४ नाबालकको बिचल्ली

बाबुआमाकै निधनपछि सहारा दिने कोही भएनन्
यो बज्रपातले चाहेर पनि पढाइ अघि बढाउन उनीहरूले कुनै उपाय देखेका छैनन्

इलाम — आमाबाबुको निधनपछि मोरङ ६ रम्याङका ४ बालबालिका बिचल्लीमा परेका छन् । २ वर्षअघि अल्पायुमा नै टिकाबहादुर राईको निधन भयो । बालबालिकाको संरक्षण गर्दै आएकी भीमकुमारी रायको पनि वर्ष दिनअघि निधन भएपछि बालबालिकाको लालनपालनदेखि पढाईसम्म प्रभावित भएको छ ।

४ नाबालकको बिचल्ली

बावु आमाको निधनपछि यी बालबालिकाको कलिलो दिमागमा नराम्रो छाप बस्यो । यो बज्रपातले चाहेर पनि पढाई अघि बढाउन उनीहरूले कुनै उपाय देखेका छैनन् । बाबुको निधनपछि जसोतसो आमाले घर चलाएर सवैलाई विद्यालय पठाएकी थिइन । अहिले सबै अभिभारा जेठा छोराको काँधमा आएको छ । अन्य बालबालिका पनि पढाई सकेर साँझ विहान हातमुख जोर्न अन्य काममा लाग्नु पर्ने अवस्था छ । ३ भाई बहिनाको पालनपोषणकालागि ७ कक्षामा पढदै गरेका दाजु रुबिनले विद्यालय छाडे । पैतृक जग्गा समेत पहिरोले बगाएको कारण उनिहरूको भागमा खासै जमिन पनि छैन । अहिले दाजु रुबिन काम गर्न विभिन्न स्थान चहार्छन् ।

अचेल रुबिन घरमा नै रहे पनि अरु बेला घरमा प्रविन र प्रमोस राई मात्र छन् । कान्छो प्रसन बाजेको घरमा बसेका छन् । न्यून आयस्रोत भएको यो परिवारमा परेको पीडाको भागिदार उज्वल भविश्यको पर्खाइमा रहेका बालबालिका हुनुपरेको छ । १६ वर्षका रुविन कामका लागि विभिन्न स्थान चहार्छन् । सानै भएकाले दिगो काम नपाएपछि अरु समस्या भोग्नुपरेको छ । प्रविन ८ कक्षामा अध्ययनरत छन् भने प्रमोस र प्रसन ५ कक्षामा पढ्छन् । यी सवैलाई पोशाक, स्टेसनरी किन्नेदेखि घरमा के खाने भन्ने चिन्ता सधैं हुन्छ ।

‘आफूलाई पढेर प्रगति गरौं भन्ने लागेको छ,’ प्रविनले भने, ‘तर बुवाआमाले छाडेर गएपछि समस्या भयो ।’ दाजुले दु:ख गरेर अहिलेसम्म विद्यालय पठाए पनि कतिन्जेल यसरी चल्छ भन्ने चिन्ताले सताएको उनी सुनाउँछन् । कच्ची घरमा बस्ने यी बालबालिकालाई ठूलो हुरी चल्दा र मुसलधारे बर्षा हुँदा पनि डर लाग्छ । जग्गा जमिन बगाएको पहिरो नजिकको अस्थाई घरमा कतिन्जेल वस्ने उनीहरूलाई चिन्ता छ ।

केहि वर्षअघिदेखि चलेको पहिरोले उनीहरूका बावुको नाममा रहेको धेरै जमिन बगाएको छ । त्यही पहिरोमा लडेर टिकाबहादुरको ज्यान गएको हो । अहिले गाउँकै सरस्वती माध्यामिक बिद्यालयमा उनीहरू अध्ययन गर्छन् । विद्यालय छुट्टीको समयमा सानोतिनो काम गरेर आर्थिक जोहो गर्नुपर्ने अवस्था उनीहरूको छ । पढाइमा राम्रै भए पनि घरायसी अवस्थाले उनीहरूलाई समस्या भएको शिक्षक गोविन्द पौडेलले बताए । ‘बच्चाहरूको जिविकोपार्जन र पढाइलेखाइमा सहज होस भनेर चिनेजानेकालाई उनीहरूको अवस्था सुनाउने गरेको छु,’ उनले भने । शनिबारमात्र विराटनगर आइकेयरले त्यहाँ सञ्चालन गरेको शिविरमा ३ भाइकै आँखासमेत कमजोर पाइएको छ ।

प्रकाशित : जेष्ठ ३, २०७५ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?