३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सीप सिक्दै अग्निपीडित महिला

‘आगोले खाएको उजाड बस्ती दिनभर हेरिरहनुभन्दा त सानोतिनो सीप सिक्नु उचित लाग्यो’

सुनसरी — आगलागी भएपछि उजाड बनेको बस्तीको एउटा कुनामा आगोले खाएको टिनको छानोमुनी सुकदेवी चौधरी र सरिता चौधरी बाँसको मुढा बनाउने तरिका सिक्न अचेल व्यस्त छन् । दैनिक चार घण्टा उनीहरूका आैंलाहरू चलिरहन्छन् ।

सीप सिक्दै अग्निपीडित महिला

उनीहरूको नजिकै बसेका ललिता चौधरी, गीता चौधरी, चानोदेवी उराव र रीतादेवी चौधरी पनि हंसी मजाक गर्दै सानो छुरीले बाँस खिप्न व्यस्त हुन थालेका छन् । खिपेको बाँसमा डोरी छिराउँदै सुकदेवीले भनिन्, ‘आगोले खाएको उजाड बस्ती दिनभर हेरिरहनुभन्दा त सानो तिनो सीप सिक्नु उचित लागेर मुढा बनाउने कला सिकेको हो ।’ सीप सम्बन्धी उनको भनाइलाई अरू महिलाहरूले पनि ‘हो मा हो’ थपे ।

गत चैत ३ गते बेलुका मधुवनमा आगलागी भएको थियो । मानवीय क्षति नभए पनि लाखौंको धनमाल आगोमा खरानी भएको थियो । तिनै आगलागी पीडित महिलाहरूलाई लक्षित गरेर घरेलु तथा साना उद्योग कार्यालय सुनसरी र लघु उद्यम विकास इनरूवाको सहयोगमा मुडा, ढाकी र नाङ्लो बनाउने तालिम सुरु गरिएको हो ।

आगलागी भएपछि विभिन्न दाताहरू र संघसंस्था र बराह क्षेत्र नगरपालिकाले केही महिना पुग्ने खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन, टिनको पातो दिए पनि आर्थिकरूपमा आत्मनिर्भर हुन उनीहरूलाई व्यावहारिक सीपमूलक तालिम दिएको हो । तालिममा सहभागी अधिकांश महिलाहरू यसअघि कुनै पनि सहभागितामुलक व्यावहारिक तालिममा भाग लिएका थिएनन् ।

आर्थिक, सामाजिक, सांस्कृतिक र राजनैतिक रूपमा पनि धेरै पछि परेका चौधरी, सरदार, उराव समुदायका महिलाहरूले यसअघि अवसर नपाएर पनि कुनै पनि सीपमूलक तालिममा उनीहरूलाई सहभागी गराइएको थिएन । तालिममा सहभागी सन्भा सरदारले भनिन्, ‘मुढा, नाङ्लो, ढाकीजस्ता घरमा प्रयोग हुने सामान बनाउने तालिम पहिले सिक्न पाएको थिएन । पहिले जानेको भए यति सारो बेरोजगार हुने थिएनौं, केही न केही त बनाएर सानो तिनो व्यापार गर्ने हुन्थ्यौं होला ।’

बाँसका मुढा, नाङ्लो र ढाकी बनाउने तालिमलाई आगलागी पीडित महिलाहरूले सीप सिक्ने र निकट भविष्यमा सानोतिनो व्यवसाय गर्ने अवसरका रूपमा लिएको बताए । सरिता चौधरीले भनिन्, ‘आगलागी भएपछि कतिपयका लोग्ने (पति) परिवारको जीविका चलाउन इटहरी, धरान, विराटनगर, इनरूवातिर रोजगारी गर्न बाहिरिएका छन् । दाताले सधैं दिदैन । आफैं गरिखान त सीप नै चाहिन्छ भन्ने भर्खर बुझ्न थालियो ।’

एक महिनासम्ममा सवैले मुढा, नाङ्लो र ढाकी बनाउन जान्ने हुने लघुउद्यम विकासबाट आएका प्रशिक्षक निलकुमार राईले बताए । उनका अनुसार जानी सकेपछि कम्तिमा दैनिक दुइटा मुढा तयार गर्न सक्ने छन् । बजारमा एउटा मुढाको मूल्य दुई सय पचासदेखि चार सयसम्म पर्छ । उनले भने, ‘आगलागी पीडित परिवारका खेतीबारी छैन । जीविका चलाउने अरू माध्यम नभएपछि यस्तै सानातिना व्यवसाय गरेर पनि जीवन धान्न प्रेरित गर्न यो तालिममा सहभागी गराइएको हो ।’

पीडितमध्ये कतिपय केही चलाख महिलाहरू भने सीपमुलक तालिममा सहभागी छैनन् । तालिम आयोजकले दैनिक भत्ता नदिएकाले सहभागिता नजनाएको तालिममा सहभागी महिलाहरूले बताए ।

प्रकाशित : जेष्ठ ३, २०७५ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?