ लाख ५० हजारको लागतमा पुल निर्माणको काम गरिरहेको छ । उक्त पुलको काम ०७६ साउन १२ मा सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । पुलसँगै ४ सय मिटरको एप्रोच सडक र ७ सय मिटरको नदी नियन्त्रणको काम समेत ठेकेदार कम्पनीले गर्नुपर्ने उल्लेख छ । मावा खोलामै दमक १० सेतुमारीदेखि मोरङको उर्लाबारी नगरपालिका ९ जोड्ने गरी ७५ दशमलव ४५ मिटरको पुल एक वर्षअघि नै निर्माण सम्पन्न भइसकेको छ । उक्त पुललाई पूर्वपश्चिम राजमार्गको विकल्पका रूपमा समेत हेरिएको छ । जिल्ला समन्वय समिति झापाको चार करोड २१ लाख रुपैयाँको लागतमा पुल निर्माण सम्पन्न भएको हो ।

प्रकाशित : जेष्ठ २, २०७५ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?